site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘बोक्सीको घर’ले नेपाली रजतपटमा दिएको सन्देश
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ले दुई दिनमा दुई करोड १५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्‍यो । यो ग्रस कलेक्सन धेरैले अपेक्षा गरेभन्दा फरक नतिजा थियो । ब्रान्ड बनाइसकेका निर्देशक, ब्रान्ड बनिसकेको ब्यानर र स्टारडम भएका कलाकारबिना नै यो चलचित्रले हलमा दर्शक तान्यो । यसलाई धेरैले आश्चर्यका रूपमा लिएका छन् ।

सायद सिनेमा हल सञ्चालकले पनि विश्वास गरेका थिएनन्, तर हल दर्शकले भरिए । त्यसैले कलाकार, निर्माता तथा सिनेमा हल सञ्चालक समेत रहेका दीपकराज गिरी भन्छन्– पोस्टरमा एक नायिका मात्रै छ । तर, फिल्म ओपनिङ मल्टिस्टारर फिल्मभन्दा बलियो छ । त्यसैले स्टारमा होइन, स्क्रिप्टमा लगानी गरौँ ।

दीपकले भनेजस्तै ‘बोक्सीको घर’मा गिनेचुनेको अनुहार केकी अधिकारी मात्र हुन् । पोस्टरमा उनै छिन् । त्यसो त उनी यो सिनेमाकी कलाकार मात्र होइनन्, लगानीकर्ता पनि हुन् । उनकै बुवा बद्री अधिकारीले निर्माण गरेको चलचित्र हो यो ।

Prabhu Bank
Agni Group
NIC Asia

‘बोक्सीको घर’का निर्देशकको नाम पनि रजतपटमा थिएन । नाटकमा सक्रिय उनको यो डेब्यु निर्देशन थियो । त्यसैले यो सिनेमालाई निर्देशकको ब्रान्डको सुविधा थिएन । यसका लेखक पनि निर्देशक सुलक्षण भारती नै हुन् । त्यसैले नाम चलेको लेखकको पनि यो सिनेमाले सुविधा पाएको थिएन । त्यसो त नेपाली सिनेमा लेखनमा ब्रान्ड बनाएका लेखक छैनन् । त्यसैले यो चलचित्रलाई ‘ब्रान्ड नेम’ बिकाउने सुविधा थिएन ।

तर पनि यो चलचित्रले आकर्षक ओपनिङ गर्‍यो । इनिसियल ओपनिङका लागि स्टारकास्ट चाहिन्छ भन्ने बुझाइ छ । यो नेपालमा मात्र होइन, विश्वभर नै गरिने विश्वास हो । चलचित्र राम्रो होस् वा नराम्रो, उच्च ग्रस कलेक्सन गर्नका लागि ठूलो स्टारडम भएको कलाकार चाहिन्छ भनेर धेरै मेकरले यही सूत्र अवलम्बन गर्दै आएको छिपेको छैन । नेपालको सन्दर्भमा अहिले अनमोल केसी, प्रदीप खड्का, दयाहाङ राई, विपीन कार्की, सौगात मल्लजस्ता कलाकार लिने गरेको पाइन्छ ।

Global Ime bank

तर, सधैँ एउटै ‘फर्मुला’ले काम गर्दैन । स्टारकास्ट गरिएका सिनेमाले पनि आकर्षक इनिसियल व्यापार गर्दैनन् । यसको उदाहरण अनमोल केसीकै चलचित्र ‘छड्के–२’ लाई लिन सकिन्छ । यो सिनेमाले इनिसियल मात्र होइन, लाइफटाइम कलेक्सन पनि राम्रो गर्न सकेन । वितरकका अनुसार, ‘छड्के–२’ को लाइफटाइम कलेक्सन २७ लाख रुपैयाँ थियो । जबकि, अनमोलको पारिश्रमिक नै योभन्दा निकै धेरै छ ।

नेपाली सिनेनगरीमा स्टारकास्टप्रति विश्वास उच्च छ । तर, स्टारकास्टले सिनेमा नचलेको हरेक हप्ताजस्तो प्रमाणित भइरहेको छ । अहिले स्टार मानिएका अनमोल, प्रदीप, दयाहाङ, विपीन, सौगातका सबै सिनेमाले व्यापार गरेका छैनन् । दयाहाङकै आधा दर्जन सिनेमा रिलिज हुँदा एकाध मात्र सफल छन् । तर, यिनै कलाकारलाई स्टारडम भएका अभिनेता मानेर मेकरले लामो समय कुरेर आफ्नो सिनेमामा लिइरहेका छन् ।

त्यसो त स्टारडम होइन, सिनेमा चल्ने कथाले हो भनेर स्वयं स्टार मानिएका कलाकारले नै भन्न थालिसकेका छन् । सौगात स्वयं सिनेमाको हिरो कलाकार नभएर कथा भएको बताउँछन् । कलाकार को छ भन्दा पनि सिनेमाले उठान गरेको विषय कस्तो छ, त्यसले महत्त्व राख्ने उनको भनाइ छ । “म त भन्छु– अहिलेको समयमा हिरो व्यक्ति होइन, कथा हुन्छ । र, हुनु पनि पर्छ,” सौगात बाह्रखरीसँग भन्छन्, “यस्ता सिनेमामा हामी कम्प्रमाइज गरेर काम गरिरहेका हुन्छौँ । यसको अर्थ राम्रा सिनेमा बनून् भनेर नै हो ।”

आफूलाई बाल्यकालमा कमर्सियल सिनेमा मन पर्ने गरेको र त्यस्तै चलचित्र हेरेको उनी स्मरण गर्छन् । तर, सिनेमा बुझ्दै जाँदा विषयप्रधान चलचित्र मन पर्न थालेको उनी सुनाउँछन् । आफूले अहिले दुवै प्रकारका सिनेमामा काम गरिरहेको उनी स्पष्ट पार्छन् । सिनेमा क्षेत्रको विकासका लागि दुवै खालका सिनेमाको विकास र विस्तार हुनुपर्नेमा उनी जोड दिन्छन् । त्यसैले विषयप्रधान सिनेमामा आफूले धेरै कुरा नसोची काम गर्ने गरेको उनको भनाइ छ ।

विषयप्रधान सिनेमा हलको प्राथमिकतामै पर्दैनन् । प्राथमिकता पाए पनि राम्रो व्यापार गर्दैनन् भन्ने आममान्यता छ । यही विषयमा प्रदर्शक र निर्माताबीचको सम्बन्धमा बेलाबेलामा चिसोपन समेत आउने गरेको छ । सुरुमै प्रदर्शक नै समीक्षक बनेर चल्दैन भन्ने मूल्यांकन गरेर शो कम दिने गरेको र यो गलत अभ्यास रहेको निर्माताले टिप्पणी गर्ने गरेका छन् ।

तर, ‘बोक्सीको घर’ यो मामलामा अपवाद रह्यो । धेरैले सोचेभन्दा बढी शो पायो । अग्रिम बुकिङ खोल्दा देशकै ठूलो क्यूएफएक्स चेनले काठमाडौंमा २४ र मोफसलमा ३२ गरी देशभर ५६ शो उपलब्ध गरायो । शुक्रबार हलमा दर्शक ओइरिएपछि अधिकांश शो हाउसफुल भए । शनिबार क्यूएफएक्सले काठमाडौंमा ४० र मोफसलमा ४५ शो दियो । देशभर ‘बोक्सीको घर’ले क्यूएफएक्सका आउटलेटमा ८५ शो पायो । यति धेरै शो कमै चलचित्रले पाउँछन् । ब्रान्ड बनिसकेका सिक्वेल पनि कमैले यति धेरै शो पाउँछन् । नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाज्ले आफ्ना तीन आउटलेटमा पहिलो दिन १८ शो दिएकामा दोस्रो दिन बढाएर २६ शो पुर्‍याएको थियो । उच्च शो र दर्शकको बलियो साथ पाएको चलचित्रले दुई दिनमा दुई करोड १५ लाख ग्रस कलेक्सन गर्‍यो ।

स्टारकास्ट र ब्रान्ड नेम निर्देशक नभए पनि ‘बोक्सीको घर’लाई गीत र सोलो रिलिजको साथ मिलेको थियो । प्रकाश सपूतले तयार पारेको ‘बुझिनँ मैले’ बोलको गीतले सिनेमाको हाइप बनाएको थियो ।

नेपाली र कुनै विदेशी सिनेमा रिलिज नभएकाले यसले सोलो रिलिजको मौका पाएको थियो । यसअघि आक्रामक व्यापार गरेको ‘महाजात्रा’मा दर्शक घटिसकेको र ‘डिग्री माइला’को व्यापार सुस्ताइसकेको अवस्थामा रिलिज हुनु पनि ‘बोक्सीको घर’लाई उच्च शो प्राप्त हुनुको एउटा मुख्य कारण थियो ।

संयोगले नै किन नहोस्, विषयप्रधान सिनेमाले उच्च कलेक्सन गर्दैनन् भन्ने भ्रम यसले तोडिदिएको छ । बलिउड सूत्रमा रहेर बनाइएका सिनेमा मात्र आमदर्शकको नजरमा पर्छन् भन्ने भ्रम यो चलचित्रले तोडिदिएको छ । इनिसियल कलेक्सन उच्च हुन स्टारकास्ट हुनैपर्छ भन्ने भ्रम पनि तोडिदिएको छ । महिला कलाकार मुख्य भूमिकामा रहेका चलचित्रले राम्रो व्यापार गर्दैनन् भन्ने पुरुषप्रधान शोच गलत रहेको प्रमाणित गरिदिएको छ । नायक मुख्य भूमिकामा नरहेको सिनेमाले पनि दर्शकलाई हलसम्म तान्ने ल्याकत राख्छन् भन्ने नजिर ‘बोक्सीको घर’ले बसाइदिएको छ । यसले नेपाली मेकरको भ्रम तोड्ने काम गरेको छ । 

यससँगै सिनेमा चल्न र चलाउन बजारमा चलेको फेस नै चाहिन्छ भनेर जबरजस्ती सिनेमामा बजार भ्यालु भएका कलाकार भन्दै कलाकार थुपार्ने मेकरका लागि पनि यो सिनेमा एउटा गतिलो पाठ हो । 

सिनेमा स्टारकास्ट होइन विषयले चल्छ भन्ने सन्देश दिएको सिनेमा हो, ‘बोक्सीको घर’ । आम नेपालीले देखे/भोगे र सुनेको विषयमा सिनेमा बने चल्छ भन्ने उदाहरण पनि हो, यो चलचित्र । 

‘बोक्सीको घर’ आफूले उठान गरेको विषयमा कति ट्रयाकमा छ, विषयवस्तुको चित्रण कति गहिराइमा गएर गरेको छ ? त्यो अलग पाटो हो तर विषय धेरै ग्रामीण महिलाले देख्दै र भोग्दै आएको हो । त्यसैले मौलिक विषय भएकाले सिनेमालाई दर्शकले साथ दिए । यसले आफ्नै गाउँ परिवेशका विषयले दर्शकको ध्यान खिच्छ भन्ने ययार्थलाई ‘बोक्सीको घर’ले छर्लङग पारिदिएको छ ।

स्वैर कल्पनामा बनाइएका सिनेमाको कुरा बेग्लै हो तर विषयप्रधान चलचित्रले आफ्नै धरातलमा खुट्टा टेक्नुपर्छ भन्ने पनि यो सिनेमाले दिएको अर्को महत्त्वपूर्ण सन्देश हो । यसलाई मेकरले मनन् गर्ने हो भने प्रदर्शक र मेकरको सितयुद्धमात्र अन्त्य हुँदैन यसले नेपाली सिने उद्योगको गुणस्तर पनि उकासिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement