site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सरस्वती पाध्येसहित २२ जनालाई नइ पुरस्कार

काठमाडौं । नइ प्रकाशनले विभिन्न क्षेत्रका २२ प्रतिभालाई २०७९ सालको नइ पुरस्कार समर्पण गरेको छ । 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईले छ दशकअघिदेखि महिलाहरूको स्वास्थ्य उपचार, स्वास्थ्य सेवा, जागरण र स्वास्थ्य विकासमा निरन्तर समर्पित प्रसूति विशेषज्ञ प्रा.डा.सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिन् । ताम्रपत्र सहित प्रदान गरिएको उक्त पुरस्कारका साथ एक लाख रुपैयाँ नगद राशि प्रदान गरियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रमकी मूख्य व्यक्तित्व डा. पाध्येले नेपाली वाङ्मयको श्रीवृद्धि, नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने भारतीय नेपाली साहित्यकार नव सापकोटालाई दुई लाख रूपैयाँ राशिसहितको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरिन् । 

पुरस्कार समर्पण समारोहमा प्रा.डा. पाध्येले देशविदेशका नौ व्यक्तित्वलाई ताम्रपत्र र जनही एक लाख रूपैयाँ राशिसहितको नइ पुरस्कार समर्पण गरिन् । डा. पाध्येले भारतीय साहित्यकार स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, कुटनीतिज्ञ एवम् चिन्तक डा.भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’, शिक्षाविद् प्रा.जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, खेलकुदका क्षेत्रमा योगदानका लागि मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’, चित्रकारिताका लागि कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, अग्रज पत्रकार हरिहर बिरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, धर्म तथा संस्कृतिमा प्राज्ञिक योगदानका लागि कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’, साहित्यकार श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको क्षेत्रमा योगदान दिने स्याङ्जाका विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिन् । 

त्यस्तै ६० हजार रुपैयाँ नगद राशि सहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ हास्यव्यङ्यकर्मी शैलेन्द्र सिम्खडा, ५० हजार रुपैयाँ राशि सहित ‘नइ बुलु शर्मा पुरस्कार’ झापाकी रीमा पाण्डेलाई र २५ हजार रुपैयाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ मिस नेवा नीतु डङ्गोललाई प्रदान गरियो । 
समारोहमा प्रा.डा.सरस्वती पाध्येले छ जना बाल बालिकालाई दस हजार रुपैयाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिन् । बालबालिकाहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना र खेलकुदतर्फ आहाना कार्कीलाई पुरस्कार प्रदान गरियो ।

त्यस्तै सात हजार रुपैयाँ नगद राशि सहित ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ ऋषिका घिमिरेलाई र पाँच हजार रुपैयाँ राशि सहित ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ चार वर्षीय श्रेस्मी दाहाललाई प्रदान गरियो ।

कार्यक्रममा नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाई, प्रा.डा.सरस्वती पाध्ये, श्रीओम श्रेष्ठ तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बोलेका थिए । 

उक्त अवसरमा शैलेन्द्र सिम्खडाले व्यङ्ग्य कविता वाचन गरे भने पुरस्कृत बालबालिकाहरूले वाध्यबादन तथा नृत्य प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २२:५१
प्रतिक्रिया दिनुहोस्