site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
संसद्बाहिरबाट बजेट ल्याउने सोच छैन : अर्थमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संसद्बाहिरबाट बजेट ल्याउने सरकारको सोच नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पुनले संविधानको दिशानिर्देशानुसार नै संसद्‌मा शान्तिपूर्ण ढंगले बजेट पेस गर्ने तयारी रहेको उल्लेख गरे । उनले संविधानले लिएको कार्यादेशानुसार जेठ १५ गते संसद्‌मा बजेट पेस गरिने बताए ।

Argakhachi Cement Island Ad

“...संसद्‌मा बजेटमा बेलाबेलामा राजनीति भयो । सरकारले संसद्‌मा बजेट पेस गर्न नसक्ने भएपछि जेठ १५ गते गणतन्त्र दिवसकै दिनमा बजेट ल्याउन संवैधानिक व्यवस्था गरेका छौँ,” उनले भने, “त्यसमा सरकारले मार्सल लगाउनुपर्ने, संसद् बाहिर बजेट पेस गर्ने सोचेका छैनौँ । संविधानले जे दिशानिर्देश गरेको छ, त्योअनुसार शान्तिपूर्ण ढंगले बजेट पेस गर्छौँ ।”

संसदीय छानबिन समिति बनाउने ‘सहमति’ भएर सरकार लचिलो भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अरू विषयमा अल्झिराख्नु उपयुक्त नहुनेमा उनले जोड दिए । कांग्रेसले निर्बाध संसद् बैठक सञ्चालन नचाहेको बुझिएको उनको भनाइ छ ।

उनले संसदीय छानबिन समिति व्यक्तिकेन्द्रित नहुने पनि बताए । कुनै व्यक्तिलाई पहिला नै दोषी ठहर गरेर समिति बनाउने पक्षमा सरकार नरहेको उनले सुनाए । समितिको छानबिनबाट दोषी देखिए सरकारले जोकोहीलाई कारबाही गर्ने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्