site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिज ‘ए’ को लगेज चर्चा, क्यान भन्छ– यो सामान्य हो
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल आइपुगेको टेस्ट राष्ट्र वेस्ट इन्डिज ‘ए’ का खेलाडीको 'लगेज चर्चा'ले अहिले सामाजिक सञ्जाल भरिएको छ । 

अनुभवी अलराउन्डर रोस्ट चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ बुधबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको थियो । तर, विमानस्थलमा उनीहरूले ल्याएको लगेज पिकअप भ्यानमा आफैँले हाल्दै गरेको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

वेस्ट इन्डिजको टोलीलाई नेपाली टिमका म्यानेजर विनोद दासलगायत नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । पाहुना टिमको स्वागतमा विमानस्थल पुगेका म्यानेजर दास खेलाडीको सबै लगेज बसमा नअटाउने हुँदा पहिले जसरी नै पिकअप भ्यान लगिएको बताउँछन् । 

“एकजना खेलाडीको लगेज नै तीन वटासम्म हुन्छ । खेलाडीलाई होटेलसम्म ल्याउन बसको व्यवस्था थियो । सबै लगेज बसमा नअट्ने हुँदा पिकअप भ्यान लगिएको हो । सबै देशमा लगेजका लागि त्यसरी नै छुट्दै भ्यान लगिन्छ,” दासले बाह्रखरीसँग भने, “हाम्रोमा लगेजका लागि पिकअप भ्यान उपलब्ध भएकाले त्यही लगेका हौँ । त्यहाँ लगेज हाल्नका लागि छुट्टै व्यक्ति पनि थिए । खेलाडीहरूले नै पिकअप भ्यानसम्म लगेज लगेर गएकाले त्यस्तो देखिएको हो । लगेजका लागि पहिले पनि पिकअप नै लैजान्थ्यौँ । त्यो सामान्य कुरा हो ।” 

यी दुई टिमबीचको पहिलो खेल आउँदो शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल अर्को शनिबार हुनेछ । यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि दुवै टिमले तयारीस्वरूप यो शृंखला खेल्न लागेका हुन् । शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले टोलीको घोषणा गर्न बाँकी नै छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro