site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मती प्रदेशमा ११ हजार डेंगी संक्रमित

हेटौँडा । वाग्मती प्रदेशमा पछिल्लो समय डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा वाग्मती प्रदेशमा ११ हजारभन्दा बढी डेंगी संक्रमित फेला परेका छन् । 

चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्म वाग्मती प्रदेशमा ११ हजार ४०८ जना नयाँ डेंगी संक्रमित फेला परेको वाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी धादिङमा तीन हजार ५०१ र सबैभन्दा कम रसुवामा दुईजना नयाँ डेंगी संक्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार यस अवधिमा काठमाडौंमा तीन हजार, चितवनमा एक हजार ७०८, मकवानपुरमा ८५७, भक्तपुरमा ४९४, काभ्रेपलाञ्चोकमा १६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२ र सिन्धुलीमा २३ जना नयाँ डेंगी संक्रमित फेला परेका छन् ।

डेंगी संक्रमणबाट हालसम्म मकवानपुरमा एकजनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । गर्मी मौसम सुरु भएसँगै डेंगी संक्रमित अझै बढ्न सक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै प्रदेशभर लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक दिपकप्रसाद तिवारीले बताए । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्