site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सफाइमा २१ अर्ब सकियो, वाग्मतीको अवस्था अझै ढलजस्तै
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती नदीको उद्गमथलो शिवपुरी जलाधारदेखि चोभारसम्मको नदी स्वच्छ र सफा राख्न सरकारले हालसम्म करिब २१ अर्ब रुपैयाँ खर्च गरिसक्यो । तर, वाग्मती नदीको अवस्था सुध्रिएको छैन ।

सुन्दरीजलदेखि चोभारसम्म ११ स्थानमा वाग्मती नदीको पानी परीक्षण गर्दा ढलजस्तै पाइएको छ । सुन्दरीजलदेखि चोभारसम्म वाग्मती नदीमा जलचर र वनस्पति बाँच्ने अवस्था कतै छैन ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले पानी परीक्षण गर्न गएको फागुन १६ र २९ गते सुन्दरीजलदेखि चोभारसम्म ११ स्थानबाट नमुना संकलन गरेको थियो । फागुन १६ गते सुन्दरीजल, गोकर्ण, जोरपाटी, गुह्येश्वरी र आर्यघाटबाट वाग्मतीको पानीको नमुना संकलन गरिएको थियो । फागुन २९ गते मीनभवन, मनोहरा र वाग्मती मिसिएको स्थान, थापाथली, वाग्मती र विष्णुमती मिसिएको स्थान, सुन्दरीघाट र चोभारमा नमुना संकलन गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

वागमती सफाइ गर्न भन्दै समितिले पछिल्लो २९ वर्षमा करिब २१ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । तर, परीक्षणमा वाग्मतीको पानीको नतिजा तर्साउने खालको छ । परीक्षणको नतिजाले ढल र वाग्मतीको पानीबीच भिन्नता देखाएको छैन । दुवैको गुणस्तर उस्तै देखाएको छ ।

सरकारले जलस्रोत ऐन, २०४९ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड र यसको कार्यान्वयन तय गरेको छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०६२ अनुसार खानेपानीमा धमिलोपना (टर्बिडिटी) बढीमा पाँच एनटीयू हुनुपर्छ ।

Global Ime bank

सुन्दरीजलमा धमिलोपना सात एनटीयू, गोकर्णमा १०७, जोरपाटीमा २०८, गुह्येश्वरीमा ५०, आर्यघाटमा १२१, मीनभवनमा ३०८, मनोहरा र वाग्मतीको संगमस्थलमा २७१, थापाथलीमा ३००, वाग्मती र विष्णुमतीको संगमस्थलमा २६८, सुन्दरीघाटमा ३६९ र चोभारमा ३६० एनटीयू रहेको परीक्षणमा देखिएको छ ।

“परीक्षणको नतिजाले वाग्मतीको पानी कतै पनि पिउनलायक देखिँदैन, यो ढल नै हो,” नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)की वैज्ञानिक टिस्टा प्रसाईं जोशीले बाह्रखरीसँग भनिन्, “माथि (सुन्दरीजल)देखि जति तलतल गयो, वाग्मतीको पानी त्यति नै फोहोर बन्दै गएको देखिन्छ ।”

पिउनयोग्य पानीमा फोसफोरसको मात्रा प्रतिलिटर ०.०५ देखि ०.१ मिलिग्रामभन्दा बढी हुनु हुँदैन । वाग्मतीको पानी परीक्षण गर्दा फोसफोरसको मात्र सुन्दरीजलमा ०.१०, गोकर्णमा १.२२, जोरपाटीमा १.६४, गुह्येश्वरीमा १.४२, आर्यघाटमा १.८१, मीनभवनमा ५.२०, मनोहरा र वाग्मतीको संगमस्थलमा ५.८८, थापाथलीमा ६.०४, वाग्मती र विष्णुमतीको संगमस्थलमा ५.८२, सुन्दरीघाटमा ६.१० र चोभारमा ५.६२ मिलिग्राम पाइएको छ ।

पिउनेपानीमा कोलिफर्म हुनु हुँदैन । परीक्षणमा सुन्दरीजलमा प्रति १०० मिलिलिटरमा ७५० सीएफयू, गोकर्णमा दुई लाख ५० हजार सीएफयू, जोरपाटीमा चार लाख ३० हजार, गुह्येश्वरीमा एक लाख ६० हजार, आर्यघाटमा ६ लाख ९० हजार, मीनभवनमा ७२ लाख, मनोहरा र वाग्मतीको संगमस्थलमा एक करोड २० लाख, थापाथलीमा एक करोड ७० लाख, वाग्मती र विष्णुमतीको संगमस्थलमा ६८ लाख, सुन्दरीघाटमा ८९ लाखर चोभारमा ५१ लाख सीएफयू पाइएको छ ।

“वाग्मतीको पानीको परीक्षण नतिजाले त्यहाँ जलमा हुने जीवन सम्भव छैन । अक्सिजनको मात्रा नै छैन,” उनले भनिन् ।

परीक्षणमा वाग्मतीको पानीमा घुल्ने अक्सिजनको मात्रा (डीओ) एकदमै कम देखाएको छ । प्रतिलिटर सुन्दरीजलमा ८.५ मिलिग्राम, गोकर्णमा ४.१, जोरपाटीमा १.६, गुह्येश्वरीमा २.८ र आर्यघाटमा ०.५ मिलिग्राम देखिएको छ । परीक्षण गरिएका अरू स्थानमा घुल्ने अक्सिजनको मात्रा शून्य देखिएको छ ।

वाग्मतीको पानी परीक्षणको नतिजाले सफाइमा अर्बौँ रुपैयाँ खर्चिए पनि यसले कुनै प्रभाव नपारेको देखाएको छ ।

काठमाडौैं उपत्यकास्थित वाग्मती नदी प्रणालीलाई जीवन्त बनाई त्यसको समग्र वातावरणीय विकास गर्ने उद्देश्यानुरूप ०५१ चैतमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको थियो । उक्त समितिलाई ०५२ मंसिरमा अधिकार सम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति नामकरण गरी पुनर्गठन गरिएको थियो ।

०६५ जेठमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरी कार्यक्षेत्र विस्तार गरियो । यसैले वाग्मतीको सफाइ कार्य गर्दै आएको छ । समितिको अवधि सकिएपछि गएको साउनमा बसेको मन्त्रिपरिषद्को बैठकबाट ०८३ असारसम्म म्याद थप गर्ने निर्णय गरिएको छ ।

वाग्मतीको उद्गमस्थल शिवपुरी जलाधारदेखि चोभारसम्म स्वच्छ र सफा राख्न समितिले हालसम्म करिब २१ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । समितिले ०५१ देखि आर्थिक वर्ष २०७९/८० सम्म २९ वर्षको अवधिमा उक्त रकम खर्चेको हो । वाग्मती सफाइका नाममा प्रत्येक वर्ष औसतमा करिब साढे ७२ करोड रुपैयाँ खर्च भएको देखिन्छ ।

उक्त बजेटबाट वाग्मती र यसका सहायक नदी किनारामा ८८.५९ किलोमिटर इन्टरसेप्टर ढल निर्माण, दुवै किनाराका कोरिडोर सडकहरू बनाइएको छ । त्यहाँ ३२.५६ किलोमिटर सडक कालोपत्र गरिएको छ । ७३.३ किलोमिटर नदी नियन्त्रणका काम भएको छ ।

टेकुस्थित वाग्मती किनारामा हालसम्म २८ धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका धरोहर पुनर्निर्माणको काम सकिएको छ । गोकर्णदेखि सिनामंगलसम्म र थापाथली पुलदेखि बल्खुसम्म वाग्मतीको किनारामा सौन्दर्यीकरण तथा वातावरणीय सुधार र धाप ड्याम निर्माण सकिएको छ ।

टुकुचामा ढल प्रशोधन केन्द्र निर्माण हुने क्रममा छ । गुह्येश्वरी ढल प्रशोधन केन्द्र बनाइएको छ । खानेपानी मन्त्रालयअन्तर्गतबाट सात फोहोर पानी प्रशोधन केन्द्र निर्माणाधीन छन् । विष्णुमती र धोबीखोला समेत फोहोर पानीमुक्त बनाउने प्रयास भइरहेता पनि प्रशोधन केन्द्र निर्माणका निम्ति जग्गा उपलब्ध हुन सकेको छैन ।

वागमती कार्ययोजना (सन् २००९–२०१४) स्वीकृत भई त्यसानुसार केही काम गरिएको छ । तर, वाग्मती सुधारमा अझ धेरै काम गर्न बाँकी छ । २९ वर्षमा २१ अर्ब खर्चंदा पनि वागमती नदी सफा नभएपछि समिति अर्को कार्ययोजना तयार पार्न व्यस्त छ ।

वाग्मती र यसका सहायक नदीमा वातावरणीय सुधार ल्याउन र समग्र वाग्मतीको जलधार संरक्षण गर्न अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले २०८० देखि २१०० (२० वर्ष)लक्षित गरी बीसवर्षे कार्ययोजना तयार गरेको छ । उक्त कार्ययोजनाबारे सरोकारवालासँग बृहत् अन्तरक्रिया गरी अन्तिम रूप दिने कार्य जारी छ । नयाँ २० वर्षे कार्ययोजना कार्यान्वयन गर्न दुई खर्ब ७९ अर्ब ६० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement