site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घर खरानी भएपछि बिचल्ली

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३, रातामाटाकी वसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन् । शनिबार लागेको आगोेले उनको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएको थियो । आगलागीबाट त्यस टोलका १६ परिवारको बिचल्ली भएको छ । 

“घर एकैछिनमा खरानी भयो । गाँसबासको टुंगो छैन । कहाँ बस्ने, कहाँ खाने,” आँसु झार्दै मल्लले भनिन् ।

स्थानीय गंगाबहादुर विकको पनि मल्लको जस्तै पीडा छ । “घरमा रहेको गरगहना, अन्न, कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भयो,” उनले भने, “घरमा रहेका कुनै पनि वस्तु बचाउन सकिएन ।”

वसन्ता र गंगाबहादुर मात्र हैन, धारापानीमा शनिबार आगलागीमा परेर घर जलेका १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । भूमिकास्थान नगरपालिका धारापानीका रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायत गाउँमा आगोले १६ घर र १० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिए । बस्तीमा पसेको आगो निभाइए पनि वनमा डढेलो अझै पूर्ण रूपमा निभाउन सकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आगोले घर गुमाएका परिवारलाई गाउँमै गएर खाद्यान्न सामग्री वितरण गरेका छन् । आगलागीबाट घर नष्ट भएका रातामाटा क्षेत्रका १६ परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्योग वाणिज्य संघले खाद्यान्न सामग्री उपलब्ध गराएको हो । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदीप मिश्रले चामल, दाल, तेल, नुनलगायत खाद्यसामग्री वितरण गरिएको बताए ।

आगोले गाउँ नै सखाप भएको छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीबाट ४३ घरगोठ जलेर नष्ट भएको छ । शनिबार भूमिकास्थान नगरपालिका, शीतगंगा नगरपालिका र पाणिनी गाउँपालिकामा आगोले २० घर र २३ गोठ जलेर नष्ट भएको छ भने ११ बाख्रा र ६ भैँसी मरेका छन् । रासस

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro