site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पानीजहाज अफिस बन्द गरिदिऊँ : सांसद चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले पानीजहाज अफिस बन्द गर्न आग्रह गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठक आगामी वर्षको बजेटमाथिको सैद्धानिक छलफलमा बोल्दै सांसद चौधरीले पानीजहाज कार्यालयको काम नभएको बताएका हुन् ।

“पानीजहाज कार्यालय उहिलेदेखि हामीले चलाइराखेका छौँ,” उनले भने, “अहिले पनि कर्मचारी पालिरहेका छौँ । तर, पानीजहाज अफिसले हामीलाई के दियो ? खासमा हामीले पानीजहाजबाट उपलब्धि हासिल गर्न सक्दैनाैँ भने अफिस विस्थापित गरिदिऊँ ।”

Argakhachi Cement Island Ad

अहिले पनि २० करोड रूपैयाँ छुट्याएको भन्दै यो अनुत्पादक क्षेत्रमा बजेट छुट्याउन उपयुक्त नहुने उनको भनाइ छ । “त्यसमा रेगुलर जाने अपरेसन खर्च कटौती गरौँ । यसो गर्न सकियो भने हामीले उपलब्धिपूर्ण प्रोजेक्टमा बजेट हाल्न सक्छौँ,” सांसद चौधरीले भने ।

रेल ल्याएको धेरै वर्ष भइसकेको र प्रोजेक्टमा पैसा छुट्याइने गरेको पनि उनले बताए । अहिले त्यो रेल नचलाएर बेहुलीजस्तो घुम्टो ओढाएर राखिएकोमा पनि उनले आपत्ति जनाए । यस्ता प्रोजेक्ट कमिसन खानलाई मात्र बनाइने गरिएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्