site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
...त्यसपछि हच्किए देउवा

 

काठमाडौं । नेपाली कांग्रेसले अझै उमेदवारको टुंगो लगाउन सकेको छैन । वैशाख १५ गतेको उपनिर्वाचन लागि उमेदवारको टुंगो लगाउन मंगलबार र बुधबार बसेका दुवै बैठक निष्कर्षविहीन रहे ।

संस्थापन पक्ष र संस्थापन इतर पक्ष फरक–फरक उमेदवारको पक्षमा अडिग रहेपछि उमेदवार चयनको विषय कांग्रेसमा थप पेचिलो बनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष इलाम–२ मा  डम्बर खड्कालाई उमेदवार बनाउनुपर्ने अडानमा छ । तर, संस्थापन इतर पक्ष भेषराज आचार्यको पक्षमा अडिग छ ।

"हामीले भेषराजको पक्षमा मत राखेका छौँ । तर, सभापति देउवाले इलाम सभापतिमा भेषराजलाई डम्बरले जितेको हो । अस्ति चुनावमा हार्‍यो, उपनिर्वाचन टिकट उसले पाउनुपर्छ भन्नुभयो । तर, हामीले ग्राउन्ड र कार्यकताको इच्छाअनुसार टिकट दिऔँ, भूगोलमा भेषराज बलियो छ भनेर तर्क राख्यौँ," बैठकमा सहभागी संस्थापन इतर पक्षका एक नेताले भने ।

आजको संसदीय बोर्डको बैठकमा देउवाले इलाममा खड्का र बझाङमा अभिषेक सिंहलाई टिकट दिन ओपचारिकरूपमै प्रस्ताव ल्याएका थिए । तर, बोर्ड बैठकमा संस्थापन इतर पक्षका नेताहरू एक भएर विपक्षमा उभिएपछि निर्णय हुन सकेन ।

"हामीले विपक्षमा उभिएर आपत्ति जनाएपछि सभापतिज्यू हच्किनुभयो । निर्णय भएन । दुवै पक्षले आफ्नो मत राखेपछि बैठक भोलिलाई सर्‍यो," ती नेताले भने ।

बैठकमा देउवाले इलाम–२ मा खड्काको पक्षमा निर्णय गर्न प्रस्ताव राखेका थिए । जिल्लाबाट प्रदेश हुँदै सात जनाको नाम सिफारिस भए पनि देउवाले पहिलो नम्बरमा सिफारिस आचार्य र तेस्रो नम्बरमा सिफारिस भएका इलाम जिल्ला सभापति खड्काको नाममात्रै प्रस्तुत गरेका थिए ।

तर, देउवाको प्रस्ताव पदाधिकारीहरूले खारेज गरिदिए । बैठकमा सहभागी एक नेताका अनुसार देउवाले खड्का बहालवाला जिल्ला सभापति रहेको र ०७९ को चुनावमा ११४ मतको झिनो मतान्तरले हारेकाले उनलाई नै टिकट दिनुपर्ने तर्क राखेका थिए ।

तर, अरू पदाधिकारीहरूले जिल्ला कार्यसमितिबाटै भएको सिफारिसमा आचार्य १ नम्बर र खड्का तीन नम्बरमा रहेको, जिल्लाबाट आएको रिपोर्टमा आचार्यले जित्ने उल्लेख भएको सहितका कारण देखाएर देउवाको प्रस्ताव खारेज गरेका थिए । सभापतिको प्रस्तावले पार्टीलाई क्षति पुर्‍याउने उनीहरूको तर्क थियो ।

पदाधिकारीका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले दुई जनाको नाममात्रै प्रस्तुत गर्नु नै ठिक नभएको बताएका थिए । उनले जिल्लामा सबै नेताको आआफ्नो भूमिका र योगदान रहेको बताउँदै जिल्लाबाट सिफारिस भएका सबै आकांक्षीको कुरा सुनेर उनीहरूको पनि चित्त बुझाएर निर्णय लिनुपर्ने तर्क राखेका थिए ।

बिहीबारको बैठकमा आकांक्षी उमेदवारलाई राखेर छलफल गर्ने तयारी गरिएको छ । बिहीबार बिहान ९ बजे देउवा निवासमा बोलाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro