site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय अदालतको यस्तो नजिर– २५ हजार शिक्षकको जागिर गयो, लिएको तलब ब्याजसहित फिर्ता गर्नुपर्ने

काठमाडौं । “मैले कुनै गल्ती नै गरेको थिइनँ, मलाई लिखित परीक्षा र अन्तर्वार्तामा पाएको अंकका आधारमा छानिएको थियो । मैले जागिरका निम्ति कुनै गैरकानुनी काम गरेको थिइनँ भने आखिर मलाई किन यस्तो सजाय मिल्यो ? म त गहुँमा घुन पिसिएजसरी पिसिन पुगेँ,” कोलकाता उच्च न्यायालयको फैसलापछि आफ्नो जागिर गुमाउन पुगेका सागर मण्डलको भनाइ हो यो ।

कोलकाता उच्च अदालतले शिक्षक भर्ती घोटाला प्रकरणमा परेको याचिकाको सुनुवाइपछि सोमबार सन् २०१६ मा स्कुल सेवा आयोगद्वारा छानिएका २५ हजारभन्दा बढी शिक्षक र गैरशिक्षक कर्मचारीलाई नोकरीबाट हटाउने फैसला गरेको थियो । अदालतले सो सालको पूरै भर्ती प्रक्रिया नै रद्द गरिदिएको थियो । त्यसले मेरिटका आधारमा उक्त जागिर पाउनेहरूमा भने व्यापक निराशा उत्पन्न भएको पाइएको छ ।

अदालतले यो पनि भनेको छ कि नियुक्ति ‘प्यानल’को म्याद सकिएपछि जसले जागिर पाएका छन्, उनीहरूले १२ प्रतिशत ब्याजसहित रकम सरकारलाई फिर्ता गर्नुपर्नेछ ।

राज्यका विभिन्न जिल्लाबाट आएका केही शिक्षक र गैरशिक्षण कर्मचारीले यो फैसलाविरुद्ध कोलकाताको सहिद मिनार मैदानमा धर्ना सुरु गरेका छन् । उनीहरूले उच्च न्यायालयको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिने पनि बताएका छन् ।

सहिद मिनारमा धर्नामा बसेका मानिसका आँखामा आँसु देखिन्थ्यो । धर्नामा बसेकी शुभ्रा घोषले कैयौँ वर्षको मिहिनेतपछि आफूले मेरिटका आधारमा परीक्षा उत्तीर्ण गरेको बताइन् । उनले आफूले २०१९ देखि जागिर थालेको तर जीवनमा केही स्थिरता आउन लागेपछि खुट्टा जमिनमा भासिएको जस्तो भएको बताइन् ।

उनी भन्छिन्, “केही व्यक्तिको गल्तीको सजाय मैले किन भोग्नुपरिरहेको छ ?”

धर्नामा सामेलमध्ये हाइस्कुलमा पढाउने अजरुद्धिन पनि छन् । उनी मिडियालाई उत्तरपुस्तिका र मेरिट लिस्टमा आफ्नो नाम देखाइरहेका थिए । उनको भनाइ थियो, “मैले त गैरकानुनी रूपमा जागिर पाएको होइन, तर किन सजाय भोग्नुपर्‍यो ?”

पश्चिम बंगालमा भएको शिक्षक भर्ती घोटालामा २५ हजार ७५३ मध्ये चार/पाँच हजारलाई अवैध रूपमा जागिर खाएको आरोप लगाइएको छ । यो पनि भनिँदै छ कि उनीहरूले बिनाकेही लेखी ‘ब्ल्यांक’ उत्तरपुस्तिका नै बुझाएका थिए । धर्नामा बसेका व्यक्तिहरूको भनाइ छ, “२०१६ को घोटालाको जाँच गरिरहेका सीबीआई र ईडी यतिका दिन के कुराको जाँच गरिरहेका थिए ?”

विरोध प्रदर्शनमा पुगेका सैकत घोष अचानक जागिर गुमेकाले आफ्नो परिवारको जीविका चौपट भएको बताउँछन् । अर्की एक महिला भन्दै थिइन्, “कुनै कक्षामा केही मानिस फेल भएमा के सबैको फेल गराउन मिल्छ ?”

अदालतले अहिलेसम्म खाएको तलब पनि ब्याजसहित बुझाउनू भनेकाले ९ वा १० कक्षामा पढाउनेले औसतमा २२ लाख र हाइयर सेकेन्डरी (११/१२)मा पढाउनेले औसतमा २८ देखि ३० लाख भारतीय रुपैयाँ बुझाउनुपर्नेछ । यो रकम चार साताभित्रमा फिर्ता गर्नुपर्ने बताइएको छ ।

अदालतले मानवताका आधारमा भन्दै तीमध्ये दास नामकी एक महिला मात्र जागिरमा बहाल रहन सक्ने जनाएको छ । किनकि, उनी क्यान्सरपीडित हुन् ।

अदालतले २५३ पेजको फैसलामा राज्य सरकारसँग जोडिएका सबैलाई सोधपुछ गरी हिरासतमा लिन समेत सीबीआईलाई निर्देशन दिएको छ । अदालतले यो मामिलामा छानबिन जारी राख्न पनि निर्देशन दिएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले शिक्षकहरूलाई साथ दिँदै उनीहरूलाई सर्वोच्च अदालत जान भनेकी छन् । उनले चुनावी सभामा बोल्दै आफूहरूले नोकरी दिइरहेको तर भाजपाले एक झड्कामा जागिर छिनिरहेको राजनीतिक आरोप लगाएकी थिइन् । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro