site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कथाको उच्चशिखरमा परशु प्रधान

हुँदैन नभेटुन्जेलसम्म सम्बन्ध कसैसँग । हुँदैन सरोकार पनि कुनै । रहँदैन भेटे पनि अर्थ । हुँदैजान्छ जोडघटाउ सम्पर्कमा आएपछि नै । हँुदैजान्छ हिसाबकिताबमा जोड घटाउ । हुन्छन् सम्बन्ध यस्ता पनि । नजिकै लाग्छ टाढा भएर पनि । भेटिसकेजस्तो लाग्छ भेटै नहुँदा पनि । चिनिसकेजस्तो लाग्छ चिन्दै नचिन्दा पनि । हुन् सबै अनुभव र अनुभूतिका कुरा । हुन् मनका कुरा । हुन् इमान्दारी र आदर्शका कुरा पनि ।

भएको थियो सम्बन्ध त्यस्तै परशु प्रधानसँग । हुनुहुन्थ्यो नभेटेरै चिनेको साहित्यकार । भएको परिचय अक्षरका माध्यमबाट । भोजपुरको उहाँ । ललितपुरको म । टाढा भूगोलले कता हो कता । नजिक भावनाले नजिकिएकाभन्दा बढी । लाग्छ यस्तै मलाई ।

छन् पाठक असङ्ख्य उहाँका सिर्जनाका । भएँ एकजना म पनि । नआउँदै धर्तीमा म । छापिसकेको थियो कथा उहाँको ‘मेरो कोठाको आँखाबाट’ । बनिसकेका थिए अक्षरका चित्रहरु । न फुट्दै मेरा आवाज । जानेदेखि नै पढ्न साहित्यिक अक्षर । परेको थियो गहिरो प्रभाव कथाक्षरको शक्तिले उहाँको ।

भनेको त्यसैले नभेटेरै चिनेको कथाकार परशु दाइ । नदेखेरै श्रध्दा गरेको स्रष्टा । शिरनत गर्दा ठाडो भएजस्तो लाग्छ आफ्नै । गर्दा सम्मान उहाँलाई । लगाएजस्तो लाग्छ माला आप्mनै घाँटीमा ।

बनाएको छ सिर्जनशील भोजपुरको पानीले धेरैलाई । छन् धेरैजना स्रष्टा भोजपुरकै । छन् स्थापित पनि त्यत्तिकै । छन् गतिलो स्थानमा पनि त्यत्तिकै । बनाउनुभएको छ धनी नेपाली कथालाई परशु प्रधानले । रहेछ गज्जब पानी पिखुवाको । बनाएका छन् स्रष्टा एकै घरका पनि धेरैजना ।

लेख्नुभएको छ धेरै परशु प्रधानले । सक्नुभएको होला अक्षरमा नै ड्रमका ड्रम मसी । सक्नुभएको होला लेखेर कति टन कागज । नपाइने हिसाब हो यो कोहीसँग पनि ।

बाँडिनुभएको छ विधाका हिसाबले पनि धेरैमा । कथाको भने बन्नुभएको छ सिङ्गो देश नै । बनाउनुभएको छ बालकथालाई प्रौढ । बनाउनुभएको छ उपन्यासको आफ्नै ठाउँ । गर्नुभएको छ रचनागर्भको उत्खनन् । निबन्ध, समीक्षा, समालोचना । बग्न सक्नुहुन्छ अक्षर भएर जे लेख्दा पनि सजिलै । अधिपत्य भने कथाको नै छ परशु प्रधानको नाममा ।

हो पनि उहाँ नै । कथालाई आधुनिक बनाउने । बलियो बनाउने पनि उहाँ नै । होलान् अरू केही परशु प्रधानहरू पनि । कथाको कीर्तिमान छ उहाँकै । झण्डै तीन सय कथा लेख्नेको । सङ्ग्रहको पनि कीर्तिमान नै ।

पुग्दैन उहाँलाई भनेर कथाकार मात्रै त्यही पनि । हुन्छ कन्जुस्याइँ गरेकोजस्तो । भन्नुपर्छ आख्यानपुरुष नै सिद्धहस्त । हुँदैनन् कथामा उहाँका कथा मात्रै । जीवन त हुन्छ नै । हुन्छ त्यसभित्र ढुकढुकिने ढुकढुकी पनि । गाउँको भए पनि । सहरको भए पनि । गरिबको भए पनि । धनीको भए पनि । छ कथाकला सबैलाई चित्रका रूपमा उतार्नसक्ने । नारी पुरुष जसका भए पनि । हुन्छ शक्ति हृदयमा सुरक्षित बस्नसक्ने ।

छ क्षमता अद्भूत । बनाउन विषयवस्तु । घटना, पात्र र जीवनशैलीमा पनि । विषयअनुसार पात्र । पात्रअनुसारको परिवेश । उतार्नुहुन्छ पीडा, चाहना, गुम्फनलाई सजीव रूपमा । होइन त्यत्तिकै बस्नसक्नुभएकोे मनमनमा परशु प्रधान ।

बनाउनुहुन्छ कथालाई पाठकसँग हुनसम्मको नजिक । पढ्दै जाँदा कथा । बन्दै गएजस्तो हुन्छ आफैं पात्र । हुन्छ अनुभूति भेटेजस्तै पात्रसँग । कुरा गरेजस्तो कानैमा आएर पात्रले । राख्नुहुन्छ सामथ्र्य शक्ति कथामा ।

हुनुहुन्छ थकाइ नमार्ने कथाकार । हुनुहुन्छ निरन्तरयात्री । सुरु गरेपछिको सिर्जनायात्रामा । हुनुभएको छैन विचलित कहिल्यै । जीवनको जस्तै उकालीओरालीमा पनि । ठान्नुहुन्छ धर्म नै लेखन कर्मलाई । नहोलान् धेरै नरोक्ने कलमलाई कहिल्यै । दुःख हुँदा पनि । सुख हुँदा पनि । पदमा हुँदा पनि । पावरमा हुँदा पनि । बैँसमा पनि । बूढ्यौलीमा पनि । 

मार्न दिनुहुन्न थकाइ कलमलाई कहिल्यै । न गर्नुहुन्छ आराम नै । हो परशु प्रधान हुनुको अर्थ पनि यही । हो विशेषता पनि यही । भइसकेको छ सिर्जनाका वर्ष छ दशकको । भएर सधैँ उर्जावान । होइन यो निरन्तरता सामान्य । समर्पण सिर्जनामा साठी वर्षभन्दा बढीको । होइन कुनै किसिमले पनि सामान्य । हो असामान्य र हो महाविशेष नै ।

तपस्याजस्तै ऋषिमुनिको । पढेजस्तै पुराणमा परशु प्रधान । भए होलान् जीवनमा कतिकति विकटयात्रा । भए होलान् कति निकटयात्रा पनि । भए पनि सहज असहजयात्रा । लिनुभएको छैन साथ कहिल्यै विश्रामको । बन्नुभएको छ कथाकार अविश्रान्त ।

बगिरहने पानीजस्तै निरन्तर । साधनाले सिर्जनाको नदीमा । परशुराम श्रेष्ठबाट बन्नुभयो परशु प्रधान । देखेर दार्जिलिङका प्रधानहरू । अझ बढीचाहिँ पारसमणि प्रधान । माघको तीस गते जन्मनुभयो भोजपुरमा । साल थियो दुई हजारको । गर्नुभयो काम सुरुमा राससमा । पुर्याउने समाचार घरघरमा । बन्नुभो लाइब्रेरियन त्यसपछि । महिनाको साढे दुई रुपियाँको तलबमा ।

आउनुभो झापामा तेइस सालमा । भएको थियो देशव्यापी साहित्य सम्मेलन । भयो भेट केदारमान व्यथितसँग । आउनुभो काठमाडौं र खानुभो जागिर साझा प्रकाशनमा । खानुभो सरकारी जागिर भने छब्बीस सालमा । होइन पुगेको परशु दाइका कथा भोजपुर बजारबाट काठमाडौंसम्म मात्र । होइन खरीको बोटनजिकै बनेको, बानेश्वरको घरसम्म मात्र । पुगेको छ हिमाल, पहाड, तराईका घरघरसम्म नै । पुगेको छ विद्यालय, विश्वविद्यालय र पुस्तकालयहरूमा । पुगेको छ सजिलै अक्षर पुग्नसक्ने सबै ठाउँमा । छैन होला नपुगेको कुनै ठाउँ ।

होइन कुरा देशको मात्र । पुग्नुभएको छ परशु दाइ नेपाली पुगेका सयौँ देशमा । पुग्नुभएको छ सम्भावनाभन्दा धेरै टाढा पनि । पुग्नुभएको छ अक्षरै भएर पुग्न सक्नेजतिका मनमनमा ।

हुँदैन सजिलो पस्न पाठकको मनमा । जानेकै हुन्छन् आँखाले देखिने सत्य सबैले । हुन्छन् जीवनका पत्रेचट्टानजस्ता कथाव्यथा । हुन्छन् भोगाइका क्षणहरू नदेखिने गरी । हुँदैन सजिलो नजिकिएर केलाउन पत्रपत्रमा । सक्नुभयो परशु दाइले भने आत्मसात् गराउन अरूलाई । हुनुहुन्छ यसमा पनि जादूगरजस्तै उहाँ ।

सक्नुहुन्छ सहजरूपमा नदेखिने मान्छेका दुःख देखाउन । सक्नुहुन्छ लुकाएरै चाहनालाई देखाउन । सक्नुहुन्छ अभावलाई महसुस गराउन । प्रेमलाई आत्मसात् गराउन । नभनिकन यौनलाई प्रकट गर्न । सक्नुहुन्छ बुन्न कुण्ठालाई सौन्दर्यले । सक्नुहुन्छ सुनाउन हृदयको ढुकढुकी । भने पनि होइन यौन कथाकार मात्रै । छन् कथाहरू सामाजिक र आञ्चलिक पनि । सांस्कृतिक र राजनीतिक पनि ।

हुनुहुन्छ त्यसै पनि नेपाली साहित्यको शिखरमा । साहित्यको इतिहास निमार्णकर्ता पनि । हुनुहुन्छ अभियन्ता पनि कतिपय अभियानका । होइन लेख्नु मात्र ठूलो कुरा । राम्रो लेख्दा मात्र हुन्छ ठूलो काम । होइन विशिष्टता राम्रो लेख्नु मात्र पनि । लेखनीबाट नयाँ कुराको परिचय स्थापित गर्र्दा हुन्छ विशेष । परशु दाइ होइन थरले मात्र प्रधान । हुनुहुन्छ कामले पनि प्रधान नै ।

गर्नुभो प्रयोग सिर्जनामा । शृङ्खलाबद्ध कथा ‘सीताहरू’ बाट । रचनाको गोप्यता भङ्ग गर्नुभयो ‘रचनागर्भ’ बाट । गर्नुभो कथोपन्यास पनि । होइन साहित्यमा मात्र । गर्नुभएको छ विद्रोह व्यवहारमा पनि । गर्नुहुन्छ आँट जेमा पनि । नआउँदै मुलुकी ऐन । गर्नुभो विवाह प्रेम गरेरै उपाध्याय ब्राम्हणकी छोरीसँग । गर्नुभो सामाजिक परिवर्तनको उद्घोष । हुनैसक्दैन काम क्रान्तिकारी योभन्दा बढी ।

गराउनुभो सङ्गठित लेखकहरुलाई सहकारी भावनामा । हुनुभएपछि निवृक्त जागिरबाट बाउन्नमा । बनाउनुभो वाणी प्रकाशन सफल विराटनगरमा । बनिसकेको थियो कुनै समय तीर्थस्थलजस्तै । राजधानीजस्तै लेखककविहरूको । गिज्याएजस्तै हुन्थ्यो सरकारी संस्थाहरूलाई । हुन्थ्यो कार्यक्रम निरन्तर । भइहन्थे प्रकाशन । थिए पुरस्कारहरू पनि त्यत्तिकै ।

बन्नुभएन साहित्य र कथाको मात्र परशु प्रधान । बन्नुभयो नवीन चिन्तक पनि । साहित्यिक सङ्गठक र कुशल व्यवस्थापक पनि । उत्प्रेरक नवपुस्ताका लागि पनि ।

बनाउँछ कीर्तिमान अन्य क्षेत्रमा नयाँ काम र नवीन सोचले । होला कहाँ राखिएको अभिलेख ? कायम गर्नुभएको अभिलेख परशु प्रधानले ? बनेको छ भने विश्व कीर्तिमान सर्वोच्च शिखरमा । भारी बोकेर जानेहरू पनि । हुन्छन् चर्चित शिरमा पुगेपछि सगरमाथाको । हुन्छन् अन्य क्षेत्रमा पनि त्यस्तै । नभएका किन होला साहित्यमा मात्रै ? होइन पक्कै कामै नलाग्ने र कामै नभएकाहरूको मात्र क्षेत्र । होइन फुर्सद भएकाहरू मात्र लाग्ने क्षेत्र पनि । सोचिन्छ भने त्यसरी समाजमा । होइन गरिव चिन्तन मात्र त्यस्तो । हो महागरिव सोच पनि । सुख्खै छैन परिवर्त नगरेर यसलाई ।

भइसकेका छन् साहित्यकार नै देशका प्रधानमन्त्री र मन्त्रीहरू । मूख्यसचिव र सचिवहरू । प्रहरी र सेनाका प्रमुखहरू । न्याय, शिक्षा, स्वास्थ्य, कृषिमा पनि भएका छन् उपल्ला दर्जाकाहरू । छन् त्यत्तिकै उद्योगपति, व्यापारीहरू पनि । राखिँदैन किन चासो मात्र साहित्यमा ? किन नबनेको होला सगरमाथा साहित्यको ? किन नबनेको होला कीर्तिमान साहित्यमा ? किन बन्नसकेको छैन साहित्य अरूका लागि पनि ?

हुन्थ्यो भने होइन परशु प्रधान मात्र । छन् बनिसकेका धेरै परशु प्रधानहरू । चुमेका छन् पाइतालाले कीर्तिका शिखरहरू । कृतिका शिखरहरू पनि । हुन्छन् सबैका लक्ष्य सगरमाथा नै । सिर्जन कर्म र सिर्जन धर्ममा लाग्नेका । हुुँदैन सबैका लागि सम्भव । हुँदैन इच्छा र उद्धेश्यले मात्र । मोडिएका छन् कतिका पाइताला बिचमै । आँटै गरेर गएकाहरू पनि । पुगेका छन् कोहीकोही । होलान् केही माथिसम्म पुगेकाहरू पनि । बनाएका छन् अन्तिम शिविर त्यसैलाई । कम छन् साहित्यशिखर आरोहण गर्नेहरू । पर्नुहुन्छ कममध्येको कममा पनि परशु प्रधान सबैभन्दा अगाडि ।

हुँदैन सजिलो साहित्यको शिखरमा पुग्नलाई पनि । पुगिहाल्दा पनि हुन्छ गाह्रो टिकिरहनलाई । होइन यो क्षेत्र हुने रहरले । हुनसक्ला आवधिक रूपमा धनले र शक्तिले मात्र । पुगेका छन् जोजो अहिलेसम्म । छन् सबै साधनाको प्रतिवद्धताले मात्र । होइन पुग्नुभएको त्यत्तिकै परशु प्रधान पनि । पुर्याएको हो साधना साठी वर्षले । छैन सजिलो बन्नलाई त्यत्तिकै अक्षरको सगरमाथा । बन्न सक्दैनन् परशु प्रधानहरू पनि पटकपटक ।

हुनुहुन्न बेइमान सिर्जनामा । हुनुहुन्न खुराफाती पनि यथार्थमा । बोल्नुहुन्छ त्यही जे लाग्छ उहाँलाई । भन्नुहुन्छ देखिएजस्तै । देख्नुहुन्न फरक अरूले जसरी देखाए पनि । सुनेजस्तै खोजी गर्नुहुन्छ सत्यको । लगाउनुहुन्न पङ्खा अरूका कुरामा । ठान्नुहुन्छ सही भोगिएकोलाई नै । बहकिनुहुन्न अरूले भरेको पूmलबुट्टामा । गर्नुहुन्न कृत्तिमताको कुनै रङमा पनि । फेर्नुहुन्न रूप बादलको आकारजस्तै । भड्किनुहुन्न भ्रममा । हुनुहुन्छ प्रष्ट आप्mनो लागि र अरूका लागि पनि । नगर्ने हुनुभएकैले हो दायाँबायाँको हिसाबकिताबको ।

सक्नुभएजस्तो लाग्दैन रमाउन । गाएर मात्र अरूका भजन । भन्नुहुन्छ त्यसैले देखिएजस्तै गरेर । सुनिएजस्तै र भोगिएजस्तै गरेर । चुक्नुभएजस्तो लाग्दैन इमानमा कहिल्यै । सत्यलाई सत्य भन्न र गलतलाई गलत भन्न । जानुभएकोे छैन त्यही भएर कुनै मण्डलीमा छमछमी नाच्नलाई । चाल्नुभएको छैन अरूको तालमा आप्mना गोडाहरू । थाप्नुभएको छैन आशीर्वाद नबनेको मूर्तिलाई पूजा गरेर । छोड्नुभएको छैन आप्mनो कर्म । गर्नुहुन्छ विश्वास पूरै आप्mनो लेखनमा । हो बनेको त्यसैले आफ्नोपन । हो यही नै परशु प्रधानपन ।

जेजे भने पनि । प्रजातन्त्र, गणतन्त्र । समाजवाद, जनताको वाद । बढेको छैन अगाडि चाकडीवाद र चाकडीतन्त्रभन्दा । घटेको छैन बेइमानी, बदमासी र स्वार्थीपनमा । नगर्नु भएरै होला नमोलेर हात । नगर्नु भएर होला चाकडी र चाप्लुसी । नपुग्नुभएको होला कमलादी भवन । हुनुभएकैले होला स्वाभिमान । चिन्न नसकेको कमलादी पठाउनेहरूले । कस्तो लाज पनि लजाउने कुरा । छैन गरिमा पनि हुनुपर्ने जति । छन् भित्रिनेहरू नारा लगाउनेहरू नै । उचाइ नपुगेर टोपी लगाउनेहरू नै ।

पुग्न दिइएको छैन पस्न ढोकाबाट परशु प्रधानलाई । परशु दाइजस्तै अरू परशु प्रधानहरूलाई पनि । हुँदैन केही नलगाएर कमलादीको कोट । भएका के नै छन् लगाउनेहरू पनि । भएको छ मात्र जागिर । अग्लो छ उचाइ हुनसम्मको परशु प्रधानको । कोटमा ब्याच भिर्नेहरूको भन्दा धेरै धेरैमाथि । माथि छ सिर्जनाको प्रतिष्ठा । बेइमानी हो यो प्राज्ञिक क्षेत्रको । हो बेइजती पनि । आउला नि हिसाबकिताब गर्ने कुनै दिन पनि ।

गरिरहे पनि सम्मान साहित्य र समाजले । अटाउनुुहुन्न किन परशु प्रधान ? अटाउनै पर्ने ठाउँहरूमा पनि । होइन एक्लो उहाँ मात्रै । छन् धेरै अटाउन नसकेकाहरू । बढ्दै गए यस्तै परम्परा । बढ्दै गए परशु प्रधानजस्ता स्वाभिमानी स्रष्टाहरू । देखिएला कस्ता अनुहारहरू भोलि देखिने नेपाली साहित्यको ऐनामा ? 

(रोदनको निबन्धकृति ‘अभिवन्द्य’बाट)
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro