site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्वीकृति नलिएका एन्फाका १५ पदाधिकारी तत्काल बेलायत जान नपाउने

काठमाडौं । बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिवसँग छलफल गरेका छन् ।

भिसा ढिलाइको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फाका महासचिव किरण राईले आज रातिसम्म भिसा आउने बताएका छन् ।

Argakhachi Cement Island Ad

एन्फाले मैत्रीपूर्ण खेलका लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषद्‌मा पठाएको र सोमबार स्वीकृति दिएको सदस्य–सचिव टंकलाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराएका छन् । यसबाहेक पाँचजना एन्फाका भीआईपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतिका लागि परिषद्‌मा पत्र नआएको सदस्य–सचिव घिसिङले बताए ।

यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृति नलिएको जिकिर गरे । उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए । 

राष्ट्रिय खेलकुद ऐन अनुसार खेलाडी र पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताए ।

युवा तथा खेलकुदमन्त्री श्रेष्ठले सोहीबमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानका लागि राष्ट्रिय खेलकुद परिषद्‌बाट स्वीकृति लिनुपर्ने निर्णय गरेका छन् । स्वीकृति नलिएसम्म हालका लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन् । 

युवा तथा खेलकुद मन्त्रालयले परिषद्को स्वीकृतिबिना १५ जना एन्फाका पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्