site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन् २०२४ अझै तातो वर्ष बन्ने आकलन, के पर्ला असर ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मध्य बर्खा नआउँदै देशका अधिकांश ठाउँमा गर्मी उच्च छ । प्रिमनसुनका दुई महिना पूरै बितिसक्दा पनि वर्षा भएको छैन । चैतयता निरन्तर लागिरहेको डढेलो वैशाखको दोस्रो साता आइपुग्दा उच्च विन्दुमा पुगेको छ ।

देशभर फैलिएको वायु प्रदूषणले, हिमाली चुचुरो र स्वच्छ तालसमेतलाई दूषित बनाएको छ । तराई, पहाड र उपत्यका क्षेत्रमा तातो हावाले जनजीवन कष्टकर बनेको छ ।

त्यतिमात्रै होइन, मौसमी संक्रमण र किटजन्य रोगको प्रकोप पनि गर्मीसँगै बढ्न थालेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जल तथा मौसम विज्ञान विभागले तत्काल वर्षा हुने संकेत नदेखिएको पूर्वानुमान गरेको छ । किन उच्च बन्दै छ, पृथ्वीको तापक्रम ? के अब सिजनअनुसार वर्षा हुँदैन ? डढेलोको र वायु प्रदूषणको अवस्था भयावह कसरी बन्यो ? 

बढ्दै तापक्रम, थपिँदै खडेरीका वर्ष

बढ्दो तापक्रम, खडेरीका वर्ष, मौसमजन्य विपद् र त्यसबाट निम्तिरहेका असरलाई विज्ञहरूले एक आपसमा अन्तरसम्बन्धित भनेर व्याख्या गर्ने गर्छन् । तापक्रमका हिसाबले सन् २०२३ लाई सन् १८५० यताकै तातो वर्षका रूपमा वतावरण तथा जलवायुको क्षेत्रमा काम गर्ने नियामक निकायहरूले घोषणा गरे । 

Royal Enfield Island Ad

नेपालको हकमा पनि सने २०२३ सन् २००० पछिको एक तातो वर्षको रूपमा सूचीकृत भएको छ । जल तथा मौसम विज्ञान विभागको वार्षिक जलवायु प्रतिवेदन अनुसार सन् २०२३ मा नेपालको वार्षिक अधिकतम तापक्रम औसतमा २७.९ डिग्री सेल्सियस पुग्यो, जुन अघिल्लो वर्षको औसत अधिकतम तापक्रमभन्दा ०.६ डिग्रीले बढी हो । 

वार्षिक न्यूनतम तापक्रम समेत औसतमा १५.६ डिग्री सेल्सियस रह्यो, जुन सामान्यभन्दा ०.५ डिग्रीले बढी हो । २०२३ मा अप्रिल र मेमा ‍बाहेक अन्य महिनामा न्यूनतम तापक्रम सामान्यभन्दा ०.३ देखि १.५ डिग्रीसम्म बढी नै थियो । जनवरी र फेब्रुअरीमा तापक्रम बढ्दै अप्रिल दोस्रो सातादेखि गर्मी बढेको थियो, अधिकतम तापक्रम मे अन्तिममा अचानक बढेको थियो ।

जुन अन्तिमसम्म पनि तापक्रम निरन्तर बढिरहँदा तातो हावाले जनजीवन प्रभावित भएको थियो । जुन र जुलाई अर्थात् मध्य बर्खाको तापक्रम सामान्यभन्दा बढी रह्यो । सन् २०२३ को जुन सबैभन्दा गर्मी महिनामा रेकर्ड भएको थियो । सो महिना मासिक अधिकतम तापक्रम २ डिग्रीले बढेको विभागको रेकर्ड छ । 

सो वर्ष जुनको तेस्रो महिनासम्म पनि तातो हावा चलेको थियो । ९ जुनमा सन् १९७९ यताकै उच्च तापक्रम मापन भएको थियो । सोही दिन पूर्वी नवलपरासीको दम्कौलीमा अधिकतम तापक्रम ४४.८ डिग्री सेल्सियस रेकर्ड भएको विभागको रिपोर्टमा उल्लेख छ ।

सेप्टेम्बरदेखि डिसेम्बरसम्म ०.२ देखि १.३ डिग्रीले बढेको अधिकतम तापक्रमले तापक्रमले ११ जिल्लाका १२ नयाँ रेकर्ड बनाएको थियो । सन् २०२३ लाइ विभागले गर्मी तथा तातो हावाको वर्षका रूपमा व्याख्या गरेको छ ।

तापक्रम वृद्धिसँगै सन् २०२३ सुख्खा वर्षको रूपमा पनि सूचीकृत भएको थियो । औसत वर्षाका हिसाबले सुख्खा वर्ष नै रहेको विभागको रिपोर्ट छ । सो वर्ष हिउँद र बर्खायाममा गरी औसत १५७०.४ एमएम मात्रै वर्ष भयो जुन हुनुपर्ने वर्षको ९१.२ प्रतिशतमात्रै हो ।

मार्च, अगस्ट र अक्टोबरमा बाहेक अन्य महिनामा वर्षा औसतभन्दा धेरै कम भयो । हिउँदका महिनामा औसत ६० एमएल वर्षा हुनुपर्नेमा ८२ प्रतिशतसम्म कम भएको विभागको रिपोर्टमा उल्लेख छ । मार्चमा सामान्यभन्दा ६० प्रतिशत बढी र प्रिमनसुन र मनसुनका अप्रिल, मे, जुन, जुलाईलगायतका महिनामा सामान्यभन्दा १२ देखि २२ प्रतिशतसम्म कम वर्षा भएको विभागको रेकर्ड छ । 

यस्तै, अगस्टमा औसतभन्दा १५ प्रतिशत बढी, सेप्टेम्बरमा ३१ प्रतिशतले कम फेरि अक्टोबरमा ७१ प्रतिशत बढी र नोभेम्बर डिसेम्बरमा ८३ प्रतिशतसम्म कम वर्षा भएको विभागको तथ्यांक छ । सो वर्ष मनसुन एकदिन ढिलो भित्रिएको १३ दिन ढिलो बाहिरिएको थियो ।

वर्षाका हिसाबले सन् २०२३ सन् १९८१ यताको आठौँ खडेरीको वर्षमा रेकर्ड भएको छ ।  त्यसअघि चरम खडेरीका वर्ष १९९२, २००५, २००९, २०१२, २०१५, २०१८ थिए । यीमध्ये अधिकांश खडेरीका वर्ष सन् २००० यता नै रहेको तथ्यांकले देखाउँछ ।

विभागले सन् २०२३ लाइ गर्मी दिनहरू र तातो हावाको वर्षको रूपमा सूचीकृत गरेको छ ।

जलवायु विज्ञ मञ्जित ढकाल तातो वर्षहरू थपिँदै जानु, समयमा वर्षा नहुनुलाई जलवायु परिवर्तनसँग जोडेर व्याख्या गर्छन् । जलवायु परिवर्तन प्राकृतिक र मानवीय दुवै कारणले भइरहेको तर पछिल्ला वर्षहरूमा देखिएका अधिकांश यसका असर मानवीय कारणसँग जोडिएको उनको ठहर छ । 

"पृथ्वीको तापक्रम विगत १०० वर्षमा १ डिग्रीले बढेको छ, खनिज इन्धनको प्रयोग, यसबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड, वन फडानीलगायतका विविध मानवीय कारणले पृथ्वीको तापक्रम बढिरहेको छ," उनी भन्छन् ।

एकसय वर्षदेखि उत्सर्जन भइरहेको कार्बन्डाइअक्साइडको असर यसलाई कम गरे पनि वषौँसम्म देखिइरहने उनी बताउँछन् ।

"कार्बनडाइअक्साइड यस्तो तत्व हो, जसले सूर्यको तापलाई वायुमण्डलबाट फर्किन दिँदैन र परिणामस्वरूपम वायुमण्डल तातो बन्न जान्छ र पृथ्वीको तापक्रम बढ्न पुग्छ, जलवायु परिवर्तनमा वन फडानी लगडायतका अन्य मानवीय क्रियाकलापको पनि ठूलो भूमिका छ," ढकाल थप्छन् । 

खडेरी, बेमौसमी वर्षालगायतका समस्या यिनै असरबाट सिर्जित भइरहेको उनको भनाइ छ  । 

वर्षा हुन किन सकिरहेको छैन ?

जल तथा मौसम विज्ञान विभागले तत्काल वर्षा गराउने कुनै प्रणाली नेपालमा विकास नभएको जानकारी दिएको छ । मार्चदेखि मेसम्मलाई प्रिमनसुन भनिए पनि मेको दोस्रो दिनसम्म नेपालमा वर्षा हुने पूर्वानुमान छैन ।

पश्चिमी न्यूनचापीय प्रणाली शनिबारदेखि नेपाल भित्रिए पनि त्यसले ठूलो वर्षा गराउने सम्भावना नरहेको र प्रणालीसँगै त्यसमा वर्षा गराउने मोइस्चर पर्याप्त नहुँदा वर्षाको सम्भावना नरहने मौसमविद् विभूति पोख्रेल बताउँछिन् ।

वर्षा गराउने पश्चिमी वायुलाई कमजोर बनाउन तथा वायुमण्डलमा आद्रता घटाउनमा बढ्दो पृथ्वीको तापक्रम नै भएको खडेरी विज्ञ वैज्ञानिक डा. हेमु काफ्ले बताउँछिन् ।

“पश्चिमी वायु नेपाल आइपुग्दासम्म पनि यहाँको तापक्रमका कारण कमजोर भएको देखिन्छ,” डा. काफ्ले भन्छिन् ।

उनका अनुसार बढ्दो सहरीकरण, खुम्चिँदा पानीका स्रोतहरू र मासिँदो वनजंगलले 'ग्लोबल वार्मिङ'लाई बढावा दिएको छ ।

सन् २०२४ अझै तातो वर्ष हुन सक्ने, महामारीजन्य रोगको जोखिम

सन् २०२४ ले तापक्रमका हिसाबले २०२३ को रेकर्ड तोड्ने विज्ञहरूको आकलन छ । जलवायु विज्ञ ढकाल भन्छन्, "आगामी वर्ष झन् तातो वर्ष बन्न सक्छ । हिउँदे वर्षा नहुनु, पृथ्वीको तापक्रम निरन्तर बढ्नु, प्राकृतिक हिसाबले पनि सामुन्द्रीक प्रणालीहरू परिवर्तन भइरहनु यसको आधार हो ।"

लामो समयसम्म पानी नपर्दा निम्तिने खडेरीको असर मौसमी परिवर्तन हुँदै जनस्वास्थ्यदेखि सामाजिक र आर्थिक पाटोसम्म परेको छ । लामो समय पानी नपर्दा हुने वायु प्रदूषणको असरस्वरूप स्वास्थ्यमा जटिलताहरू देखिन थालिसकेका छन् ।

वायुमण्डलमा कम आद्रता भएकै कारण नाक, कान, घाँटी, सुख्खा हुने श्वासप्रश्वासजन्य रोगहरूको जोखिम पनि बढेको छ । समयमा वर्षा नहुनु र अधिक वायु वायु प्रदूषणको असरले महामारीजन्य रोग निम्त्याउनसक्ने वातावरण विज्ञ राजु पण्डित क्षेत्री बताउँछन् । 

यस्तै, समयमा वर्षा नहुनु र एकैपटक अति धेरै वर्षा हुनुले प्राकृतिक विपद्को जोखिम पनि त्यतिकै बढाएको उनको बुझाइ छ ।

“सरकार अहिले डढेलोमा मात्रै केन्द्रित देखिन्छ । तर, यसैको असरस्वरूप निम्तिन सक्ने विपद्का घटनाबारे अहिले नै पूर्वतयारी गर्न आवश्यक छ,” क्षेत्री भन्छन् ।

त्यसका निम्ति स्थानीयदेखि केन्द्र सरकार र सबै निकायको समन्वयकारी भूमिका हुने उनको बुझाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro