– नयाँ र पुराना दलबीचको फरक स्थापना मिति, चुनाव चिह्न र अनुहारमात्र हो, प्रवृत्ति फरक देखिएन ।
– संघीयता र धर्म निरपेक्षतामा धारणा बनाउन नसक्ने रास्वपाबाट देश कसरी बन्ला ?
– हामी निर्णयमा पुगिसकेका छैनौँ तर दल खोल्नुपर्ने हुनसक्छ
– राजनीतिक दल खोल्ने हुँदा बालेनले मसँग र मैले बालेनसँग सल्लाह गर्छौँ ।
– कर्मयोगीहरूको दल बनाउने, इमान्दारलाई सदस्य बनाउने
– देश विदेशीको लगानीले होइन, जनताकोे मेहनत र पसिनाले बन्छ
– माटोसँगको सम्बन्ध तोड्नेले अर्काको संस्कृतिलाई आधुनिकता भन्छ
– आफ्नो संस्कृति मासिएर अर्काको ग्रहणपछि डिफेन्समा भन्ने शब्दलाई आधुनिकता भनिन्छ
– दुनियाँमा आधुनिकता भन्ने केही पनि छैन । हाम्रो संस्कृतिको प्रभाव विस्तार भए त्यही विदेशीको आधुनिकता बन्छ ।
सामाजिक सञ्जालमा चर्चामा रहेका एक जनप्रतिनिधि हुन् हर्क साम्पाङ । धरान उपमहानगरपालिकामा स्वतन्त्र जित हासिल गरेका साम्पाङले कोकाहा खोलाको पानी धरान ल्याउन गरेको जनश्रमदानको चर्चा जहाँतहीँ हुने गर्छ ।
मनमा लागेको कुरा सिधा सामाजिक सञ्जालमार्फत् व्यक्त गरिहाल्ने जनप्रतिनिधिका रुपमा परिचित छन् साम्पाङ । पछिल्लो समय इलामको चुनावी अभियानमा केन्द्रित देखिएका साम्पाङ दुई दिनअघि काठमाडौं आइपुगेका थिए ।
काठमाडौं आएका बेला उनको साम्पाङसँग बाह्रखरीकर्मी रमेश वाग्लेले पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहका कामकारबाहीलगायतका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, साम्पाङसँग गरिएको कुराकानीको सम्पादित अंश–
–काठमाडौं के उद्देश्यका लागि आउनुभएको ?
धरानका जनताका तर्फबाट माग लिएर आएको हुँ । कोसीको पानी ल्याएर धराने जनतालाई खुवाउने र धरानमा विमानस्थल बनाउने मुख्य माग लिएर आएको हुँ । लामो गफ गर्ने त उहाँहरूसँग समय हुँदैन । धराने जनताका समस्या यी हुन् भनेर सुनाउँदैछु ।
एउटा मन्त्रीलाई सुनाएर फर्कियो सरकार परिवर्तन भइहाल्छ ।
अहिलेसम्म उही माग लिएर संघीय सरकारलाई बुझाएको चौथो पटक भइसक्यो । कोसिस गरिराख्नुपर्छ, म निरास हुने मान्छे होइन । पहिलेकै ड्राफ्ट नाममात्र परिवर्तन गरेर बुझाउँदै छु । उहाँहरू पनि सकारात्मक भएर कुरा गर्नुभएको छ ।
–संघीय सरकारबाट तपाईंका अपेक्षा के हुन् ?
जनताको आधारभूत आवश्यकताको सम्बोधन । मैले धरानको खाने पानीलाई विकास भन्न मिल्दैन । हामी जसरी अक्सिजन लिन्छौँ त्यसपछि बाच्नका लागि चाहिने भनेकै पानी हो । हाम्रो शरीर ७० प्रतिशत पानीले बनेको हु्न्छ । खानेपानी भनेको विकास होइन । विकास भनेको ठूलठूला बाटा हुन् । ठूलठूला परियोजना हुन् ।
आधारभूत आवश्यकता सम्बोधन गर्न सक्दैन भने त्यो राज्य फेलियर हो । मैले कोसिस गरिरहेको छु आफ्नो तर्फबाट । उहाँहरूलाई बुझाउने प्रयास जारी राखेको छु । केही प्रगति पनि भएको छ ।
–तपाईंलाई धरानको विकास गर्छु भनेका कारण जनताले चुनाव जिताए । अहिले तपाईं राजनीतिक दल, अन्यत्रका चुनाव सबै कुरामा किन लागि रहनुभएको छ ?
म वास्तवमा एउटा अभियन्ता हुँ । मैले अरुलाई बिन्ति गर्दा गर्दा पनि नभएपछि नगरप्रमुख बन्न खोजेको हो ।
नत्र मलाई नगरप्रमुख बन्न मन थिएन । मैले जनताले पाएको दुःख सास्तीको विषय उठाउँदा उहाँहरू त्यसको सम्बोधन गर्न लाग्नुभएको भए, इमान्दार प्रयास गर्नुभएको भए म आकांक्षी बन्ने नै थिइन । उहाँहरूले गर्नुभएन अब मै त्यहाँ गएर गर्छु भन्ने चेतनाले त्यहाँ पुगेको हुँ ।
अहिले नगरको मात्र चिन्ता लिएको भए हुन्थ्यो किन देशभरको चिन्ता भन्ने जो तपाईंको प्रश्न छ, म यो देश बनोस् भन्ने चाहना राख्ने मान्छे हो । म मेयर भएपछि यो देश बनोस् भन्न नपाउने त होइन होला !
यो देश बनोस् भनेर यति थुप्रै गीतहरु बनाएको छु । मेचीदेखि महाकालीसम्म हामी नेपालीको अवस्था के छ हामीलाई थाहा छँदैछ । यी कुराहरूलाई मैले सरोकारको विषय बनाउँछु । अहिले इलाममा उपचुनाव हुँदैछ । त्यसमा मेरो चासो रहन्छ । म ‘जस्ट’ मेयरमात्र होइन ।
–तपाईं मुख्य चाहिँ के हो, धरान उपमहानगरको प्रमुख कि अभियन्ता ?
म मुख्यतः अभियन्ता हुँ । मेयर त भर्खर भर्खर बनेको, दुई तीन वर्षपछि सकिन्छ । अभियन्ता त आजीवन चलिरहन्छ । सकारात्मक परिवर्तनको पक्षमा म लागि रहन्छु ।
–देश के ले बन्ने रहेछ ?
श्रमले । संविधान र कानुनमा लेखिएको कुराको परिपालना तपाईंले नि गर्नुपर्छ मैले पनि गर्नुपर्छ । यस्तो होइन कि म मेयर हुँ त्यसकारण गर्नु पर्दैन, तपाईंले चाहिँ गर्नुपर्छ । तपाईंलाई चाहिँ लाद्ने मैले मान्नु नपर्ने भन्ने कुराले देश बन्दैन ।
सबै इमान्दार बन्नुपर्यो । प्रधानमन्त्री इमान्दार बन्नुपर्यो । त्यहाँभन्दा तलका मन्त्रीहरूदेखि हामी मेयरसम्म इमान्दार हुनुपर्छ । कर्मचारी, सुरक्षाकर्मी सबै इमान्दार हुनुपर्छ । नागरिक समाज पनि इमानदार हुनुपर्छ । देश त छ महिनामै लाइनमा आइहाल्छ नि !
तर, जसले सक्यो लु्ट्ने, कालो धन थुपार्ने, कसैलाई ठग्न सकिन्छ कि भनेर लाग्ने यस्तो जारी रह्यो भने त देश कसरी बन्छ ? तपाईं बनाउँदै गर्नुहुन्छ, म बिगार्दै जान्छु ।
–राजनीतिक दलहरू, नेताहरूसँग चाहिँ तपाईं किन भिड्नुहुन्छ ?
उहाँहरुसँग वैचारिक लडाइँ हो, अरु केही छैन । सुधारको बाटोमा आउनुपर्छ । सुधारको अपेक्षाबाहेक उहाँहरूसँग मेरो केही छैन । देश बनोस् भनेर उहाँहरूसँग म बहस गर्छु, देश ‘बेटर’ होस् ।
आज २१औं शताब्दीमा हामी के मुद्दामा राजनीति गर्दैछौँ ? खानेपानी छैन, बिजुली बत्ती छैन, हिलाम्य, धुलाम्य बाटोमा हिँड्नुपर्छ, यत्रो प्राकृतिक स्रोत भएको देशको नागरिक हामी भात खानकै लागि विदेशीको ट्वाइलेट धुन जानुपर्छ ।
यो अवस्था कसरी आयो ? यसको विषयमा हामीले तत्काल विमर्श गर्नुपर्दैन ? कसलाई दोष दिने ? मैले पत्रकार ठिक भएन भनेर तपाईंलाई गाली गर्ने कि, तपाईँले मेयर ठिक भएन भनेर मलाई गाली गर्ने कि ?
–तपाईं पनि एउटा अभियन्ता मात्र त होइन नि ! कार्यकारी अधिकारसहितको धरान उपमहानगरको प्रमुख पनि त हो । त्यहाँ विमर्श गरेर एउटा निष्कर्षमा पुगे हुँदैन ?
म विभिन्न भूमिकामा छु । एउटा अभियन्ता हुँ । म श्रमदाता पनि हु्ँ । श्रमदान मेरो अभियान हो । म मेयर पनि हुँ ।
मेरो क्यालेन्डरमा आइतबार, सोमबार, जनमतबार, बुधबार सुधार तथा सफाइबार र श्रमबार छ । मंगलबार छैन । बिहीबार पनि छैन, शुक्रबार र शनिबार पनि छैन । मैले बार नै परिवर्तन गरेको छु ।
जनमतबारको दिन यो देशमा स्थानीय तहमा जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भनेर प्लेकार्ड लिएर उभिन्छु – मंगलबार ।
बिहीबार बाटो, नाला सफा गर्छु । शुक्रबार सुधारबार भन्छु । लागू औषध नखाऊँ, नखुवाऔँ भन्दै माइक लिएर टोलटोलमा जनचेतना फैलाउँछु शुक्रबार । शनिबारलाई श्रमबार भन्छु । बिहान सात बजे निस्किएर श्रमदानको टिसर्ट लगाएर दिनभरी ढुंगा बोक्ने, हलो जोत्ने जे–जे हुन्छ त्यही गर्छु । हजारौं श्रमदातालाई मैले देशभक्तिपूर्ण गीत सुनाउने, कुरा सुनाउने र श्रममा लगाउने दिन शनिबार हो । यसरी चारवटा दिनलाई मैले अभियानमा लगाउने गरेको छु ।
म गायक पनि हुँ । मेरो गीत बजारमा आउँदैन । फेसबुकमा आउँछ, मिलियन्सले हेर्छन्, सुन्छन् । तिनै गीतहरु क–कसले युट्युवतिर पनि हालिदिएको देख्छु त्यसबाट म खुसी नै हुने गरेको छु ।
–बजारमा चाहिँ किन ल्याउनुहुन्न गीत ?
बजारमा चलेन, फेसबुकमा चलेको छ ।
–राष्ट्रिय स्वतन्त्र पार्टीसँग तपाईं पहिला नजिक देखिनुहुन्थ्यो । पछिल्लो समय किन व्यक्तिगत रुपमै उत्रिनुभएको छ –तल्लोस्तरकै शब्द चयन गरेर...
उहाँहरू रणनीतिक हिसाबले मलाई अलोकप्रिय देखाएर आफू लोकप्रिय बन्न खोज्नुहुँदो रहेछ । यसलाई मैले ‘फाइन्ड आउट’ गरेँ । उहाँहरू त्यसरी गइसकेपछि मैले सदाशयता राखिराख्नुपर्ने जरूरी पनि त छैन ।
म त देश र जनतालाई छातीमा राखेर हिँडेको मान्छे । मेरो बाटोमा केही पनि छैन आफ्नो व्यक्तिगत लाभका लागि । त्यसरी हिँडेको मेरो बाटोमा अड्को लगाउने, घेराबन्दी गर्ने दलहरूको अभियान छ धरानमा । त्यसमा रास्वपा पनि सहभागी भएर लेटरप्याडमै सहमति जनाएर मेराविरुद्धको घेराबन्दी जारी राखिएको छ । भनेपछि अरु र उहाँहरूमा खास फरक त देखिएन नि !
–एउटा विज्ञप्तिको कुरा छोडिदिनुस् । राष्ट्रिय राजनीतिमा त केही गर्छु भनेर जनतामा आशा जगाएर आएको पार्टी हो नि रास्वपा, होइन ?
म त उहाँहरू पुराना दल भन्दा केही फरक देख्दिन । फरक के छ तपाईंलाई सोध्छु –के फरक छ, त्यस्तो फरक के देख्नुभएको छ ?
(हाहा..) केही फरक छैन । चुनाव चिह्न र नाम फरक छ । स्थापना मिति फरक छ, देखिने अनुहार फरक छ । पात्र फरक परेको हो, प्रवृत्ति उही छ ।
मेरो यो भनाईले पनि केही त हुन्छ होला नि रास्वपालाई । फेसबुकमा दुईचार जनाले लेख्दैमा हुन्छ र ? ग्रान्डमा त्यसको परीक्षण त हुन्छ होला नि !
–तपाईंले ‘फरक पर्छ’ भनेर इलामको चुनाव लक्षित गर्नुभएको हो ?
हो नि ! इलाममा रास्वपा हार्दैछ । उहाँहरूले जस्तो पात्रलाई अगाडि ल्याउनुभयो –त्यो पनि हारको कारण हो । उमेदवार नै गलत छान्नुभएको छ । उहाँहरू किन पनि हार्दै हुनुुहन्छ भने –इलाममा संघीयता मन पराउने जनता छन् । तर, संघीयताका पक्षमा उहाँहरू देखिनुभएन । उहाँहरू बीचको प्रदेश नै चाहिँदैन भन्ने पक्षमा देखिनुभयो । त्यहाँ त संघीयता मन पराउने मान्छेहरू हुनुहुन्छ ।
त्यहाँ मौलिक संस्कृति संरक्षणका पक्षमा निर्णयक मत छ । धर्म निरपेक्षताका बारेमा रास्वपाको के मत छ ? त्यो आएकै छैन । अर्थतन्त्रको विषयमा त्यो पार्टीको धारणा के हो ? स्वाधिनताका विषयमा के हो ? यति विषयमा धारणा पनि नबनाउने पार्टीले देश बनाउँछ भनेर अब जनताले विश्वास गर्छ ? तपाईं गर्न सक्नुहुन्छ ? ल तपाईं सक्नुहुन्छ भने जनताले पनि विश्वास गर्छ, सक्नुहुन्छ ?
एमसीसीविरुद्ध पूर्वमा अभियान चलाउने अभियन्ता कोही थियो भने म थिएँ । तीन चारपटक गिरफ्तार पर्नेदेखि धेरै कुरा भए । ८५ दिनसम्म मेरो एकल पैदल यात्रा भयो । त्यो विषयमा त्यो पार्टीले के ग¥यो ? उहाँहरू त्यसबेला अभियन्ता बन्नुभयो ।
देशभन्दा ठूलो विकास हो ? देशको स्वाधीनतामा सम्झौता गरेर विकास हुन्छ ? मेरो स्वाभिमानभन्दा ठूलो तपाईंले दिएको दान हुन सक्छ मेरा लागि ? तपाईंको स्वाभिमानभन्दा ठूलो मैले दिने कुनै कुरा हुन सक्छ ? पैसा, पद वा प्रलोभनमा तपाईंको स्वाभिमान किन्न सक्छ कसैले । त्यो कुरामा उहाँहरुमा घोर शंका छ ।
–कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा यी चार दललाई तुलना गर्दा के पाउनु हुन्छ ?
तुलना किन गर्ने मैले, जनतालाई दिउँ न तुलना गर्न । म त यिनीहरूमा केही फरक नै देखिरहेको छैन ।
–उहाँहरुसँग किन यति धेरै नकारात्मक हुनुहुन्छ ?
एउटा पार्किङ शुल्कको मेरो निर्णयविरुद्ध उहाँहरू प्रदेश उठेर कमिटी ब्यानर, झन्डा चुनाव चिह्न राखेर हस्ताक्षर संकलनमा उत्रिनुभयो । उहाँहरूले हस्ताक्षर बुझाउन पनि आउनुभएको थियो, मैले म लिन्न उहाँ पर राख भनिदिएँ (म पनि त घमण्डी नै छु) ।
उहाँहरूको बुझाईको लेवल त्यस्तो छ । विकासका लागि कर उठाउनु हुन्न भन्ने उहाँहरू देश बनाउँछु भन्नुहुन्छ । अनि हामीले पत्याइदिनुपर्ने । उहाँहरूको बुझाइको लेवल त्यस्तो छ ।
–तपाईं यो व्यवस्थालाई मान्नु हुन्न ?
यही व्यवस्थाको मेयर हो म । व्यवस्था नमान्ने भए त उहिल्यै राजीनामा दिएर गइहाल्थेँ नि !
–अनि तपाईंको सरकारी कार्यकक्षमा राष्ट्रपति, प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राखेको किन ?
त्यो त मेरो आन्दोलन हो । प्रधानमन्त्री र राष्ट्रपतिको फोटो अहिले पनि राखेको छैन । जुन दिन धरानको खानेपानीका लागि कोसीको प्रोजेक्टमा ठेक्का लाग्छ, विमानस्थलको बारेमा टुंगो लाग्छ, त्यो दिन राख्छु । त्यो मेरो आन्दोलन हो, म पछिको मेयरले पनि त्यसलाई निरन्तरता दिन्छ ।
धरानलाई कहिल्यै नहेर्ने ? धरानको प्रमुख हुँ म । मेरो प्राथमिकता धरानकै हितमा हुनुपर्छ ।
–किराँतहरूका पुर्खा सुम्निमा पारूहाङको शालिक बनाउने अभियान पनि चलाउँदै हुनुहुन्छ । त्यो अभियान हर्क साम्पाङको हो कि धरानको मेयरको ?
त्यो हर्क साम्पाङको अभियान हो ।
–मेयरले चलाउन मिल्दैनथ्यो त्यो अभियान ?
मेयर नै हर्क साम्पाङ हो ।
–किन नगरपालिकाको कार्यक्रममा परेन ?
हामीले कार्यपालिकाले निर्णय गरेका छौँ । कार्यपालिका सदस्यहरू निर्माण समितिमा सदस्य रहने व्यवस्था गरेका छौँ ।
तर, बजेट किन लगाएनौँ भन्ने प्रश्न होला । हाम्रो राज्य यति गरिब छ, यो कुनै उडन्ते अर्थविदको कुरा सुनेर होइन आफैँले अनुभव गरेको छु ।
ढुकुटीमा पैसा थोरै छ । आवश्यकता यति धेरै छन् । त्यसले गर्दा नगरको पैसा मैले मूर्ति बनाउने, टावर बनाउनेतिर लगाएँ भने नगरबासीका स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता न्युनतम आधारभुत आवश्यकता– जसको प्रत्यक जीवनसँग सम्बन्धित छ, त्यसका लागि पैसोको व्यवस्था कसरी गर्ने ? त्यसकारण यो अभियानमा पैसा नछुट्याएको हुँ ।
मैले श्रमदान सञ्चालन गरेको छु । श्रमदानबाट मात्रै हामीले तीन चारवटा पार्क बनाएका छौँ । जसमा नगरपालिकाको पैसा लगाएका छैनौँ । पैसै छैन त के लगाउनु !
म यति भाग्यमानी छु कि श्रमदानका लागि आह्वान गर्दा हजारौंले साथ दिनुभएको छ । भौतिक, आर्थिक, श्रम सबै उहाँहरूले नै जुटाइदिनुभएको छ । सायद म इमान्दार छु होला ।
मैले गरेको काम अरुले सञ्चालन गरिरहन सक्छजस्तो लाग्दैन । दुई वर्षदेखि गरिरहेको छु । एक दिन एक छिन भए जो कसैले पनि सक्ला । यो दुई वर्षमा श्रमदाता आउने क्रम घटेको छैन ।
–इलामको उपचुनावलाई कसरी हेर्नुभएको छ ?
इलामको चुनाव एउटा अवसर हो । त्यही अवसर दिन यो उपचुनाव आएको हुन सक्छ । टेकेन्द्रसिंह थेगिम एउटा मुद्दा हो । किनभने अरू जित्नु भनेको संसदमा ताली बजाउने एउटा नम्बर थपिनु मात्रै हो । त्यहाँका मानिसहरुको सेन्टिमेन्ट क्याच गरेर इश्यु उठाउनु हुन्छ उहाँले ।
–इलामका उमेदवारबारे छोटो–छोटोमा टिप्पणी गर्न सक्नुहुन्छ ?
टेकेन्द्र सिंह थेगिम्
उहाँ एउटापरिपक्व व्यक्ति हो । त्यहाँको संस्कृतिको विषय उठाउनुभएको । पहिचानको पक्षमा स्पष्ट भएको । इमान्दार व्यक्ति हो ।
मिलन लिम्बु
उहाँ अपरिपक्व, अस्थिर र अवसरको खोजीमा रहेको व्यक्ति । राम्रो अवसर पाउनुभयो भने उहाँ रास्वपा नै छाड्नुहुन्छ ।
सुहाङ नेम्वाङ
म राम्ररी चिन्दिन । फेस हेर्दा उहाँ परिपक्व देख्दिन । उहाँ स्थानीयस्तरमा भिजेको व्यक्ति होइन । यसपालि उहाँ योग्य हुनुहुन्न ।
जीतबहादुर राईबारे मलाई जानकारी नै छैन ।
केन्द्रीय नेताहरुबारे...
रवि लामिछाने
उहाँको बारेमा भन्नुपर्दा उहाँ एउटा असल पत्रकार हुनुहुन्थ्यो । राजनीतिक नेताका रुपमा उहाँको ठोस भिजन छैन । सहज व्यक्ति हो । जसले पनि उहाँलाई प्रयोग गर्न सक्छ । उहाँलाई मेरो सल्लाह छ त्यस्तो अरूको लागि उपयोगी भएर बस्नु हुँदैन ।
पुष्पकमल दाहाल प्रचण्ड
उहाँ चलाख मान्छे । जनताको नजरबाट भन्दा अस्थिर व्यक्ति । मिलन लिम्बु उहाँकै कार्यकर्ता हो क्यारे ! उहाँकै गुण देखिन्छ मिलनमा पनि । अवसरका लागि जे पनि गर्ने – मोरल इथिक्स भन्ने चिज हुन्छ भन्नेसमेत नमान्ने ।
केपी शर्मा ओली
उहाँको बारेमा के टिप्पणी गर्नु र । छुचो हुनुहुन्छ । उहाँलाई मैले प्रत्यक्ष भेटेको छैन, अहिलेसम्म फेस टु फेस भएकै छैन ।
शेरबहादुर देउवा
उहाँलाई मैले अलिक परबाट देखेको थिएँ । एमसीसीको विरोध गर्दा उहाँ महोत्सवमा कार्यक्रममा आउनुभएको थियो । मैले छातीमा झन्डा राखेर विरोध गर्दा पुलिसले मलाई लगिहाले । राम्रोसँग चिन्दिनँ ।
तपाईंले बरू मेरा बारेमा पनि उहाँहरूलाई सोध्दिनुस् नै है ।
–तपाईं राजनीतिक पार्टी खोल्ने अभियानमा पनि हुनुुहुन्छ ?
मेरो अभियानमा उहाँहरूले साथ दिनुभएन भने खोल्छु होला सायद । म मेयर पनि त बन्न भनेर हिँडेको मान्छे होइन । धारामा पानी नआउने, बाटोको खाल्डा नपुरिने, शिक्षामा सुुधार नगर्ने भएर म आएको हो ।
मैले उठाएको कुरा सम्बोधन गरिदिएको भए हर्क साम्पाङको धरानमा जन्म नै हुँदैनथ्यो । अरूबाट हुँदैन भने मैले नै गर्नुपर्छ भन्ने हो । अरूबाट भएन भने सिंहदरबारमै तपाईंले इन्टरभ्यु लिनुपर्ने दिन आउन सक्छ । यो दिन धेरै टाढा छ जस्तो लाग्दैन ।
–पार्टी खोल्दा बालेन शाह र तपाईं सँगै हुनुुहुन्छ ?
उहाँलाई भन्छु । हेरौँ उहाँ आउनुहुन्छ कि आउनुहुन्न ।
–उहाँले खोल्नुभयो भने तपाईं त्यसमै रहनुहोला ?
उहाँ एक्लैले पार्टी खोल्नुहुन्छ होलाजस्तो लाग्दैन । सरसल्लाह त गर्नु हुन्छ होला । मैले पनि एक्लै पार्टी खोल्छु भन्ने त होइन, सरसल्लाह त गर्छु होला नि । हामी सरसल्लाह गर्छौँ ।
–यसअघिका भेटमा सरसल्लाह गर्नुभएको छ ?
सामान्य कुरा भएको छ तर, उहाँबाट ठोस कुरा आएको छैन । उहाँ एकदम कम बोल्नुहुन्छ नि त । म त अभियान चलाएर आएँ, नबोली त अभियान चल्दैन ।
हजारौँ मान्छेलाई श्रमदाता बनाउन नबोली त सम्भव छैन । नत्र को आउँछ हो त्यो भीरमा पाइप तान्न । मैले चलाउने अभियान त नबोली हुँदैन । उहाँ नगरको विकाससहितका काममा मात्र फोकस हुनुहुन्छ ।
तर म इलामको चुनावमा अहिले व्यस्त छु । २१ गते म त्यहाँ जाँदैछु । ठूलो कार्यक्रम गर्दैछु । उहाँ आफ्नै नगरमा व्यस्त हुनुुहन्छ । त्यसकारण उहाँ र ममा फरक छ । उहाँ मजाको मान्छे लाग्छ । उहाँ धेरै बोल्नुहुन्न सुन्नु हुन्छ । क्लासिक मान्छे हुनुहुन्छ उहाँ ।
–तपाईंहरुको पार्टी आउन ०८४ नै कुर्नुपर्छ कि छिट्टै आउँछ ?
आउने भएपछि अगाडि नै आउने हो । अन्तिममा कसले गर्छ ? भोलिपल्ट जाँच छ आज किताब किनेर हुन्छ र ?
–पार्टी गठन नहुन पनि सक्छ ?
नहुने चान्स २० प्रतिशतमात्र छ । ८० प्रतिशत गठन हुन्छ हाम्रो पार्टी । हामी भन्नाले स्वतन्त्रहरूलाई भनिरहेको छु । अरू दलमा लागेकोहरूलाई हामी राख्दैनौँ होला ।
–अहिलेका पार्टी यति धेरै छन्, तपाईंको पार्टी किन चाहियो ?
अहिलेका पार्टीहरु पार्टीजस्ता नै छैनन् । नयाँ भन्नुस् या पुराना । पुलिस फोर्सजस्तो पार्टी भए ।
–रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको पैसा ग्यालेक्सि टेलिभिजनमा लगानी गरेर ठगेको आरोप छ नि ! त्यसलाई कसरी लिनुभएको छ ?
उहाँमाथि लागेका केसमा उहाँले सफाइ पाउनु पर्छ । उहाँमाथि आरोप लागिसकेपछि त्यसबाट सफाइ त पाउनुपर्यो नि ! जीवनभरी नै बोकेर हिँड्नु त भएन । त्यसकारण निष्पक्ष छानबिन हुनुपर्छ उहाँमाथि लागेका आरोपमा ।
ग्यालेक्सी टीभीको लगानी सहकारीकै पैसा हो भनेर पुष्टि हुन्छ भने उहाँले कसुर गर्नुभयो, सजाय पाउनुपर्छ । तर, ग्यालेक्सी टीभीमा गरेको लगानी सहकारीबाटै ल्याएको थियो भन्नेकुरा छानबिनबाट पुष्टि हुनुपर्छ । लगानी भएकै हो भने त त्यसमा संलग्न भएका व्यक्तिमाथि कारवाही हुने कानुन छ होला नि । कानुन लेख्ने ठाउँमा त उहाँहरू नै हुनुहुन्छ ।
कानुनको उल्लंघन भएको छ भने प्रधानमन्त्री, गृहमन्त्री, इभन प्रधानन्यायाधीश भए पनि सजायबाट उन्मुक्ति पाउनु हुँदैन । कानुनतः पाउँदैन ।