site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संवैधानिक निकायका रिक्त पदमा आवेदन खोल्ने संवैधानिक परिषद्को निर्णय 

काठमाडौं । संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका निम्ति दरखास्त आह्वानको तयारी गरिएको छ ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकबाट महालेखापरीक्षकमा सचिव तोयम रायालाई सिफारिस गरिएको छ । बाँकी पदमा आवेदन खोल्ने निर्णय गरिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । महालेखापरीक्षक भने संवैधानिक बाध्यताका कारण आजै सिफारिस गरिएको उनले बताइन् ।

Argakhachi Cement Island Ad

निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक÷एक सदस्य पद रिक्त छ । यी आयोगमा नियुक्ति सिफारिस सहमतिमा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । स्रोतका अनुसार, नेताहरूबीच भागन्डामा सहमति भएको छैन ।

“अब बाँकी रहेका संवैधानिक पदमा नियुक्तिका लागि आवेदन माग्ने निर्णय भएको छ,” परिषद्का सदस्य समेत रहेकी उपसभामुख रानाले बाह्रखरीसित भनिन्, “बाँकी पद समावेशी प्रतिनिधित्व हुने गरी नियुक्ति गर्ने विषय पनि आएका छन् ।”

संवैधानिक आयोगका पदाधिकारी रिक्त हुनुभन्दा एक महिनाअगावै सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । तर, महालेखापरीक्षक पद झन्डै एक वर्ष अर्थात् गएको जेठ ७ गतेदेखि रिक्त छ ।

नेपालको संविधानको धारा २८४ (३) मा भनिएको छ, “संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ ।”

संवैधानिक परिषद्ले भने खाली भएको महिनौँसम्म नियुक्ति सिफारिस नगर्दा ती निकायमा पदाधिकारी रिक्त छन् ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्