-1717424768.jpeg)
विराटनगर । मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोसी प्रदेशले आगामी आर्थिक वर्षको आर्थिक नीतिमा गरिनुपर्ने सुधारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । संघ र परिसंघको संयुक्त प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर आर्थिक नीतिमा गरिनु पर्ने सुधारहरूबारे ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष अनुपम राठी र परिसंघ कोसी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले संयुक्त ज्ञापनपत्र बुझाउँदै मुलुकको आत्मनिर्भता एवं स्वदेशी उत्पादनको संरक्षण गर्न आगामी वर्षका लागि जारी गरिएको आर्थिक नीतिमा उद्योग/व्यवसाय क्षेत्रका लागि गरिएका केही व्यवस्थाहरू सुधार गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए ।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले उद्योग/व्यवसाय क्षेत्रको हकहित, संरक्षण एवं विकासका लागि सरकारले विशेष संयन्त्रहरू अपनाइरहेको बताएको संघका अध्यक्ष राठीले बताए ।
प्रधानमन्त्री प्रचण्डले आगामी दुई दिनभित्र पेस गरिएका सुझावहरूलाई आर्थिक नीतिको संशोधनमा समावेश गराउने आश्वासन दिएको अध्यक्ष सारडाले बताए ।
आगामी वर्षमा कृषिलाई प्रोत्साहन गर्न कृषि दशक, महिला उद्यमीलाई प्रोत्साहन गर्न महिला वर्ष, १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित विभिन्न योजना/रकम विनियोजन एवं जनकपुरलाई वेडिङ हब, लुम्बिनीलाई बर्थ हब, ४५०० मेगावाट जलविद्युत् क्षमता वृद्धि गर्ने नयाँ योजना निर्माण, सूचना प्रविधिलाई जोड र निर्यातको सम्भावनाका नीतिहरू अवलम्बन गर्ने आदि दीर्घकालीन योजना तथा कार्यक्रमहरूका रूपमा रहेको ज्ञापनपत्रमा जनाइएको छ ।