site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको असन्तुष्टि– सरकारले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्यायो
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार पार्टी संसदीय दलको बैठकमा उनले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे । बजेट समाजवादउन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उनले उल्लेख गरे । गरे । बजेट निर्माणमा प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले बजेटमा कमी औँल्याए पनि त्यसलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको स्पष्ट पारे । सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि उनले बताए । बजेटको समर्थन गरेर अघि बढ्न उनले पार्टीका सांंसदहरूलाई निर्देशन दिए ।

बैठकमा ओलीले व्यक्त गरेको भनाइ पढ्नोस्–
अहिले हामीसँग प्रस्तुत भएको बजेट वक्तव्यसँग सम्बन्धित र खासगरी करका दरहरूसँग सम्बन्धित, खासगरी भन्सार र आयकरसम्बन्धी, अरू विभिन्न प्रकारका करहरूसम्बन्धी या सम्पूर्ण आयको अनुमानसम्बन्धी र व्ययका क्षेत्रहरू र अनुमानमा आधारित भएर कस्तो खालको दिशा समेटेको छ बजेटले ? हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रूपमा कस्तो दिशा समातेको छ ? यी विषयहरूमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरू छलफल बाँकी रहन्छ । अघि नै मैले भनेँ– विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन–कुन मन्त्रालय, कस्तो विनियोजन भयो ? र, त्यसमा कुन–कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ ? कुन पुरानो जारी छ ? कुन कटौती गरिएको छ ? कुन पूरा भयो ? कुन अपूरैमा कटौती भयो ? नाम मात्रैको आयोजना राखियो, तर बजेट छुट्ट्याइएन कि ? कहाँ कस्तो कमी रहे ? त्यसलाई पनि हेरिनेछ । र, यस बजेटका सवल पक्षहरू के हुन् ? सकारात्मक पक्षहरू के हुन् ? ती पनि हेरिनेछ । र, यसमा कमीकमजोरीहरू के छन् ? त्यसलाई पनि हेरिनेछ । र, यस सन्दर्भमा हामी अलिक छलफल खुलेर नै गर्छौँ । यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने दफावार हिसाबले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि ? अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढ्ता देखिन गएको छ । र, रकमको बाँडफाँट पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ । यो कमी रहेको छ । यसको निर्माण प्रक्रियामा नै कमी रह्यो, जसले गर्दा त्यो कमी नरहनु पर्दथ्यो, रहन जाँदा यसमा गम्भीर त्रुटिहरू रहे । हामीले समाजवाद निर्माणको बाटो लिएका छौँ । त्यसका लागि समाजवाद निर्माणका आधारहरू तयार गर्ने, समाजवादउन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरू, ती कुराहरू बजेटले स्पष्ट ढंगले समाउनुपर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ । पछि साथीहरूले यस सम्बन्धमा छलफल गर्नु नै हुनेछ । एउटाचाहिँ हामीमा कुनै दुविधा हुनु हुँदैन, यस बजेटलाई हामी समर्थन गर्छौँ । र पारित गर्छौँ । यसको मतलब बजेटमा रहेका कुनै कमी पनि औँल्याउन हुँदैन भन्ने होइन । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro