site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरतपुर अस्पतालमा रेबिजविरुद्ध लगाइने खोपको चरम अभाव

चितवन ।  भरतपुर अस्पतालमा अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आइतबार ११ वर्षीय छोरीलाई कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउन अस्पताल आए । अस्पतालमा आउँदा अस्पतालका कर्मचारीहरूले अस्पतालमा खोपको अभाव भएको जानकारी गराएपछि निरास हुँदै उनी छोरीलाई लिएर बाहिर निस्किए । “अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा । यहाँ नभए कहाँ पाउँछ, ” उनले भने, “बाहिरबाट किनेर ल्याउनु भन्छन् । किन्दा महंगो पर्छ रे । पाउने ठाउँ पनि थाहा छैन ।”

आफन्तको घरमा निम्ता मान्न धादिङ जाँदा भरतपुरकै सञ्जय गुरुङलाई कुकुरले टोक्यो । उनले त्यहीँ एक मात्रा (डोज) खोप लगाए । घरमा आएपछि अर्को डोज लगाउन भरतपुर अस्पतालको खोप केन्द्रमा पहिले डोज लगाएको प्रमाण पुर्जा देखाउँदै गर्दा उनले खोप लगाउन पाएनन् । उनलाई अस्पतालका कर्मचारीले खोप छैन भन्दा पत्यार लागेन ।  उनीसँगै आएका अन्य बिरामीले  भनेपछि बल्ल विश्वास गरे । उनले भने, “सरकारी अस्पतालमा नपाउने खोप कस्तो खोप हो । हामीले कहाँबाट ल्याउने ।”

भरतपुर –६ का भरत गुरुङ पनि कुकुर टोकेर रेबिजविरुद्धको खोप लगाउन अस्पताल आउँदा बाहिरबाट खोप किनेर ल्याउनुपरेको बताउँछन् । उनले भने, “एक भाइलमा दुई डोज हुन्छ रे । हामी दुईजना बिरामी मिलेर किनेर लगाउन थालेका हौँ ।”  एक भाइललाई बाहिर किन्दा ६२५ रुपैयाँ तिर्नुपर्ने तर अस्पतालमा तीन डोज लगाउँदा मात्र ३०० रुपैयाँ पर्ने गरेको जनाउँदै उनले रेबिजविरुद्धको खोप अभावले सेवाग्राही महंगोमा परेको बताए ।

 यी त भरतपुर अस्पतालमा रेबिजविरुद्धको खोप लगाउन आउने सेवाग्राहीको गुनासोका प्रतिनिधि पात्र मात्रै हुन् । यस्तै गुनासो लिएर गत चैत २० गतेदेखि अस्पतालबाट बाहिरने बिरामीको संख्या उत्तिकै छ । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी रेबिजको खोप लगाउन अस्पताल आउने गर्दछन् ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापाकोटाका अनुसार अहिले अस्पतालमा रेबिजको खोप चरम अभाव भएको छ । उनले भने, “अभाव चैत २० गतेदेखि सुरू भएको हो । शुक्रबारबाट त व्यवस्थापन गर्नै सकिएन । हामी शून्य मौज्जाद (स्टक)मा छौँ ।”  अस्पतालले बारम्बार प्रदेश र संघीय मन्त्रालयका आपूर्ति व्यवस्थापन शाखामा पत्राचार गर्दा प्रयाप्त मात्रामा खोप पाउन नसकेको उनले गुनासो गरे ।

पहिला दैनिक ६० देखि ७० भाइल खोपले पर्याप्त हुनेमा अहिले बिरामीको चाप बढेसँगै खोपको अभाव भएको हो । उनका अनुसार यहाँ अहिले चितवनसहित, नवलपुर, धादिङ गोरखा, तनहुँ, मकवानपुरसहितका छिमेकी जिल्लाबाट खोप लगाउन बिरामी आउने गरेका छन् । अस्पतालले आपूर्ति शाखामा पत्राचार गर्दा खोप आउन अझै दुई साता लाग्ने जानकारी पाएको प्रवक्ता सापकोटाले बताए । उनले भने, ”बिरामीलाई हामीले दिने जवाफ केही छैन ।”

अस्पतालका स्टोर शाखा प्रमुख प्रदीप अधिकारीले केही समय आफूहरूले मागेकोभन्दा कम मात्रामा खोप पाएको भए पनि अहिले पाउन कठिन हुँदा बिरामीलाई बाहिर किन्न लगाउनुपरेको बताए । उनले भने, “हामीले एक हजार भाइल माग गरेर प्रदेश पठाउँदा प्रदेशबाट जम्मा ८० भाइल पायौँ । यस्तै संघमा पनि पठाउँदा २५० भाइल मात्रै पठायो ।” यी खोपले दुई दिन चलाउन कठिन भएको उनको गुनासो थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro