site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको प्रवर्द्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी रहेको बताएका छन् । 

नेपाल घरेलु तथा साना उद्योग महासंघ एवं केन्द्रीय महिला उद्यमी समितिले आजदेखि भृकुटीमण्डपमा आयोजना गरेको नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बिक्री कक्ष स्थापनाका लागि पूर्वाधार निर्माणमा आवश्यक पर्ने सहयोग र सहुलियतमा उद्योग मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाए ।

देशमा लघु, घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यस्ता उद्योगलाई प्रवद्र्धन गर्न आगामी बजेटमा लक्षित कार्यक्रम ल्याइने बताए । उनले भने, “सम्भावनायुक्त लघु, घरेलु तथा साना उद्योगलाई निश्चित समयका लागि सबै खाले करबाट मुक्त गरी स्वदेशी उत्पादनको अभिवृद्धि गर्न त्यस्ता उद्योगलाई पूँजी, प्रविधि र पहुँचका लागि विशेष कार्यक्रम अगाडि सारिने छ ।”

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना र महिला उद्यमीद्वारा उत्पादित औद्योगिक उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवर्द्धनका लागि हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीलाई राज्यका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी नहुने मन्त्री भण्डारीको भनाइ थियो ।

स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि महासंघले पहल गर्दै आएको बिक्री कक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगजस्ता अभियान सकारात्मक रहेको उल्लेख गर्दै उनले यसको कार्यान्वयनमा सरकारको सहयोग रहनेमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्