site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
वरिष्ठ साहित्यकार परशु प्रधानको योगदानको चर्चा

विराटनगर । नेपाली भाषासाहित्य र राष्ट्रसेवामा वरिष्ठ साहित्यकार परशु प्रधानको योगदान अतुलनीय रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । विराट साहित्य संगमको संयोजनमा शनिबार डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त रूपमा विराटनगरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरूले परशु प्रधानको जति नै चर्चा गरे पनि कमी हुने बताएका हुन् ।

कार्यक्रममा अग्रज साहित्यकार एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले परशु प्रधानले नेपाली भाषासाहित्यमा अतुलनीय योगदान पुर्‍याएको चर्चा गरे । प्रधानले साहित्यका माध्यमबाट शासकको चरित्र, सुशासन, समाज सुधार र लैंगिक समानतालगायत विषय फरक ढंगबाट  प्रस्तुत गरेको उनले उल्लेख गरे । प्रधानले वाणी प्रकाशन स्थापना गरेर विराटनगरलाई साहित्यिक केन्द्र बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले एकतन्त्रीय पञ्चायत शासनकालमा पनि प्रधानले आफ्ना लेखनमार्फत पञ्चायत शासनमा हुने भ्रष्टाचार, नेता र कर्मचारीका प्रवृत्तिलगायत विषयलाई सशक्त रूपमा उठाउनु सामान्य कार्य नभएको टिप्पणी गरे ।

साहित्यकार देवी पन्थीले प्रधानले वाणी प्रकाशन स्थापना गरेर धेरैलाई साहित्यकार बनाएको स्मरण गरे । आफूलाई राष्ट्रियस्तरमै साहित्यकारका रूपमा स्थापित गराउन प्रधानको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले वरिष्ठ साहित्यकार प्रधानलाई आफूले ‘गडफादर’का रूपमा लिने गरेको बताए । उनले आफ्नो साहित्यिक र व्यक्तिगत जीवनमा प्रधानले कहिल्यै तिर्न नसक्ने गुन लगाएको स्मरण गरे ।

सो अवसरमा प्राध्यापक कविराज न्यौपाने, उपभोक्तावादी नेता कृष्णप्रसाद भण्डारी मार्सेली, अग्रज साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल, समाजसेवी बाबुराम न्यौपानेलगायत व्यक्तिले परशु प्रधान कुशल साहित्यकार, सम्पादक, संगठक भएको बताए । उनीहरूले प्रधानका साहित्यिक, प्रशासनिक, पारिवारिक, सामाजिकलगायत फरक–फरक व्यक्तित्वका विषयमा चर्चा गरे । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro