काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औं संस्करण जेठ १६ देखि २० गतेसम्म हुने भएको छ । राष्ट्रियसभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने फेस्टिभलको नारा ‘परिवर्तनको प्रतिध्वनि’ रहेको छ ।
काठमाडौं महानगरपालिकाको सह–आयोजनामा हुने फेस्टिभलमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।
किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, कथानक, लघु तथा प्रयोगात्मक चलचित्र समावेश छन् । नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका चलचित्र प्रदर्शन हुनेछन् ।
महोत्सव इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियरबाट सुरु हुनेछ । नेपालमा छायांकन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई सिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ ।
महोत्सवको आयोजक संस्था किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूले महोत्सवले आफ्ना चलचित्र र कार्यक्रमहरूको लाइन–अपमार्फत दर्शकलाई मनोरञ्जन सँगसँगै नेपाली समाजलाई असर पार्ने विषयहरूमा आलोचनात्मक संवाद हुने बताइन् ।
किम्फ २०२४ को निर्णायकमा निर्देशक÷निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) रहेका छन् । निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येवाट विजेता छनोट गर्ने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिनेछ ।
नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रले क्रमशः एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी दर्शक पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।