site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दोहोरी ‘फोहोरी’ भएपछि गृहमन्त्री गुहार्दै लोक दोहोरी प्रतिष्ठान 
SkywellSkywell

काठमाडौं । लोकदोहोरी गीतमा देखिएको विकृति तथा विसंगति न्यूनीकरणका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पहल थालेको छ । व्यक्ति विशेषलाई सचेत गराउनेदेखि विभागीय मन्त्रालयसम्म पुगेर प्रतिष्ठानले लोकगीतमा देखिइरहेको विकृति हटाउन पहल थालेको हो । 

बिहीबार लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा तथा पूर्वअध्यक्ष बद्री पंगेनीलगायतका सर्जक तथा स्रष्टा गृहमन्त्रालय पुगेर गृहमन्त्री रवि लामिछानेलाई भेटे । उनीहरूले लोकगीतका नाममा अपाच्य शब्द प्रयोग गर्ने तथा सुन्नै नसकिने शब्द संगीत प्रयोग भइरहेको भन्दै यसको न्यूनीकरणका लागि राज्यका सबै निकायले पहल गर्नुपर्नेमा जोड दिए । 

दोहोरी साँझहरूले दोहोरीमा ‘दोहोरी र्‍याप’ र ‘दोहोरी ब्याटल’का नाममा विकृति भित्र्याएको भन्दै त्यसलाई रोक्न गृहमन्त्री लामिछानेसँग आग्रह गरे । “हामीले गृहमन्त्रीज्यूसँग दोहोरी साँझमा दोहोरीका नाममा विकृति भित्र्याउने दोहोरी साँझका सञ्चालकलाई प्रहरी तथा प्रशासनले बोलाएर सचेत गराउन निर्देशन दिन आग्रह गरेका छौँ,” प्रतिष्ठानकी अध्यक्ष रीता बाह्रखरीसँग भन्छिन्, “प्रतिष्ठान र हामी सर्जक तथा स्रष्टाले भनेको नमानेपछि प्रहरी प्रशासनको सहयोग चाहियो भन्यौँ ।”

Dabur Nepal
NIC Asia

उनले गृहमन्त्री लामिछानेले सकारात्मक प्रतिक्रिया दिँदै सहयोगको प्रतिबद्धता जनाएको जानकारी दिइन् । उनका अनुसार गृहमन्त्री लामिछानेले प्रहरी र प्रशासनलाई यसबारे बुझ्न र आवश्यक परे कानुनअनुसार कारबाही गर्न पनि निर्देशन दिने प्रतिबद्धता जनाएको बताइन् । 

“हामी आजसम्म यो र यस्ता मुद्दा लिएर थुप्रै मन्त्री र सचिवलाई भेटेर आफ्ना कुरा राख्यौँ । तर, गृहमन्त्रीज्यू जस्तो यो विषयमा गम्भीर र चिन्तित कसैलाई पाएको थिएनौँ,” गृहमन्त्री लामिछानेलाई उद्धृत गर्दै अध्यक्ष रीताले भनिन्, “तपाईंहरू पक्कै पनि गम्भीर अवस्था नभइ गृहमन्त्रालयसम्म आउनु भएको छैन भन्ने मैले बुझेको छु भन्दै उहाँले सञ्चार र संस्कृति मन्त्रालयसँग समन्वय गरेर यो विषयलाई टुंगोमा पुर्‍याउने बताउनु भएको छ ।” 

mid-pic-1717136690.jpg
 

पछिल्लो समय लोकदोहोरीका सर्जक तथा स्रष्टा हुँ भनेर भन्नसमेत लाज मान्नुपर्ने अवस्था आउने गरी केही गीतसंगीत आएको उनको भनाइ छ । लोक तथा दोहोरी क्षेत्रका व्यक्तिको आत्मसम्मानमा नै ठेस पुग्ने र लज्जाबोध हुनेगरी गीत आएको उनी बताउँछिन् । 

प्रतिष्ठान कसैलाई कारबाही गर्ने अधिकार राख्ने संस्था नभएकाले आफूहरू अधिकारप्राप्त सरकारी निकायमा पुगेको उनले स्पष्ट पारिन् । “प्रतिष्ठानमा रहेका नाताले हामीले सम्झाउने र सचेत गराउने मात्रै हो । तर, हामीले भनेको सबैले मानेको अवस्था छैन,” उनी अगाडि भन्छिन्, “हामीले सचेत गराउँदा हामीले गरिखाएको र कमाएको डाहा गरेको भनेर उल्टै धम्क्याउने अवस्था आयो । त्यसैले हामी कारबाहीको अधिकार राख्ने निकायमा गएका हौँ ।” 

लोक कला, संस्कृतिमा नै दाग लगाउनेगरी काम भएपछि आफूहरू चुप लागेर बस्न नसकेको उनी बताउँछिन् । २०औँ वर्ष आफू लागेको क्षेत्रको आत्मसम्मान नै चोट पुर्‍याउने काम राज्यले चाहेको खण्डमा रोक्नसक्ने उनको विश्वास छ । 

“केही दोहोरी साँझले एक लाइन दोहोरी गाएपछि अब यसमा र्‍याप मिसाऊ भनेर दोहोरीका सञ्चालकले गायकगायिकाको दुरुपयोग गरिरहेका छन्,” अध्यक्ष रीता थापा भन्छिन्, “र्‍याप नगाए डलर नै झर्दैन भनेर जबरजस्ती दबाब दिने गरेको पाइयो । यसलाई रोक्नैपर्ने देखियो ।” 

प्रतिष्ठानका महासचिव शिव हमाल प्रतिष्ठानले छायांकन र स्वर दिने व्यक्ति, कलाकार तथा प्राविधिकसँग पनि यस विषयमा आफूहरूले छलफल गरेको बताउँछन् । “मैले हिजो पनि यस विषयमा केही व्यक्तिसँग छलफल गरेँ । आज पनि छलफल गर्दैछौँ,” शिव भन्छन्, “हामी स्वयं गायक/गायिकाको पनि दोष छ । दोहोरीमा र्‍याप गीत गाऊ भन्दा म गाउँदिनँ, हुँदैन अथवा मिल्दैन भन्न पनि सक्नुपर्छ भन्ने हाम्रो कुरा हो ।”

लोक तथा लोकदोहोरी गीतको भिडियो छायांकन गर्दा पनि मर्यादित र लोक कला, संस्कृतिलाई चोट पुग्नेगरी निर्माण गर्न नहुने उनको धारणा छ । यसमा पनि प्रतिष्ठानले सम्बन्धित् व्यक्तिका संघसंस्थालाई ध्यानाकर्षण गराएको उनको भनाइ छ । 

“लाइभ दोहोरीका नाममा यो क्षेत्रकै बदनाम गरेको आरोपमा हामीले बालचन्द्र बराललाई कारबाही गरेका छौँ । उहाँलाई हामीले साधारण सदस्यसमेत नरहनेगरी ६ महिनाका लागि कारबाही गरेका छौँ,” महासचिव हमालले भने । बराल प्रतिष्ठानका निर्वाचित केन्द्रीय सदस्य हुन् । उनले ६ महिना प्रतिष्ठानको लोगो, पोशाक तथा पिन प्रयोग गर्न पाउने छैनन् । प्रतिष्ठानले दिने सुविधा पनि उनले नपाउने हमालले बताए ।

बरालले केही समय अगाडि अपाच्य शब्द प्रयोग गर्दै लाइभ लोकदोहोरी युट्युबमार्फत् सार्वजनिक गरेपछि आलोचना भएको थियो । प्रतिष्ठानलाई पनि धेरैले यस्ता दोहोरी निकाल्न नदिन सचेत गराउन आग्रह गरेको हमाल बताउँछन् ।  

उनका अनुसार आजै प्रतिष्ठानका पदाधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई भेट्दै छन् । तामाङलाई भेटेर लोक तथा लोकदोहोरी गीतमा देखिएको विकृति अन्त्यका लागि मन्त्रालयलाई विशेष भूमिका खेल्न आग्रह गर्न लागेको महासचिव हमालले जानकारी दिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu