site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपेन्द्र–महन्थ सम्बन्ध : सत्ता छँदा हानथाप, कमजोर हुँदा सहकार्य

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव संघीय सरकारबाट बाहिरिए । संघीय सरकारको उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट राजीनामा दिनुअघि यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको निवासमा पुगेका थिए । 

मधेसकेन्द्रित राजनीतिलाई राष्ट्रिय भनिएका पार्टीहरूले टुटफुटमार्फत कमजोर बनाएको निष्कर्षसहित यादवले ठाकुरसँग सहकार्यको प्रस्ताव गरेका थिए । मधेसमा शक्तिशाली पार्टी रहन नदिन आफ्नो पार्टी विभाजन गरिएको बताउँदै उनले अब मधेसकेन्द्रित राजनीतिक शक्तिबीच सहकार्य हुनुपर्ने बताएका थिए । उनले ठाकुरसँग मधेसमा जसपा नेपालको सरकारलाई थप एक वर्ष निरन्तरता दिएर त्यसपछि सरकारको नेतृत्व लिन प्रस्ताव गरेका थिए ।

तर, जवाफमा ठाकुरले सहकार्यका लागि आफू सधैँ तयार रहेको बताएर यादवको प्रस्तावलाई अस्वीकार गरिदिए । उनले यादवसँग हिजोकै परिस्थितिको निरन्तरताका लागि सहकार्य हुन नसक्ने बताएका थिए ।

Dabur Nepal
NIC Asia

“उपेन्द्रजीले सहकार्यको प्रस्ताव लिएर आउनुभएको रहेछ । उहाँको अहिलेको प्राथमिकता मधेस प्रदेशको सरकार जोगाउनु हो,” ठाकुरसँगको भेटबारे नेता सर्वेन्द्रनाथ शुक्लाले बाह्रखरीसँग भने, “अध्यक्षज्यू (महन्थ ठाकुर)ले सहकार्यका लागि आफू सधैँ तयार रहेको । तर, सहकार्य केका लागि भनेर प्रश्न गर्नुभएको छ ।”

“मधेस प्रदेशमा त हामी पनि सरकारमै थियौँ । उहाँकै नेताको सरकार हामीले छाडेका हौँ, विश्वासको मत माग्दा हामीले विपक्षमा मतदान गरिसकेका छौँ । हिजो हामी सरकारबाट बाहिरिनुपर्ने अवस्थामा उहाँहरूले सहकार्य गरौँ त भन्नुभएन, अब त्यही परिस्थितिमा कसरी सहकार्य हुन सक्छ ?,” उनले भने ।

नेता शुक्लाले नेपाली कांग्रेस, जनमत पार्टीसहितका दलहरू पनि मधेस सरकारको विपक्षमा उभिसकेकाले आफूहरूको साथले मात्रै अब जसपा नेपाल नेतृत्वको सरकार जोगिने अवस्था नरहेको बताए ।

“नेपाली कांग्रेस, हामी र जनमतसमेत जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिएर विश्वासको मत माग्ने प्रस्तावको विरुद्ध मतदान गरिसकेका छौँ,” शुक्लाले भने, “त्यसकारण जसपाले सरकार जोगाउने गरी राखेको प्रस्तावले ठोस अर्थ राख्दैन ।”

उतारचढावको सम्बन्ध

०७४ सालको निर्वाचनमा यादव र ठाकुर नेतृत्वको पार्टीले एउटै घोषणपत्र बनाएर चुनाव लडे । यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी र ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच ०७७ वैशाख १० गते मध्यरातमा एकता भएर जनता समाजवादी पार्टी (जसपा) नेपालको जन्म भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण लकडाउन सुरु भएपछि राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेका थिए । उनले जारी गरेको अध्यादेशबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधव नेपालसहितको टिम सशंकित भएको थियो ।

तर, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)सहितका सांसदलाई 'अपहरण शैली'मा काठमाडौं ल्याएपछि अध्यादेशको लक्षित समूह राजपा र संघीय समाजवादी पार्टी भएको खुलेको थियो ।

तर, त्यो एकता ओलीकै संसद् विघटनसम्बन्धी विवादमा गएर टुंगिएको थियो । एकतापछि ठाकुरको पार्टीमा रहेका राजकिशोर यादवसहित केही नेताहरू यादव नेतृत्वको जसपासँग गए । अहिले दुवै पार्टी अस्तित्वमा छन् ।

तत्कालीन राजपा निर्वाचन आयोगबाट नपाएपछि महन्थले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चलाइरहेका छन् । एताबाट विभाजनमा गएका ठाकुर र यादवबीच यसबीचमा एकअर्कामा ‘इगोपूर्ण’ सम्बन्ध रहँदै आएको छ । संघीय सरकार र सत्ता गठबन्धनमा यादवकै असहमतिका कारण लोसपा नअटाएको बताइन्छ ।

यसरी उदाएका थिए मधेस राजनीतिमा

२०६२/०६३ को जनआन्दोलन सफल भइसकेपछि मधेसमा छुट्टै पहिचानसहितको 'संघीयता र सम्मान'का नारा दिएर यादवले आन्दोलन गरेका थिए । तत्कालीन कांग्रेस नेता जेपी गुप्ताले दर्ता गरेको मधेसी जनअधिकार फोरम नामको गैरसरकारी संस्थाका नाममा भएको मधेस आन्दोलनको नेतृत्व यादवले गरेका थिए ।

त्यही समयमा मधेसको सम्मान र पहिचानसहितको प्रदेशको मागसहित नेपाली कांग्रेसका पुराना नेता ठाकुरले विद्रोह गरेका थिए । त्यसैक्रममा कांग्रेसका महामन्त्री भइसकेका विजय गच्छदार, जेपी गुप्तासहित यादवको फोरममा प्रवेश गर्दा २०६४ सालको निर्वाचनमा संविधानसभामा मधेसीको प्रतिनिधित्व गर्ने ठूलो संख्या प्रवेश गरेको थियो ।

यादव र ठाकुरले समानान्तररूपमै मधेसकेन्द्रित राजनीति अघि बढाउँदा यादव नेतृत्वको फोरम भने पटकपटक फुटेको थियो । माधव नेपालको सरकारलाई बहुमत पुर्‍याउने प्रयोजन आवश्यक भएका बेला गच्छदारको नेतृत्वमा पहिलोपटक फुटेको मधेसी जनअधिकार फोरम सरदसिंह भण्डारीलाई कारबाही गरिएपछि पुन: फुटेको थियो । जेपी गुप्ता, राजकिशोर यादवसहितको समूहले पुन: फुटाएको फोरमको नामबाट बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँगको एकतापछि मधेसी र फोरम दुवै शब्द हटे ।

फुट र जुटको शृंखलाबाट गुज्रँदै आएका यी पार्टी दुवैले मधेसको प्रतिनिधित्व गर्छन् । यी पार्टीबीचको एकतापछि मधेसमा दीपावलीसमेत गरिएको थियो । यिनै पार्टीको सहकार्यको बलमा प्रदेशको नाम पनि मधेस राखिएको हो । तर, ठाकुरको व्यक्तित्व र आफू प्रमुख भएको ठाउँमा मात्र अडिने यादवको स्वभावले उनीहरूबीचको सहकार्य टिक्न सकेन ।

अहिले सहकार्यका लागि राखेको प्रस्तावमा पनि ठाकुरले गरेको राजनीतिक परिस्थिति परिवर्तनको सर्तले उनीहरूबीच सहकार्य र मधेसकेन्द्रित राजनीतिक मोर्चा सहज नरहेको संकेत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro