काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रियसभाबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।
मंगलबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्ष दलहरूको विरोधबीच संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनमा धन्यवाद प्रस्ताव पारित गरेका हुन् । कांग्रेसको विरोधबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको व्यहोरा सभासमक्ष जानकारी गराए ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गरे । राष्ट्रियसभाको अर्को बैठक जेठ ११ गते शुक्रबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।