site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आदत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

टाँकलाई बटन भन्छन् क्यारे ! मलाई खोइ किन हो, बटम भन्ने आदत बस्यो ।

यो ह्यारी रोजेनको कोट भन्नु मात्रै हो, बटम खसिरहन्छ । आज यो बटम के खसेथ्यो, मलाई धेरै थोक खसेको याद आयो ।

म याने कि नेत्रलाल भुषाल, पीएचडी । क्यानाडामा छु, लमीको काम गर्छु । योग्यताअनुसारको काम पाइनँ भनेर गुनासो छैन । ‘श्रिंगी ऋषिको रामको जन्ममा योगदान’ विषयमा सोध गरेबापत बनारस हिन्दु विश्वविद्यालयले गुथिदिएको डाक्टर, नामको थाप्लोमा पहिरिने पगरी यता आएर नामको पछाडि घुसार्ने फुर्को भएको छ ।

KFC Island Ad
NIC Asia

घुसारेको छु, हल्लाएकै छु । भएकै छ, पुगेकै छ । कसैले डाक्सा’ब भन्द्योस्, नभन्द्योस्, म आफैँले ‘म डाक्टर नेत्रलाल’ भन्न भ्याएकै छु ।

बटम खस्यो भनेर गन्थन सुरु गरेको, आफैँलाई पो खसालेँ कि क्या हो !

हेर्नुस्, बटम खस्नासाथ सबैभन्दा पहिले तारा खसेको याद आयो । तारा खसेको अब त सात पुगेर आठ लाग्छ यो जेठमा । भर्भराउँदी तारा । कसैलाई नपोल्ने, नबिझाउने, मसँगबाहेक अन्य कोहीसँग बाझेको थाहा छैन ।

मसँग पनि के स्वार्थले बाझेकी हुन् र कठै ! हाम्रै भलाइकै लागि त बाझेकी हुन् नि । सुखदुःख चलेकै थियो, तारा नखसुन्जेलसम्म दुःख धेरै थियो । जब सुखका दिन सुरु भए, ताराको अस्त भो ।

तारा हुन्जेल मेरो बटम खस्नु र गाँसिनुको बीचको समयको फासला तीन मिनेट हुँदो हो । अब सके हप्ता, नत्र महिना, उस्तै परे जुगको फासला हुन थालेको छ ।

तारा उदाउनुअघि मलाई आमाले बटम सिलाएको याद आउँछ र आमाले भनेको पनि— यस्लेर हुने क्यै नाईं मकुन्न (मलाई आमाले मकुन्न भन्नुहुन्थ्यो), पÞmर्कुत्तिन टेलरकाँ पुगा, ग्रिण्टि अर्देला ।

मेरो मातृभाषामा यसो भनेता पनि तपाईंको मातृभाषामा– फक्रुद्दीन टेलरकहाँ लैजा, राम्रो सिलाइदेला भन्ने अर्थ लाग्छ ।

खसेको त बटम मात्र थियो । पहिले तारा खसेको याद आयो । सँगै आँसु पनि आयो । घुँक्क र सुँक्क बीचैमा फेरि आमा खसेको याद आयो । ताराप्रसाद काकाको छोरा त्रिलोचनले ‘आनन्दबाग ठुलीआमा रिप’ भनेर नाकमा रुई कोचेर मुख बाइरहेकी मेरी आमाको फोटो उकालेछ, फेसबुकमा । दोहोर्याएर हेरेँ । रामनामी ओढाएका रहेछन्, तुलसीको मोठ लिपेका रहेछन् । धुपको धुवाँको सिर्को पनि देखिन्थ्यो ।

यकिन गरेँ, हो, आमा खस्नुभएछ । एक रात रोएँ, चौथो दिन रामघाट पुगेँ । आमा हुनुन्थेन । आमाले कुरुन्जेल म जान सकिनँ । म पुगुन्जेल आमालाई रोक्ने आरोग्य भएन ।

घाट पुर्याउनेहरूले कुर्न सकेनन् वा जरुरी ठानेनन्, पोलिसकेछन् । ठिकै गरे भनेर चित्त बुझाएँ ।

‘तौल्ल्या’ भन्नुहुन्थ्यो आमा तौलिहवालाई । ‘तौल्ल्या’जस्तो गर्मी ठाउँ अनि भदौको मास, मकुन्न आइन्जेल कि बरफमा हालेर राख्नुपर्यो कि बाटो खुलाइदिनुपर्यो भनेर नाताकुटुम्बले सल्लाह गरेछन् ।

तेह्रदिने जैसपुर (जगदीशपुरलाई यसो भन्नुहुन्थ्यो आमाले) भाइले दिएछ दागबत्ती । तेह्र दिनको काम सकाईवरी बढनी–गोण्डा–लखनऊ–दिल्ली–टोरोन्टो आइयो ।

यता सुष्मिता मेडमले ‘सुशोभितलाई सकेसम्म नेपाली नत्र इन्डियन भए पनि केटी खोज्नुपर्छ डाक्सा’ब, मंसिरसम्ममा काम सक्नुपर्छ । उता हजुरबा सिकिस्त हुनुहुन्छ रे, बिहे एक वर्ष थुनिन्छ’ भन्नुभएको थियो ।

लमी भागको लोभले फुंगाल्दै आइपुग्नुको विकल्प थिएन, आएँ । त्यसको ६ दिनपछि सुशोभित नै खस्यो ।

हजुरबाको सिकिस्ती काल्पनिक रहेछ, सुशोभित केटामान्छेसँगै बिहे गर्न चाहँदो रहेछ । देवेन्द्र सरलाई त कसोकसो पचेकै बुझियो, मेडमलाई अलि अपाच्य भएछ । त्यसै तानातानमा सुशोभितले आफैँलाई फाँसी चढाएछ ।

मलाई तारा खसेको सुनाएर, आमा खसेको सुनाएर वा सुशोभित खसेको सुनाएर हजुरहरूलाई रुवाउने कत्ति रहर होइन । कर त झनै होइन । तर, जब केही खस्छ नि, मेरा स्मृतिका गालामा विगत चड्काउन आइपुग्छ । रन्थन्याउँछ र मलाई गन्थन गर्न बाध्य बनाउँछ ।

कोही गीत लेख्छन्, कोही कविता लेख्छन् । कोही रक्सी पिउँछन् । म गन्थन गर्छु । विरह सुनाउँछु । फरक यति मात्र हो । आज खसेकै कुरो घुमीघुमी आइरहेछ दिमागमा ।

हाम्री आमाले पÞmर्कुत्तिन भन्नुहुन्थ्यो भनेँ नि अघि, हो ती फक्रुद्दीन टेलर हामी मसिना मट्यांग्राका फकरु चाचा थिए । उनकी एक बेगम थिइन् । उनको नाम सायद नज्मा थियो, तर हाम्रा लागि सिर्फ चाची थिइन् तिनी । उनीहरूबीच बेजोड प्रेम थियो, त्यो झल्किन्थ्यो हरेक बिहान जब हामी स्कुल निस्किन्थ्यौँ ।

त्यति नै खेर चाचाचाची निस्किन्थे अनान्दबागदेखि सिडियो अफिस चोकको यात्रामा साइकिलमा सरर । त्यो पुरानो हिरो साइकिल, अगाडि डन्डीमा बसेकी चाची । सफेद कुर्ता, चार्खाने निलो, हरियो, सेतो नसिलाएको लुंगी, मुसलमान टोपी, तिलचामले कपाल र लामो दाह्री ।

हाम्रा फकरु चाचा र चाचीको विम्ब अझै ताजा छ, सम्झनाका तरेलीमा । सानो सटर थियो उनीहरूको, सिलाइकटाइको काम गर्थे । घर्घर्घर्घर आवाज दिने पाइडलवाला उषाको मिसिन थियो दुइटा । त्यसैमा जीवन सिउँथे उनीहरू, उध्रेको टिपिदिन्थे । फाटेको खिपिदिन्थे । टुटेको गाँसिदिन्थे ।

हुर्किंदै गर्दा हामीले चाचाको दुकानमा धेरैबाजी लुगा छेकाएका थियौँ । दशौँ दसैँ चाचाका पसिना बसाउने लुगा लगाएर मामाघर गएका थियौँ । नयाँ लुगाको बास्ना, त्यसलाई बेरेको अखबारको सर्सराहट अझै कानमा गुन्जिन्छ ।

त्योभन्दा बेसी गुन्जिन्छ, चाचाको पुरानो फिलिप्सको टेपरिकर्डमा घन्किने ‘हम तुम एक कमरे मे बन्द हो...’ गीत । त्यसैसँग गाँसिएर आउँछ अर्को ‘ए चाँद सा रोशन चेहरा...’ गानाको गुञ्जन ।

चाचाको कुप्रिनकुप्रिन खोजेको बैँस र उज्याली चाचीको देदीप्यमान अनुहार सम्झनामा आउँछ । उनीहरूको आफूले बाँचेको जुगभन्दा धेरै अगाडिको प्रीति देख्दा मान्छे जिब्रो काढ्थे । चाचाचाची एउटै प्लेटमा एकै चम्मचले राबडी खान्थे । एकै कप चिया आलोपालो पिउँथे । एउटै स्ट्रले लस्सी पिउँथे ।

साइकिलमा बसेर कैयौँपटक यो युगीन जोडी तौलिहवा–सोहरथगढ ओहोरदोहोर गरेको छ, सिनेमा हेर्न । चाचाचाचीका कोही आफ्ना थिएनन् । जो आफन्त थिए, ती उनीहरूको बेपर्बाह बेपर्दा प्यारलाई सायद तौहिन सम्झन्थे । तर, एउटा कुरा निश्चित थियो, चाचाका लागि चाची थिइन्, चाचीका लागि चाचा ।

‘मुसलमान्नी भएर नि बुर्का लाउन्न त्यो !’ भन्नुहुन्थ्यो मेरी आमा । हो, चाची बेपर्दा हिँड्थिन् । सप्को र सल भने छुट्दैन थियो । तैतै सप्को र सलचैँ छुटाउन्न भन्नुहुन्थ्यो आमा पनि । आमाले तर सप्को र चाचीको दुःखान्त देख्नु, सुन्नु वा भोग्नु परेन ।

चाचासँग सुकी चाराना जम्मा गरेर राखेको केही रकम थियो । त्यसैले एउटा सेकेन्ड ह्यान्ड हिरो होन्डा किनेका थिए रे ! एकबाजी टिकटक बनाएर उकालेका थिए सञ्जालमा, हेरेको थिएँ मैले ।

‘आ चल कि तुझे मैं लेके चलुं...’ बोलको कालजयी गीतमा बनाएका थिए, यो भिडिओ । पानले खाइसकेको दाँत देखाएर चाची सर्माएकी थिइन्, चाचा इत्रिएका थिए । एउटा अपरिवर्तनीय लिवाज थियो त्यहाँ – चाचा लुंगीमा थिए, चाचीको सलको सप्को थियो ।

सायद मैले चाचाचाचीलाई साक्षात् २० वर्षपछि उस्तै प्रेमिल देखेको थिएँ । मैले कमेन्ट पनि लेखेको थिएँ, ‘रबने बनायी जोडी, जुगजुग जियो चाचाचाची’ भनेर ।

मेरो ओठे कमेन्टमा ठूलो शक्ति कसरी हुँदो हो ? अधिकांश अचेल लोकाचारका खातिर लेखिदिन्छन् मान्छे, जसरी खुबै मन परेझैँ ठेँगा देखाउँछन् । आफन्त नै खसेझैँ गरी समवेदना लेखिटोपल्छन् । अल्छेहरू ‘रिप’ लेखेर आधुनिक र व्यस्त देखिन करबल गर्छन् ।

मैले पनि लोकाचारका लागि रबलाई समेत लतारेको होइन भन्ने पुख्ता प्रमाण छ र ? लोकाचारभन्दा बेसी गरेको हूँला र ?

चाची एकबाजी त्यही हिरो होन्डाबाट खसिछन्, त्यही कहिल्यै नछुट्ने सल जन्जिरमा बेरिएर । हो, त्यही एकबाजी खसेकी चाची फेरि कहिल्यै उठिनछन् ।

त्यसपछि करिब दुई साल चाचाका मुकेशका ‘दर्द भरे नग्मे’ वाला टिकटक भिडियो आइरह्यो । लाग्थ्यो, चाचा सिद्धिए, सकिए । अब बौरिन्नन् चाचा ।

तारा खसेपछि, आमा खसेपछि एउटा भाकल गरेको थिएँ, तौलेसर (आमा तौलेश्वर मन्दिरलाई तौलेसर भन्नुहुन्थ्यो)मा ५० किलोको घण्टा चढाउँछु भनेर । आमाको तौल्ल्या पुगेको थिएँ गएको शिवरात्रि छेक, भाकल पूरा गर्न ।

चाचालाई पनि भेट्न गएँ कागजको थुँगामा आधा किलो गुड र एक किलो लोङलता लिएर । ८३ पुगेँ भन्थे फकरु चचा । चाचा बदलिएछन् । बुढ्यौलीले गाँज्नु स्वाभाविक थियो । बाक्लो चस्मा लगाउने भएछन् । कुरा सुनाए ।

बुढाबुढीको कुरा सुन्न मजा आउँछ । ती आफूले बाँचेको युगमा पुग्छन् । भरे खाने ओखती बरु भुल्लान्, आफ्नो विगत भुल्दैनन् । कुरैकुरामा विगतमा विचरण गरेर आए चाचा ।

कुरामै थाहा भो, चाचा साइकिलमै फर्केछन् । टेलरिङ कायम नै थियो । टेपरिकर्ड उही, उषाको मेसिन उही । उही घर्घर, फगत चाची थिइनन् । करिब तीन घण्टा गफियौँ हामी । खेतखलियानका कुरा भए । आँपका मुजुरादेखि यत्रतत्र छरिएका बुद्धका सम्झनाका कुरा भए ।

निकै बल गरेर मैले भुइँतिर हेरेर सोधेँ, ‘चाचा, मैले कहिल्यै तपाईंलाई एक्लो देखिनँ । चाची खस्नुको गम कसरी भुलाउनुभयो ?’

चाचाले आकाश हेरे । आकाश बादलले ढाकेको थियो । बर्सियो । चाचा पनि बर्सिए । ‘हेर नेत्तर, उनी जान्छिन् भन्ने सत्य थियो । म जान्छु भन्ने पनि सत्य हो । फगत यो थाहा थिएन कि को आगे को पिछे जाँदै छ भनेर । सँगै रहँदा जीवन जिइयो बिन्दास । ऊ गएपछिको केही साल दुःख भयो, त्यो त स्वाभाविक जो थियो ।

इँटाको चाङबाट एउटा मात्र इँटा झिकिदेऊ त, पूरै चाङको बैलेँस गडबड भइहाल्छ । तर, विस्तारै सन्तुलन ठिकानमा आउँछ । मेरो जीवनमा नज्मा त्यही एक इँटा थिइन्, मेरो चाङ पूर्ण थियो । उनी खसिन्, सन्तुलन गडबडायो । मुस्किल भयो । लाग्यो कि अब सकियो दुनियाँ । अहँ, सकिएन ! अर्को इँटा घुसेडेर उही पहिलेको दिवार बन्दैन भन्ने पनि बुझेँ । मैले त्यो बेला तिम्री आमा सम्झिएँ । तिम्रो बाबा बित्दा तिमी तीनगो सालको थियौ । उनलाई कति गाह्रो भयो होला ?

तिमीले धेरै पढ्यौ, बिहे गर्यौ । बल्लतल्ल सन्तुलनमा आयो जीवन उनीहरूको भन्ने लाग्दै थियो मलाई, तर तिमीले पनि आमालाई छोडेर गयौ । फेरि सन्तुलन त गडबडायो, तर ठिकानमा आइहाल्यो । कोही हुँदाको एउटा आदत हुन्छ, छुट्दा दुख्छ । तर, फेरि केही समयपछि अर्को आदत बन्छ । प्यार प्यार नै रहिरहन्छ, आदत मात्र थोरै चेन्ज गर्नुपर्छ । नत्र त सधैँ दुःख मात्र आफ्नो हिस्सामा पर्छ ।’

चाचाले भारी कुरो हलुंगो गरी सुनाए । साँझ परिसकेको थियो । बर्सेपछिको आकाश साफ थियो । तारा चम्किएको देखियो ।

खसेको त बटम मात्रै हो, कुराका पुन्तुराहरू एकएक गर्दै खस्दै गए । सँगसँगै आँसु पनि ! यो बटम बलियो गरी गाँस्ने आदत नै लागेन मेरो । हजुरको बटम त खसेको छैन नि ?

(न्यु मार्केट, अन्टेरियो)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro