site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रसूति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएका छन् ।

मन्त्री यादवले आज स्वास्थ्य मन्त्रालयका पदाधिकारीको टोलीसहित प्रसूति गृहको अनुगमन गर्दै नयाँ भवन पूर्णरूपमा सञ्चालन गर्न, शौचालयको राम्रो व्यवस्थापन गर्न, आउटरिच क्लिनिकको सेवा बढाउने लगायत निर्देशन दिँदै मन्त्रालयको तर्फबाट सहयोगको प्रतिबद्धता गरे । उनले बालबालिकाको शल्यक्रियाका लागि कान्ति बाल अस्पतालसँग शय्याका लागि समन्वय गर्न पहल गर्ने समेत उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रसूति गृहको सो भवन गत फागुन २ गते उद्घाटन भइसकेको छ । पाँच तल्ले भवनमा ओपीडी सेवा, सुरक्षित गर्भपतन सेवा पाठेघरको क्यान्सरको जाँच, पिसाव चुहिने समस्या, टेष्टट्युव बेबी लगायतका सेवा प्रवाह हुनेछ ।

सो अवसरमा मन्त्री यादवले पोस्ट न्याटल वार्ड, स्पेसल बेबी केयर युनिट, नवजात शिशु कक्ष, एनआइसीयू, ह्युमन मिल्क बैँक कक्षहरु अनुगमन गरेका थिए । भवन निर्माणको पैसा भुक्तानी नहुँदा सञ्चालनमा आउन नसकेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी गराए । उनले भने, “नयाँ भवन छिट्टै सञ्चालनमा आउनेछ । अस्पतालमा पार्किङ र जनशक्तिको अभाव छ । एनआइसीयूको बेडको स्तरोन्नति गराउनुपर्ने छ ।”

मन्त्रीसमक्ष नर्स इन्दिरा ढुंगेलले नर्सिङ जनशक्तिको अभाव भएका कारण दुई नर्सले ५२ आमाको हेरचाह गर्नुपरेको बताउँदै दरबन्दी बढाउन माग गरिन् । सो अस्पतालको ओपीडीमा दैनिक आठ सयदेखि एक हजारसम्मले सेवा लिने गरेका छन् । रासस

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्