काठमाडौं । नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ विराटनगरकी सर्जक लता गिरीलाई समर्पण गरेको छ ।
८६ वर्षिया गिरीले शैक्षिक तथा साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समाजले उक्त सम्मान प्रदान गरेको हो । सम्मानका साथ नगद राशि १५ हजार १०१ रुपैयाँ पनि प्रदान गरियो ।
सर्जक गिरीका तीन भजन संग्रह, गीत तथा कविताहरू प्रकाशित छन् ।
आइतबार विराटनगरमा आयोजित कार्यक्रममा साहित्यकारहरू विवश पोखरेल, श्रीओम रोदन, देविका तिमिल्सिनालगायतले बोलेका थिए ।
स्रष्टा पुष्पा खनालले आफ्नी आमाको नाममा स्थापना गरेको यस सम्मानबाट सृजना शर्मा, डिक्रा वादी, इन्द्र गहतराज, प्रतिमा पोखरेल, निर्मला मुरारी र यमुना अधिकारी पराजुली सम्मानित भइसकेका छन् ।