site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आँखाको शल्यक्रिया गरेपछि मेनुकाको प्रतिक्रिया– राम्री भएकी छु...

काठमाडौं । गायिका मेनुका पौडेललाई भीडमा जाँदा सधैँ एउटा कुराले सताइरहन्थ्यो, मेरो आँखा देखेर कोही डराए कि, बालबालिका तर्सिए कि । यही सोचका बीच उनले नेपाल आइडल हुँदै इन्डियन आइडलको टप टेन यात्रा पार लगाइन् । मेनुका अहिले अन्तर्राष्ट्रिय स्टेजमा समेत सजिन थालेकी छिन् । 

जन्मजात नै आँखाको ज्योति गुमाएकी मेनुकालाई गायिकाको रूपमा स्थापित भइसकेपछि भने आफ्नो स्वरजस्तै भौतिक शरीर पनि राम्रो देखिनुपर्छ भन्ने लागिरह्यो । 

इन्डियन आइडलमा प्रतिस्पर्धा गर्दैगर्दा उनको चस्मामा क्यामेरा जडान गरी त्यसले रेकर्ड गरेका दृश्य आवाजमार्फत् मोबाइलले जानकारी दिने एआई प्रविधि प्रयोग गरियो । जसको सहायताले अहिले मेनुकालाई अरुको आवाज सुन्न र मान्छे चिन्न सहज भएको छ । 

Dabur Nepal
NIC Asia

सामान्यभन्दा केही ठूला देखिने र अगाडि आएका दाँत पनि मेनुकालाई आफ्नो राम्रो लुक्सको बाधक लाग्यो । केही महिनाअघि मात्रै उनले चारवटा दाँत निकालेर अलाइनर गराइन् ।  चिटिक्क देखिने मेनुकाको इच्छाअनुसार नै सोमबार उनको आँखाको शल्यक्रिया गरियो, अब उनलाई दृष्टिविहीनजस्तो नभई सामान्य लुक्समा देख्न सकिनेछ । 

“म त अहिले राम्री भएकी छु नि”, मेनुकाले बाह्रखरीसित आफ्नो खुसी साटिन् । तिलगंगा आँखा प्रतिष्ठानमा उनको सोमबार आँखाको संरचना मिलाउने उपचार गरियो, जसलाई मेडिकल भाषामा  ‘कस्मेटिक प्रोथेस्टिक’ भनिन्छ । 

तिलगंगा आँखा प्रतिष्ठानकी वरिष्ठ अकुप्लाष्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको टिमले सोमबार उनको उपचार गर्‍यो । मेनुकाको दुवैतर्फ कृत्रिम आँखा (आइबल) राखिएको हो । सो क्रममा बायाँ आँखाको शल्यक्रिया गर्नुपरेको, तर दायाँमा भने शल्यक्रिया नगरी आइबल राखिएको मेनुका बताउँछिन् । 

केही घन्टामा नै गरिएको शल्यक्रियापछि उनी अहिले घरमै स्वास्थ्यलाभ गरिरहेकी छिन् । आइबल सेट हुन ६ हप्ता लाग्ने अस्पतालले जनाएको छ । यो उपचारले मेनुकाको आँखाको ज्योति भने फर्काउने छैन, अर्थात् दृष्टिका लागि गरिएको शल्यक्रिया होइन । 

जन्मँदै प्राकृतिक रूपमा आँखाको ज्योति गुमाएकाहरूको दृष्टि फर्काउने प्रविधि अलिहेसम्म चिकित्सा विज्ञानमा विकास भएको छैन । 

“मलाई सामान्य मानिसजस्तै अनि राम्री देखिन भित्रैदेखि रहर थियो, मैले इन्डियामा रहँदा दुई सहरमा यो प्रविधिबारे बुझेकी थिएँ । नेपालमा उपचार छ कि छैन भनि बुझ्दा, तिलगंगामा हुनेरहेछ, लन्डनबाट फर्किएपछि गर्ने कुरा भएको थियो,” मेनुकाले भनिन् । 

“प्रविधीले विकास गरेको उपचार विधिबाट फाइदा हुन्छ भने किन नगर्ने,” उनलाई लाग्यो ।  शल्यक्रियापछि आफू निकै खुसी रहेको र अब लगत्तै प्रस्तुतिका लागि अमेरिका जान लागेको उनले बताइन् । “अब तपाइँहरुले मलाइ कालो चस्मा नलगाएकी राम्री गायिका देख्नुहुनेछ, बच्चाहरू पनि मसँग डराउने छैनन्,” मेनुका भन्छिन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro