site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केन्द्रको समस्या समाधान नगरी सोडारीलाई विश्वासको मत नदिने पक्षमा एमाले 
फाइल तस्बिर

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने विषय पेचिलो बनेको छ । नेकपा (एमाले)ले निर्णय नगर्दा  शुक्रबार र शनिबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित भयो । अर्को बैठकको मिति तोकिएको छैन । 

एमाले विश्वासको मत दिन हतार नगर्ने पक्षमा देखिएको छ । विश्वासको मतबारे सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावललगायतले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार राति भेट गरेका थिए ।

विश्वासको मत लिनका लागि जेठ ५ गतेसम्म समय भएकाले अहिले नै हतार गर्नुपर्ने अवस्था नरहेको रावल बताउँछन् । “नेतृत्वसँग परामर्श गर्दै छु । हतारो गर्नुपर्ने छैन, जेठ ५ गतेसम्म समय छ,” ओलीसँगको भेटपछि रावलले भने ।  

अध्यक्ष ओली केन्द्रमा देखिएका समस्या पनि समाधान गरेर मात्रै विश्वासको मत दिनुपर्ने पक्षमा रहेको रावलले बताए । “विश्वासको मतबारे उहाँ त्यस्तो नकारात्मक हुनुहुन्न । केन्द्रमा पनि समस्या देखिएका छन् । सबै  समस्याको समाधान एकैपटक निकालौं भन्ने पक्षमा हुनुहुन्छ,” रावलले भने । 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका पछिल्ला अभिव्यक्ति र गतिविधिबारे छलफल गर्नुपर्ने पक्षमा ओली छन् । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउन एमालेले आनकानी गर्दा नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । एमालेले नसघाए कांग्रेसले सहयोग गर्ने सहमति उनीहरूबीच बनेको थियो । तर, एमालेले समर्थन गरेपछि सोडारी वैशाख ६ मा मुख्यमन्त्री बनेका थिए । 

माधव नेपाल कांग्रेससहितको गठबन्धन बनाउनका लागि लागिपरेको ठम्याइ एमालेको छ । शनिबार रसुवा जिल्ला अधिवेशनमा ओलीले नेपाललाई लक्षित गर्दैै प्रधानमन्त्री बन्न हतार गरिरहेको टिप्पणी गरेका थिए । 

“मलाई अचम्म लाग्छ, किन त्यस्तो हतार छ ? कसले रिस गर्‍यो ? किन रिस गर्‍यो ? हामी अहिले एउटा अभियानमा छौँ, यो देश प्रधानमन्त्री हुनमात्रै हो, प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दैछन्,” ओलीको कटाक्ष थियो । 

रावलले बझाङ क्षेत्र नम्बर १ ‘क’ मा सांसद थपिएको र उनी बुबाको निधनले बाहिर निस्कन बाँकी रहेकाले पनि मतबारे निर्णय गर्न पर्खिएको बताए । 

माधव नेपालले आफ्ना कुरा राखिरहेको विषयमा समीकरणका नेताहरूका बीचमा पनि छलफल चलिहरेको होला,” रावलले भने, “प्रदेशमा पनि उमेदवार पर्सीबाट बाहिर निस्कनुहुन्छ । उहाँले शपथ लिन बाँकी नै छ । सरकारका लागि हामीले सहजीकरण गरेका छौँ । एक सांसद थपिनुभएको छ ।” 

एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेका तत्कालीन १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र सांसदले हस्ताक्षर बुझाएका थिए । तर, नागरिक उन्मुक्तिका पाँच सांसदले सोडारीलाई समर्थन नगरेको जानकारी प्रदेशसभामा बुझाएका थिए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro