काठमाडौं । प्रतिनिधिसभामा ‘बिम्स्टेक बडापत्रको प्रावधानमाथि’ छलफल चलिरहँदा सांसदहरू भने दक्षिण–एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई लिएर भारत र पाकिस्तानको पक्ष–विपक्षमा उभिएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को बडापत्रमाथि छलफल सुरु भएपछि सांसदहरू भारत र पाकिस्तानको पक्ष–विपक्षमा खुलेर देखा परेका हुन् ।
“क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले बिम्स्टेक बल्ल जाग्दै छ, यसलाई हुर्कायौँ भने नेपाललाई फाइदा नै हुन्छ,” सांसद डा. स्वर्णिम वाग्लेले भने, “सार्क जाग्न सकेन, यसको भू–राजनीतिक कारणबारे हामी सबै जानकार छौँ । भारतकै रुचि र सक्रियतामा बीबीआईएन (भुटान, बंगलादेश, इन्डिया र नेपाल) सक्रिय हुन थाल्यो ।”
बिम्स्टेकको बडापत्रमा नेपालको सार्वभौमिकतामा आँच आउने कुनै प्रावधान नभएकाले यसलाई स्वागत गर्नुपर्ने उनले बताए । उनले बिम्स्टेक बीबीआईएनभन्दा अलि बढी विस्तारित क्षेत्रीय संगठन भएको पनि जनाए ।
सांसद रघुजी पन्तले बिम्स्टेकको निर्णायक हैसियतमा भारत रहेको दाबी गरे । बिम्स्टेक बनाउन पनि भारतको निर्णायक ‘इन्ट्रेस्ट’ देखिएको उनले जनाए । भारतले बिम्स्टेकबाट पाकिस्तानलाई बाहिर राखेर आफ्नो भूमिकालाई अगाडि ल्याउने चाहेको उनको बुझाइ छ ।
“पाकिस्तान भएकै कारण सार्कलाई निष्क्रिय बनाइएको छ । नेपाल सार्कको अध्यक्ष छ, सार्कलाई जगाउने काम नेपालले गर्नुपर्छ । सार्कभित्र हाम्रो भूमिका जति बढी हुन सक्छ बिम्स्टेकमा कम हुन सक्छ,” सांसद पन्तले भने ।
बिम्स्टेकमा गएपछि नेपालले के–के फाइदा लियो र सम्मेलनमा भाग लिनेबाहेक के–के पायो भन्ने ठोस कुरा केही नदेखिएको धारणा पन्तले राखे ।
सांसद सीता मिजारले पनि सार्कले अपेक्षाकृतरूपमा काम गर्न नसकेको बताइन् ।
अर्की सांसद सोविता गौतमले बिम्स्टेकले दक्षिणपूर्वी एसियाली देशहरूको संगठन (आसियान) र सार्कलाई जोड्न सक्ने भए पनि सार्क निष्क्रिय भएको बताइन् ।
सांसद प्रदीप यादवले बिम्स्टेक सदस्य सबै राष्ट्रहरूसँग नेपालको राम्रो सम्बन्ध रहेको र कसैसँग पनि कटुता नरहेको जनाए । नेपालको स्वार्थ पूरा गर्न बिम्स्टेकमा जति सहज सार्कमा नभएको दाबी उनको थियो ।
“स्वार्थ पूरा गर्न बिम्स्टेकमा जति सहज छ, सार्कमा थिएन । किनकि जुन मुद्दामा भारत अघि बढ्न चाहन्थ्यो, त्यसमा पाकिस्तान टाङ अड्काउँथ्यो,” सांसद यादवले भने, “नेपालले भारत र बंगलादेशसँग मिलेर कुनै मुद्दामा अघि बढ्न चाहन्थ्यो भने त्यसमा पाकिस्तानले टाङ अड्काउँथ्यो । त्यसैले आर्थिकरूपमा बिम्स्टेक हाम्रा लागि महत्त्वपूर्ण छ ।”
सार्कले नेपाललाई कुनै फाइदा नगरेको उनको दाबी छ । यसैकारण नेपालले बिम्स्टेकलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव सांसद यादवको थियो ।
अर्का सांसद पूर्णबहादुर घर्ती मगरले बिम्स्टेकमा सार्कका पाकिस्तान र अफगानिस्तान छुटेको बताए । उनको भनाइ थियो, “सार्क भारत र पाकिस्तानको विवादका कारण निष्क्रिय भएको छ भन्ने कतिपय आलोचकहरू बिम्स्टेक सार्कको काउन्टरमा भारतको सक्रियतामा बनेको भन्ने गर्छन् ।”
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्ला केही वर्षयता सार्कलाई सक्रिय बनाउन नसकिएको स्वीकारे । सार्कलाई सक्रिय बनाउन अध्यक्षको हैसियतले नेपालले सक्रिय भूमिका निभाउने र प्रयास गर्ने उनले बताए ।
“हामीले चाहँदैमा कुनै संस्था सक्रिय वा निष्क्रिय हुँदैन । तर यसको निष्क्रियता तोड्ने प्रयत्न गर्नेछौँ । बिम्स्टेक सार्कको प्रतिस्थापन होइन र हुन पनि सक्दैन । यो नै नेपालको आधिकारिक धारणा हो,” परराष्ट्रमन्त्री श्रेष्ठले भने ।