site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
होटल अन्नपूर्णमा मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले आठ अर्ब लगानी गर्दै, तीन वर्षभित्र पूर्ण सञ्चालनमा आउने 

काठमाडौं । मुलुकमा यतिबेला लगानीको वातावरण नभएको भन्दै चौतर्फी निराशा छाइरहेको बेला दुई व्यवसायीले सेवा क्षेत्रमा ठूलो लगानी विस्तार गर्दैछन् ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ र कांग्रेस नेतासमेत रहेका उद्यमी उमेश श्रेष्ठले काठमाडौंको दरबारमार्गमा रहेको होटल अन्नपूर्ण र त्यसले चर्चेको जग्गा ३५ वर्षका लागि भाडामा लिएर लगानी बढाउन लागेका हुन् ।

सरकारका निकायको सहयोग भएमा तीनवर्षभित्र पूर्णरुपमा सञ्चालनमा ल्याएर दुई हजारदेखि २५ सयसम्मलाई रोजगारी दिने तयारी उनीहरुको छ ।

Argakhachi Cement Island Ad

नयाँ सम्झौतापछि उनीहरुले कामको शुभारम्भसमेत गरेका छन् ।

“अहिले लगानीको वातावरण भएन भनेर मुलुकमा निराशा छाएको छ,” भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बाह्रखरीसँगको कुराकानीमा भने, “यस्तो बेलामा हामी व्यवसायीले लगानी गरेर वातावरण सहज बनाउनुपर्छ । हाम्रो देशको समृद्धिको रेखा हामीले नै कोर्नुपर्छ ।”

उनले आफूहरुले उक्त होटलमा आठ अर्ब लगानीको तयारी गरेको बताए ।

“सरकारी निकायबाट सहजीकरण भयो भने हामीले बढीमा तीनवर्षभित्रै निर्माणको काम सम्पन्न गर्नेछौँ, जहाँ साढे तीन सयदेखि चारसय सम्मको पाँच तारे होटल हुनेछ, सपिङ मल हुनेछ,” उनले भने,“त्यसमै भाटभटेनी पनि रहनेछ ।”

अहिले मुलुकलाई कसरी राम्रो गर्न सकिन्छ भनेर नै आफूहरुले लगानी बढाएको बताउँदै उनले भने, “साढे नौ लाख स्क्वायर फिट बराबरको भवन निर्माण हुनेछ । हामीले निर्माण सम्पन्न गरिसकेपछि दुई हजारदेखि २५ सय नेपालीलाई रोजगारी पनि दिनेछौँ ।”

विगत पाँच दशकदेखि सञ्चालनमा रहेको होटल अन्नपूर्ण कोरोना महामारीपछि लामो समय बन्द रहेको थियो ।  त्यसयता पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । 

कोरोनासम्म १५३ कोठाको पाँचतारे होटल सञ्चालनमा थियो थियो । त्यसको निर्देशकमा सिर्जना राणा थिइन् । उनले श्रीमान् कपिल शमशेर राणासँग मिलेर होटल सञ्चालन गर्दै आएकी थिइन् । कोरोनापछि लामो समय होटल बन्द भएको थियो । केही  समयपछि ३० वटा कोठा सञ्चालनमा राखेर क्यासिनो चलाइएको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्