site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतमा काम गर्न जाने नेपालीलाई म्यादी जीवन बिमामा जोड्न प्राधिकरणको सुझाव

काठमाडौं । नेपाल बिमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ११ बुँदे सुझाव पेस गरेको छ । प्राधिकरणले अर्थ मन्त्रालयलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्न लघुबिमालाई संरक्षण गर्नेदेखि भारतमा काम गर्ने श्रमिकका लागि म्यादी जीवन बिमा लागु गर्न सुझाव पेस गरेको हो ।

हाल दोस्रो मुलुकमा जाने श्रमिकका लागि मात्र म्यादी जीवन बिमा अनिवार्य छ । आगामी वर्षदेखि भारतमा काम गर्न जाने श्रमिकका लागिसमेत म्यादी जीवन बिमा अनिवार्य गर्न सुझाव दिइएको छ ।

त्यस्तै, कोरोना बिमाको बाँकी रहेको दावी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्था गर्न पनि सुझाव पेस गरिएको छ । यसका साथै ग्रामीण क्षेत्रमा बासोबास गर्ने विपन्न एवं न्यून आय भएका नागरिकको बिमा गर्न लघुबिमालाई सरकारबाट अनुदान प्रदान गर्नुपर्ने र लघुबिमामा भ्याट छुट दिने व्यवस्था गर्नुपर्ने सुझाव प्राधिकरणको छ ।  

सरकारको स्वामित्वमा रहेको भौतिक सम्पत्ति र नागरिकको घर तथा अचल सम्पत्तिको प्राकृतिक प्रकोप तथा अन्य जोखिमविरूद्ध सुरक्षण प्रदान गर्न र घर तथा सम्पत्ति बिमा अनिवार्य गर्नुपर्ने सुझावमा उल्लेख छ । जलवायु परिवर्तनबाट हुने जोखिमलाई बिमा सेवासँग आबद्ध गर्न पनि सुझाव दिइएको छ ।

उपभोक्ता समितिमार्फत निर्माण हुने संरचना तथा भौतिक सम्पत्तिको समेत अनिवार्य बिमा गर्ने व्यवस्था गर्न सुझाव दिइएको छ । यसका लागि उपभोक्ता समितिमार्फत् निर्माण हुने संरचना तथा भौतिक सम्पत्तिको बिमाका लागि आवश्यकताअनुसार कानुन निर्माण तथा संशोधन गर्न पनि सुझाइएको छ ।

त्यसैगरी, लघुबिमाको माध्यमबाट आर्थिक सुरक्षण प्रदान गर्न स्थानीय तहमार्फत् लघुबिमा गराउन प्रेरित गर्नुपर्ने पनि सुझाव छ । कृषि, पशुपन्छी तथा जडीबुटी बिमामा प्रदान गरिँदै आएको अनुदान स्थानीय तहमार्फत् भुक्तानी दिने व्यवस्था मिलाउन पनि भनिएको छ ।

स्वास्था बिमा बोर्डलाई सरकारी स्वामित्वको स्वास्थ्य बिमा कम्पनीमा रूपमान्तरण गरी नेपाल बिमा प्राधिकरणको नियमनको दायरामा ल्याउन पनि सुझाव दिइएको छ । देशभित्र आन्तरिक परिवहनबाट ढुवानी हुने मालबस्तुको अनिवार्य बिमा गर्ने व्यवस्था मिलाइदिन पनि सुझाव दिइएको छ ।

साइबर घटनाबाट उत्पन्न हुने जोखिमको बिमाको माध्यमबाट सुरक्षण गर्न पनि सुझाव दिइएको छ । यसका लागि साइबर घटनाबाट उत्पन्न हुने जोखिमविरूद्ध बिमा सुरक्षणका लागि कानुनी ढाँचा निर्माण गर्न सुझाव दिइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro