site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सुन्नै नसकिने दोहोरी : कारबाहीका लागि सरकारी संयन्त्रको पर्खाइमा प्रतिष्ठान
SkywellSkywell

काठमाडौं । केही समययता लोक तथा दोहोरीगीतमा विकृति बढेको छ । दुईजना अथवा परिवार बसेर सुन्न नसकिने लोकदोहोरी ल्याउन थालिएको छ ।

विशेष गरी लाइभ दोहोरीमा धेरै विकृति देखिन थालेको छ । लाइभ दोहोरी गाउने र त्यसलाई युट्युबमार्फत सार्वजनिक गर्ने गरिएको छ । यस्ता दोहोरीमा धेरै विकृति देखिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जनाएको छ ।

अग्रज गायक–गायिकाले पनि अपाच्य शब्द प्रयोग गर्ने गरेको प्रतिष्ठानका महासचिव शिव हमाल बताउँछन् । अग्रजले लोकदोहोरीमा विकृति भित्र्याउँदा झन् धेरै समस्या हुने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

इन्द्र जिसी, शिला आले, शंकर सुनार, शर्मिला रायमाझी, रिया खड्का बालचन्द्र बराल, सागर बिसी र यी कलाकारको समूहका गीतमा सबैभन्दा धेरै विकृति देखिएको छ । सुमन परियार, प्रकाश पराजुली, बबिता बानियाँ ‘जेरी’लगात गायक–गायिकाले भने सुन्नै नसकिने लोकदोहोरी नगाएको प्रतिष्ठान स्रोत बताउँछ । विकृति समयमै न्यूनीकरण नगरे ठिकठाक गाउने र शब्दमै जोड दिने कलाकार पनि विस्तारै युट्युबमा भ्युजका निम्ति त्यतैतर्फ जाने प्रतिष्ठानको जिकिर छ ।

प्रतिष्ठाले लोकदोहोरीमा देखिएको विकृति हटाउन पहल थालेको छ । प्रतिष्ठानका पदाधिकारीले गएको बिहीबार गृहमन्त्री रवि लामिछानेलाई भेटेर दोहोरीसाँझ सञ्चालकलाई प्रहरी प्रशासनमार्फत सचेत गराइदिन आग्रह गरेका थिए । दोहोरीका नाममा ‘ब्याटल’ र ‘र्‍याप’ गाउन रोक लगाउन उनीहरूले आग्रह गरेका हुन् ।

गएको शुक्रबार प्रतिष्ठानका पदाधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत पुगेर विकृति न्यूनीकरणका निम्ति ध्यानाकर्षण गराएका थिए ।

दोहोरीसाँझ सञ्चालकले कलाकारलाई जबरजस्ती दोहोरीमा र्‍याप र ब्याटल मिसाउन लगाउने गरेको प्रतिष्ठानको बुझाइ छ । दोहोरीभित्र ‘र्‍याप’ र ‘ब्याटल’ नमिसाए दोहोरीसाँझ नै नचल्ने भन्दै सञ्चालकले त्यस्तो दबाब दिने गरेको प्रतिष्ठानको भनाइ छ । यसले लोकदोहोरीको मर्ममै प्रहार गरिरहेको भन्दै प्रतिष्ठानका पदाधिकारीले गृहमन्त्री लामिछानेलाई त्यस्तो दबाब दिने सञ्चालकलाई कारबाही गर्न आग्रह गरेका थिए ।

लोकदोहोरी देशको कला, संस्कृति र संस्कारको ऐना र पहिचान भएकाले यसको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेकामा प्रतिष्ठानले जोड दिएको छ । प्रतिष्ठानले दोहोरीमा केके शब्द प्रयोग गर्न पाइने र के नपाइने भन्ने उल्लेख गरेको छैन । यसको विधान पनि छैन ।

तर, प्रतियोगितात्मक दोहोरीमा लैंगिक विभेद, राजनीतिक पक्षधरता, रंगभेद, जातीय र शारीरिक भेदभाव गर्न पाइँदैन भन्ने नियम हुने प्रतिष्ठानका महासचिव हमाल बताउँछन् । लाइभ तथा रेकर्डेड दोहोरीमा पनि त्यही नियम लागु गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

“विषायन्तर हुन पाइँदैन । दिउँसो घाम लागिरहेको सन्दर्भमा दोहोरी छ भने त्यसलाई विषयान्तर गरेर राति भन्न पाइँदैन भन्ने नियम हुन्छ । यिनै नियमका आधारमा प्रतियोगिता सञ्चालन गरिन्छ,” हमाल भन्छन्, “यिनै नियमभित्र गएर अपाच्य शब्द प्रयोग गर्न नपाइने र मौलिकतामा रहनुपर्ने नियम हुन्छ । लोक तथा दोहोरीभित्र र्‍याप, ब्याटल, अपाच्य शब्द, अस्वाभाविक प्रस्तुतिकरण हुनु हुँदैन भन्ने पुरानै नियम हो ।”

लोकगीतमा शृंगार आवश्यक रहेको तर सीमा नाघ्न नहुने उनी स्पष्ट पार्छन् मनोरञ्जन र सन्देश हुनैपर्ने तर उच्छृंखलतालाई प्रश्रय दिन नहुने उनको धारणा छ । “शृंगार त हाम्रा गीतमा पनि छ, तर शृंगारका नाममा गलत हर्कत गर्नु भएन । यसमा हाम्रो आपत्ति हो,” उनले अगाडि थपे ।

अपाच्य शब्द प्रयोग गरेको र लोकदोहोरीगीतमा विकृति भित्र्याएको भन्दै प्रतिष्ठानले निर्वाचित केन्द्रीय सदस्य बालचन्द्र बरालको सदस्यता नै खारेज गरेको छ । ६ महिना साधारण सदस्य समेत नरहने गरी उनको सदस्यता खारेज गरिएको थियो ।

जिल्ला तथा प्रदेशमा भड्किला लोकदोहोरी गाउने गायक–गायिकालाई कारबाही गर्न सम्बन्धित शाखालाई परिपत्र गरिएको हमालले जानकारी दिए । “केन्द्र आफैँले कारबाही गर्दा हस्तक्षेप गरेजस्तो हुने भएकाले शाखालाई परिपत्र गरेका हौँ । सम्बन्धित शाखाले अहिले छानबिन गर्ने र स्पष्टीकरण लिने काम गरिरहेका छन्,” उनी भन्छन्, “प्रतिष्ठानभन्दा बाहिर रहेका साथीहरूलाई हामीले दिने सेवा सुविधा, सिफारिस, सहजीकरण तथा अन्य सहयोग गरिने छैन ।” केहीको स्पष्टीकरण प्राप्त भइसकेको र त्यो नपठाउनेलाई प्रतिष्ठानले दिने सुविधाबाट वञ्चित गरिने उनी बताउँछन् ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा अब क–कसलाई स्पष्टीकरण सोध्ने विषयमा अध्ययन गरेर सूची बनाउने क्रममा आफूहरू रहेको सुनाउँछिन् । “अहिलेसम्म हेर्दा १५ देखि २० जनालाई स्पष्टीकरण सोध्छौँ होला,” उनले भनिन् ।

लोक तथा दोहोरीगीतमा देखिएको विकृति न्यूनीकरणका लागि प्रतिष्ठानले राज्यका तीनै तहमा ध्यानाकर्षणपत्र बुझाइसकेको छ । प्रतिष्ठानले नगरपालिका संघको पनि ध्यानाकर्षण गराएको छ । अधिकांश मेला–महोत्सव नगरपालिकाअन्तर्गत हुने भएकाले यसको न्यूनीकरणमा नगरपालिका संघले भूमिका खेल्न सक्ने प्रतिष्ठानको निष्कर्ष छ ।

गाउँपालिका महासंघमा पनि पुगेर प्रतिष्ठानले मेला–महोत्सवमा कलाकारका गीत र प्रस्तुति हेरेर मात्र बोलाउन र आफ्नो क्षेत्रका दोहोरीसाँझ र सञ्चालकलाई विकृति फैलाउनबाट रोक्न ध्यानाकर्षण गराएको छ । “हामी सातवटै प्रदेश प्रमुखकोमा प्रदेश सचिवमार्फत ध्यानाकर्षणपत्र बुझाउन जाँदै छौँ,” हमालले भने ।

केहीले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट गल्ती स्वीकार गर्दै अब यस्तो कमजोरी नगर्ने भने पनि आधिकारिक ठाउँमा गएर प्रतिबद्धता जनाउनुपर्नेमा उनी जोड दिन्छन् ।

प्रतिष्ठानकी अध्यक्ष थापा लोकदोहोरी गायक–गायिकाको आत्मसम्मानमै ठेस पुर्‍याउने काम भएकाले आफूहरू लोककला तथा संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जुटेको बताउँछिन् । लाजै लाग्ने गरी लोक तथा दोहोरीगीत ल्याइएको उनको टिप्पणी छ ।

२०औँ वर्ष आफू लागेको क्षेत्रमा छु भन्दा आत्मसम्मानमा नै चोट पुग्ने अवस्था आएको र चाहेका बेला राज्यले रोक्न सक्ने भएकाले सरकारी निकायसमक्ष पुगेको उनी सुनाउँछिन् ।

लोक तथा दोहोरीगीत प्रतिष्ठान कारबाही गर्ने अधिकार भएको संस्था होइन । त्यसैले आफूहरू संस्कृतिमाथि चोट पुर्‍याउने व्यक्तिलाई कारबाही गर्ने अधिकारप्राप्त निकायमा पुगेको उनी बताउँछिन् ।

लोक तथा दोहोरीमा विकृति भित्र्याउने गायक–गायिकालाई प्रतिष्ठानले सम्झाउने र सचेत गराउँदै आएको छ । “हामीले भनेको सबैले मान्छ नै भन्ने छैन । र, मानेको अवस्था पनि छैन,” अध्यक्ष थापा भन्छिन्, “हामीले हाम्रै क्षेत्रको भलाइका लागि सचेत गराउँदा हामीले गरिखाएको र कमाएको डाहा गरेको भनेर उल्टै धम्क्याउने अवस्था पनि आयो ।” त्यसैले प्रतिष्ठान कारबाहीको अधिकार भएको निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालय पुगेको उनले स्पष्ट पारिन् ।

“हामीलाई गृह मन्त्रालयले संस्कृति र सञ्चार मन्त्रालयसँग समन्वय गरेर एउटा संयन्त्र बनाएर काम गर्ने कुरा भएको छ,” उनी भन्छिन्, “तीनवटा मन्त्रालयको समितिलाई हाम्रो प्रतिष्ठानले पनि सहयोग गर्ने सहमति भएको छ ।” मन्त्रालयले बनाउने संयन्त्रको पर्खाइमा आफूहरू रहेको उनी बताउँछिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu