site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रधानजीको डाइनिङ टेबुल
Sarbottam CementSarbottam Cement

बिहानै प्रधानजीको आदेश आयो । गाउँका तातो रगतका छ–सातजना युवाहरू तात्तिए ।

गण्डकको अधीनमा रहेको नहरको किनारमा रहेका रुखहरूमध्ये सबैभन्दा मोटो रुख ढालियो । प्रधानजी गण्डकको एकदमै महत्त्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो । खासमा उहाँ क्षेत्रमै नाम चलेको सम्माननीय व्यक्ति हुनुहुन्थ्यो ।

उहाँको नाम सरदार अलि भए पनि उहाँलाई सबैले प्रधानजी नै भनेरै बोलाउँथे । प्रधानजीको बुवा मेराज अलि पञ्चायतकालमा प्रधान हुनुहुन्थ्यो । तर, सरदार अलि भने सबैले भन्दा भन्दै प्रधान हुनुभएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सबैले उहाँलाई प्रधान मानेरै उहाँ प्रधान हुनुभएको थियो । उहाँ प्रायः सदरमुकामतिरै बस्नुहुन्थ्यो । कहिलेकाहीँ मात्रै गाउँ आउनुहुन्थ्यो । मैले त एकचोटि पनि देखेको थिइनँ ।

गाउँतिर कहिलेकाहीँ मात्रै आए पनि उहाँको आदेश भने निरन्तर आइरहन्थ्यो । उहाँको आदेश गाउँमा मात्रै नभएर पूरै क्षेत्रमै चल्थ्यो ।

Global Ime bank

प्रधानजीको आदेशानुसार युवाहरूले नहरको रुख ढाले । नहरको बाटो बन्द भयो । चक्काजाम भयो । युवाहरूको काम त्यत्ति नै थियो । खै क–कसको आदेश आउँथ्यो, उनीहरू तात्तिन्थे । हो–हल्ला गर्थे, बन्द गर्थे ।

हाम्रो कामचाहिँ उनीहरूको पछिपछि लाग्ने, हेर्ने र रमाइलो गर्ने थियो । हाम्रो स्कुल बन्द । व्यापारीहरूको व्यापार बन्द । भएका कार्यालय बन्द । सबै नाका बन्द । सबथोक बन्द । बन्दबाहेक सबैसबै बन्द !

त्यस दिन पनि म ती युवाहरूसँगै पछिपछि लागेर नहरको बाटो बन्द गर्न गएको थिएँ । मसँगै मेरै उमेरका दुई–तीनजना अरू साथीहरू पनि थिए । युवाहरूले रुख ढालेपछि खुसी मनाए । नारा लगाए । एकार्कालाई हौसला दिए र आउने गाडीहरू तोडफोड गर्न लाठीभाटा लिएर तयार भए ।

धेरै बेर बसिसक्दा पनि कुनै गाडी आएन । युवाहरूमध्ये दुई–तीनजना खाना खान भनेर घर गए ।

एउटाले विचार गर्यो, ‘रुखको छेउबाट तार तानेर लाने हो भने यहाँ बम सेट गरेको छ भन्ने लागेर मान्छे डराउँछन् र तिनले रुखलाई छुँदैनन् ।’

त्यतिखेरै परबाट एउटा चारपांग्रे गाडी आइरहेको देखियो । सबै सतर्क भए । गाडी नजिकै आएपछि थाहा भयो, त्यो पुलिसको गाडी भन्ने । कसैले केही भनोस्, त्योभन्दा अगाडि नै पुलिसको गाडी झ्याप्पै रोकियो र पुलिसहरू हुत्तिँदै गाडीबाट झरे ।

पुलिसहरू आक्रोशित भई एक्कासि हामीतिर दौडे । तिनीहरूको हेड हुनुपर्छ, जसले ठूलो स्वरमा चिच्याउँदै अर्डर गर्यो, ‘ठोक् ठोक्, सालेहरूलाई ठोक् !’

त्यहाँ भएका बन्दकर्ताजति सबै भाग्न थाले । हेडले अर्डर दिँदा म बाँध टपेर नहरको बीचमा पुगिसकेको थिएँ । नहरमा पानी थिएन । केही मान्छे मभन्दा अगाडि थिए, केही मभन्दा पछाडि । तर, सबै रफ्तारमा थिए ।

पुलिसहरूले बन्दुक मतिर सोझ्याउँदा मैले बन्दुक मात्रै देखेँ । पुलिसहरूको अनुहार देख्नै सकिनँ । मसँग त्यति समय नै भएन । हेडको आवाज सुन्दा ‘अब त पक्कै गोली हान्छ, आज म मर्छु’ भन्ने भइसकेको थियो । तर, भाग्न छोडिनँ ।

‘यदि, आज बाँचे भने अबदेखि कहिले पनि बन्द गर्नेहरूको टोलीमा हिँड्दिनँ’ भन्दै भगवान्सँग प्रार्थना गरेँ । पर खेतमा पुगेपछि मात्रै मन अलि हल्का भयो । बाँचियो भनेर मन ढुक्क भयो ।

परबाट हेर्दा मात्रै थाहा लाग्यो, यिनले हामीलाई तर्साएर भगाए मात्र ! त्यसपछि त ढलेको रुख सारे र आफ्नो बाटो लागे । तथापि, डरले मनलाई निकै अत्याइसकेको थियो ।

अर्को दिन फेरि प्रधानजीको आदेश आयो । फेरि रुख ढालियो । बाटो बन्द भयो । चक्काजाम भयो । म फेरि त्यहाँ पुगेँ । तर, त्यस दिनको माहोल भने एकदम फरक पाएँ । जमात अलि ठूलै थियो, तर केही युवाहरू जमातमा थिएनन् । कुरा सुन्दै गर्दा थाहा लाग्यो, ती युवा गोबरहियाँको चौकीमा गएका छन् भन्ने ।

एकैछिनपछि ती एउटा जीपमा बसेर त्यहीँ आइपुगे । तात्तिएका युवा जीपबाट आक्रोश बोक्दै झरे । तिनले एउटा पुलिसलाई हातमुख बाँधेर ल्याएका थिए । त्यो असई थियो । गोबरहियाँको चौकीको इन्चार्ज अरे !

असई युनिफर्ममै थियो । तर, उसको युनिफर्म भने फर्ममा थिएन । च्यातिएको, मैलिएको, कोतरिएको थियो । असई एकदमै तर्सिएको थियो । ऊ बाँधिएका आफ्ना हातहरूले घरीघरी आफ्नो अनुहार छोप्न खोज्थ्यो, टाउको छोप्न खोज्थ्यो । आफूलाई जोगाउन खोज्थ्यो ।

तर, आक्रोशमा रहेका युवाहरू भने उसलाई पिट्दै, तान्दै, थर्काउँदै ल्याइरहेका थिए । कसैको हातमा चप्पल थियो, कसैको हातमा बेल्ट थियो । कसैको हातमा लाठी । सबैले मौका हेरेर उसलाई पिटिरहेका नै थिए ।

दयनीय अवस्थामा पुगिसकेको असई माफी मागिरहेको थियो । आफूलाई छोडिदिन अनुनय गरिरहेको थियो ।

सुरुमा त युवाहरूको जोस देखेर मभित्र पनि आक्रोश भरिएको थियो । तर, असईको लाचारी देख्नेबित्तिकै मेरो आक्रोश हरायो । असईमाथि दया लागेर आयोे । तर, ती युवाहरूलाई कत्ति पनि दया लागेन ।

‘अबदेखि हाम्रो बाटो रोक्छस् ? हामीलाई बन्द गर्नबाट रोक्छस् ?’ भन्दै असईलाई तिनले पिटिरहेका थिए ।

असईलाई अर्धबेहोसीको अवस्थामा चौकीमा छोडेर आए भन्ने मैले पछि थाहा पाएँ ।

केही दिन गाउँमा सुनसान रह्यो । असईलाई कुटेदेखि कुनै नयाँ काण्ड भएन । रुख ढालिएन । नयाँ आदेश आएन । असईलाई कुट्ने आदेश प्रधानजीले दिनुभएको थियो कि नाइँ, त्यो मलाई थाहा भएन । त्यस विषयमा कसैले चर्चा पनि गरेन ।

यतिखेर माहोल एकदमै शान्त थियो । ती युवाको आक्रोश पनि कम हुन थालेको थियो । साँझ–बिहान यसो गाउँमा डुल्थे । दिउँसोचाहिँ तास खेल्थे ।

एक दिन बिहानै अचानक गाउँमा हल्ला चल्यो । म दौडेर गएँ । ती युवाले फेरि एकजना अधबैँसे मान्छे समातेर ल्याएका रहेछन् । त्यहीँ गाउँका अरू पनि थुप्रै मान्छेको भीड लाग्यो । महिला, पुरुष, केटाकेटी, युवा, वृद्ध सबै ।

समातिएको मानिस व्यापारी रहेछ । ऊ साइकलमा केही सामान लिएर बोर्डरपारिबाट कताकता गोप्य बाटो भएर आएको रहेछ । ऊ अगाडिको गन्तव्यसम्म पुग्न हाम्रो गाउँको बाटो भएरै जानुपर्ने रहेछ ।

ऊ गाउँमा छिर्नेबित्तिकै युवाहरूले समातेछन् । म त्यहाँ पुग्दा तीसँग सोधपुछ भइरहेको थियो ।

‘मेरो घरमा बिहे छ हजुर’ भन्दै त्यो अधबैँसे व्यापारी बिन्ती गर्दै थियो । एकजनाले यति कुरा सुनेपछि जंगिँदै बोल्न थाल्यो, ‘हामीलाई उल्लु बनाएको ? खै, देखाऊ त बिहेको कार्ड !’

व्यापारीले आफ्नो कुर्ताको गोजीमा पट्याएर राखेको बिहेको कार्ड झिकेर युवातिर डराउँदै तेर्स्यायो ।

एउटाले व्यापारीको हातबाट कार्ड टिप्यो र हेर्दै सोधपुछ गर्न थाल्यो, ‘बिहे हुने केटीको नाम ?’

‘संगीता गुप्ता ।’

‘केटीको बुवाको नाम ?’

‘शम्भु गुप्ता ।’

‘तिलक कहिले ? बिहे कहिले ?’

व्यापारी बोल्न हिचकिचायो ।

‘देखिस्, मैले भनेकै थिएँ नि यसले हामीलाई ठगिरा’छ भनेर,’ एउटा केटो जंगियो । ऊसँग अरू पनि जंगिन थाले ।

व्यापारी तर्सियो । थरथर काम्न थाल्यो ।

‘ती पहाडीहरूलाई ख्वाउनको लागि हामीसँग गद्दारी गर्ने ?’ भन्दै एउटा फेरि चर्कियो, ‘ती पहाडीहरूले खान नपाऊन्, खानाबिना मरून् । त्यसपछि मात्रै हामी मधेसीलाई हाम्रो अधिकार दिन्छन् । हामीलाई पनि मान्छेसरह गन्छन् भनेरै हामी यत्रो दिनरात खटेर बन्द र हड्ताल गरिरहेका छौँ । तँचाहिँ उनीहरूलाई ख्वाउन भनेर यसरी मालसामान ओसार्ने ?’

मधेसी, पहाडी, अधिकारजस्ता शब्दको अर्थ त्यतिखेरै थाहा पाएको, बुझेको । त्यो पनि आधाआधी । म मधेसी हो भन्ने थाहा पाएँ । हामीभन्दा बाहेक पहाडी हुन्छन् भन्ने पनि थाहा पाएँ । हाम्रो विभेद र अधिकारको लडाइँ छ भन्ने थाहा पाएँ । अनि, दिनहुँ यत्रो काण्डहरू किन मच्चेको भन्ने कुरा थाहा पाएँ ।

एक युवाले जंगिएर साइकलको ह्यान्डलमा झुन्ड्याएर राखेको झोला खोस्यो । त्यसमा रहेको सुक्खा रातो खुर्सानी झिकेर हुत्याउँदै चारैतिर छरिदियो । अर्कोले अर्कोपट्टिको झोला खोस्यो र अघिजस्तै गरी छरिदियो ।

व्यापारी लाचार भएर हेरी मात्रै रह्यो । केही बोलेन । बोल्नै सकेन । दुई झोला सामान त्यसरी छरिसकेपछि अरू सामान नछर्ने भनेर केहीले रोके ।

त्यसपछि नै मलाई सबैभन्दा आश्चर्य लागेको दृश्य मैले देखेँ । बाटोमा, बाटोछेउको दुबोहरूमा फालिएको, छरिएको त्यो रातो सुक्खा खुर्सानीहरूमा मान्छेले कसरी लुछालुछ गर्न थाले । युवा, महिला, वृद्ध सबैजना । जसले जति पायो त्यति सोहोर्यो, टिप्यो, लुट्यो ।

यो तमासा देखेर पनि व्यापारीले आँखाबाट आँसु झार्न सकेन । तर, भित्रभित्रै ऊ कति रोयो होला, मैले अन्दाज गर्न सकिनँ ।

‘यसको साइकल पनि खोसेर राख्नुपर्छ,’ एउटाले आक्रोशपूर्ण आवाजमा भन्यो । व्यापारीले आफ्नो दुवै हात जोडेर बिन्ती गर्न थाल्यो । अबदेखि यस्तो गलती नदोहोर्याउने वाचा गर्यो । तर, उसको कुरा कसैले सुनिरहेको थिएन ।

युवाहरूले आफैँमा सल्लाह गर्न थाले । त्यति बेलासम्म बाटो र दुबोतिर फ्याँकिएको खुर्सानीको एउटा टुक्रा पनि बाँकी थिएन । सबैले आ–आफ्नो घर पुर्याइसकेका थिए ।

ती युवाले सामान सबै जफत गर्ने र साइकल छोड्दिने निर्णय गरे । व्यापारी त्यहाँबाट निन्याउरो अनुहार लिएर हिँड्यो ।

त्यसको भोलिपल्ट युवाहरूबीच विवाद भयो । जफत गरेको सामान कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कुरो मिलिरहेको थिएन । कसैले मेरोमा राख्ने भन्दा अर्को नमान्ने, कहिले को नमान्ने । सबैलाई चित्त बुझ्ने ठाउँ भएन ।

एउटा ठाउँ मन्दिर थियो, जसमा गेट थिएन । त्यहाँ चोरी हुन्छ भन्ने डर भयो । त्यसपछि पालैपालो एक–एकजनाको घरमा राख्ने सल्लाह भयो । तर, दुईदेखि तीन दिनमै सामानको वजन घट्न थाल्यो । फेरि विवाद सुरु भयो ।

जसले घरमा राख्यो उसले नै चोरी गर्यो भन्ने कुरा उठ्न थाल्यो । यसरी यो विवादको टुंगो लगाउने कनै उपाय नै मिलेन । अन्ततः सबै मिलेर सबै सामान बोकेर गाउँको पूर्वपट्टि रहेको पिरुडा खोलाको किनारमा लिएर गए । उनीहरूको पछिपछि केही केटाकेटीहरू लागे ।

युवाहरूका बीचमा लामो छलफल भयो । तर, कुरो मिल्ने छाँटकाँट देखिएन । त्यसपछि कसैले सबै मालसमान त्यही पिरुडामा बगाइदिने कुरा गर्यो । त्यसको पनि विरोध भयो । विरोध स्वाभाविक थियो ।

एउटाले सामान बेच्ने र पैसा बाँड्ने आइडिया दियो । त्यसको पनि विरोध भयो । त्यसपछि गाउँभरका मान्छेलाई भोज खुवाउने कुरा उठ्यो । यति सामानले पुग्दैन भन्ने कुरा अगाडि आयो । यसरी कुनै पनि आइडियाले काम गरेन ।

त्यसपछि एकले आफूआफूमा भोज गर्ने कुरा निकाल्यो । बाँकी रहेको सामान खोलामा बगाइदिने कुरा गर्यो । यसमा सबै सहमत भए । तर, भोज गर्नका लागि पर्याप्त सरसामान थिएन । त्यसैले सबैले चन्दा उठाए, सय–सय रूपैयाँ ।

केही गाउँ छिरे, भाँडावर्तनको खोजीमा । कोही चुलोको खोजीमा, कोही दाउराको खोजीमा यताउता लागे । यसरी एउटाएउटा जिम्मा लिएर सबैजना एक–डेढ घण्टाभित्र भेला भए ।

भोज भयो । सबैले खाए । पचाए । तर, भोजमा सबै सामान खपत भएन । बाँकी रहेको सामान सबैको सहमतिमा खोलामा बगाइयो ।

भोलिपल्ट गाउँको माहोल अर्कै भयो । प्रधानजी गाउँमा आउनुभएको रहेछ । गाउँभरका मान्छे प्रधानजीको वरिपरि थिए । सितिमिति देखा नपर्ने प्रधानजीलाई हेर्नै पनि धेरै मानिस जम्मा भए ।

