
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न आफ्नो स्पेन भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको बताएका छन् । सोमबार (असार २३) प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउँदै उनले संयुक्त राष्ट्रसंघसँगको सहकार्य अझ सुदृढ बनेको जिकिर गरे ।
“सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसंघसँगको सहकार्य अझ सुदृढ बनाउन सहयोग पुगेको छ,” प्रधानमन्त्री ओलीले भने ।
यस्ता भ्रमण नेपालको कूटनीतिक उपस्थिति र अन्तर्राष्ट्रिय विश्वसनीयताको दृष्टिकोणले महत्त्वपूर्ण हुने उनले जनाए ।
विकास वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली यही असार १४ गते स्पेनको सेभिया गएका थिए । सम्मेलनमा ५० देशका राष्ट्र र सरकार प्रमुख तथा राष्ट्रसंघका महासचिवको सहभागिता रहेको जानकारी उनले दिए ।
“पछिल्लो समय शक्ति राष्ट्रहरूबीचको द्वन्द्वका कारण बहुपक्षीयता तथा संयुक्त राष्ट्रसंघको प्रभावकारितामाथि नै संशय पैदा भइरहेको परिप्रेक्ष्यमा नेपालबाट सरकार प्रमुख तहमा सम्मेलनमा भएको सहभागितबाट नेपालको संयुक्त राष्ट्रसंघ तथा बहुपक्षीयताप्रतिको ऐक्यबद्धता पुनर्पुष्टि भएको छ,” उनले भने ।