site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एक मन्त्री लिएर सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बुधबार एकजना मन्त्रीसहित सरकार बिस्तार गर्ने भएका छन् ।  नेकपा  (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बुधबार बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् बिस्तार हुने भएको हो ।

परियारलाई बिहीबार मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रूपमा पठाइएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । “सरकारमा नयाँ जाने वा पुरानै पठाइने भन्ने अहिले केही छैन,” उनले भने, “बाँकी तीन मन्त्रीको टुंगाे लागेपछिको कुन हुने भन्ने निर्क्याेल हुन्छ ।”

नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्रीको टुंगाे लगाइने बताए ।  “आज माओवादीले एक जना विनाविभागीय मन्त्री भनेर रनसिंह परियारलाई पठाएको छ,” उनले भने, “मुख्यमन्त्रीले विश्वास मत लिइसकेपछि सरकारले पूर्णता पाउनेछ ।” रासस

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्