site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रूपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण थालियो

काठमाडौं । नेपाल आयल निगमले रूपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ ।

रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गर्न भूमि सम्याउने तथा रिटेनिङ वाल निर्माणको काम थालिएको हो ।

बुधबार ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा निर्माण कार्यको शुभारम्भ गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रूपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३.५ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । बनाउन लागिएको भण्डारण गृहले लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ ।

निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ । कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसादले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै निगमले स्थानीयको चासो सम्बोधन गरिदिनुपर्नेमा जोड दिए ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमारले स्थानीय जनतालाई रोजगारी दिने तथा यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे।

भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले करिब तीन अर्ब रुपैयाँ लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको जानकारी दिए । डिजेल भण्डारणका लागि दुई हजार १०० किलोलिटर क्षमताका तीन, पेट्रोल भण्डारणका लागि एक हजार ६०० किलोलिटर क्षमताका दुई र मट्टीतेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका तीनवटा ट्याङ्क निर्माण गरिने उनको भनाइ छ ।

भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो सोही स्थानमा सर्ने निगमले जनाएको छ । भण्डारण डिपोलाई बाढीबाट जोगाउन दुई मिटर अग्लो बाँध निर्माण गरी जमिन पुरिने परियोजना संयोजक यादवले जानकारी दिए ।

आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिँदै उनले असोजभित्र परियोजनाको डिजाइन सम्पन्न गरिने बताए । परियोजनाको डिजाइन काठमाडौं विश्वविद्यालयले गर्नेछ । पेट्रोलियम भण्डारण गृह २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्