प्रधानजी सबैलाई नमस्कार गर्दै अगाडि बढ्नुभयो । उहाँसँग काम गर्ने चिटिक्क परेका केही कार्यकर्ता प्रधानजीको पछाडिपछाडि ‘जय मधेस’को नारा लगाइरहेका थिए ।

गाउँका मान्छे यो देखेर दंग परिरहेका थिए । केही गाउँलेले कार्यकर्तासँगै नारा लगाए । केही पछिपछि हिँडे । यस्तो दृश्य मैले टीभीमा मात्रै देखेको थिएँ । टीभीमा हेर्दा सामान्य लाग्थ्यो, तर आँखाअगाडि नै देख्दा अर्कै महसुस भयो ।

प्रधानजी त्यहाँबाट अर्कोतिर लागेपछि मान्छेमान्छेबीच बहस सुरु भयो । ‘प्रधानजी अचानक किन आउनुभएको होला ?’ यही प्रश्नमाथि दिनभरिजसो चर्चा भयो, गाउँमा ।

साँझ प्रधानजीले युवाहरूको टोलीलाई आफ्नो घरमा बोलाएर भेला गर्नुभयो । लगभग सबै युवा भेला भएपछि प्रधानजीले सबैलाई डाइनिङ टेबुलमा आमन्त्रित गर्नुभयो ।

डाइनिङ टेबुलको स्वरूप र आकार देखेर दुई–चार युवा चकित परे । ठूलो, चिल्लो, सुन्दर, देख्दै लोभ लाग्ने खालको । भान्साबाट थरीथरीका पकवानहरूको बास्ना आइरहेको थियो । चार–पाँचजना मान्छे मिलेर खानेकुरा डाइनिङ टेबुलको एक छेउ सजाएर राख्दै थिए ।

अनेक परिकार, तीन–चारथरीको मासु, माछा, फलफूल, दही, सलाद सबैकुरा लस्करै सजाइयो । सबैभन्दा पहिले प्रधानजीका लागि एउटा थाली सजाएर डाइनिङ टेबुलमा राखियो ।

त्यसपछि प्रधानजीका कार्यकर्ताहरूले पालैपालो प्लेट उठाउँदै, खाना हाल्दै डाइनिङ टेबुलमा बसेर खान थाले ।

प्रधानजीले गाउँका ती युवाहरूलाई इसारा गर्नुभयो । त्यसपछि तिनले पनि पालैपालो खाना पस्के र खान थाले ।

खाने क्रममै प्रधानजीले युवाहरूतिर हेर्दै भन्नुभयो, ‘देवगाउँका शम्भु गुप्ताको सामान खोस्ने को को हो ?’

‘हामी छजना हो, अंकल,’ एकले जवाफ दियो ।

‘अच्छा, तिमीहरूलाई थाहा छ त्यो कति रुपियाँको सामान थियो ?,’ प्रधानजीले अर्को प्रश्न गर्नुभयो ।

प्रश्नले सबैको ध्यान खिच्यो । सबैको कान ठाडो भयो ।

‘लगभग पच्चिस हजार रुपियाँबराबरको मालसमान थियो,’ प्रधानजी बोल्नुभयो । सबै हेरेको हेर्यै भए ।

‘सामान त तिमीहरूसँग छैन, खायौ । पचायौ । पच्चिस हजारले छजनामा भाग लगाउँदा कति हुन्छ थाहा छ ?’

कोही केही बोलेनन् ।

‘चार हजार एक सय छैसट्ठी रुपियाँ छैसट्ठी पैसा । तिमीहरू चार–चार हजार उठाऊ, बाँकी पैसा म आफैँले हालिदिउँला । तिमीहरूले जसको मालसमान पचायौ, त्यो आफ्नै पार्टीको मान्छे हो । स–सम्मान उसलाई त्यो रकम फिर्ता गर्नुपर्छ । ताहिर भाइ, सबैको नाम टिप । दुई दिनभित्र पैसा ल्याएर मलाई बुझाउने ।’

चक्काजाम गर्न भनेर काटिएको नहरको सिसौको रुखले बनेको डाइनिङ टेबुलमा बसेर खाएको थालमा हात चुठ्दै प्रधानजीले फेरि एउटा आदेश दिनुभयो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !