site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारको दाबी एउटा रुसको व्यवहार अर्कै, सम्झौता रद्द गर्दा पनि सुख पाएनन् नेपालीले (भिडियोसहित) 

काठमाडौं । रुसी सेनासँगको करार सम्झौता रद्द गर्ने नेपालीलाई रुसले नेपाल फर्किन दिएको छैन । 

केही दिनअघि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनासँग करार सम्झौता रद्द गर्न रुसले सैद्धान्तिक सहमति जनाएको दाबी गरेका थिए । 

तर व्यवहारमा रुसले करार सम्झौता रद्द गर्ने नेपालीलाई स्वदेश फर्कन नदिएको पाइएको छ ।  रुसी सेनासँगको करार सम्झौता रद्द गरेका ९ जना नेपाली अहिले रुसले कब्जा गरेको युक्रेनी भूमिमा अलपत्र परेका छन् । 

उनीहरु डोनेट्स्क भन्ने स्थानमा रहेका छन् ।  ९ जनामध्ये दुई जनालाई बिहीबार रुसको राजधानी मस्कोतर्फ पठाइएको छ ।  ती दुईजना अहिले सम्पर्कमा नरहेको रुसी सेनामा भर्ती भएका नेपालीको न्याय तथा उद्धारमा आवाज उठाउँदै आएकी कृतु भण्डारीले बताइन् । 

Global Ime bank

“रुसी सेनामा भर्ती भएपछि करार सम्झौता रद्द गरेका ९ जना नेपाली हाम्रो सम्पर्कमा हुनुहुन्छ,” भण्डारीले बाह्रखरीसँग भनिन्, “उहाँहरुले करार सम्झौता रद्द गरेको तीन महिना भइसक्यो, तर उहाँहरु नेपाल फर्कन पाउनु भएको छैन ।”

करार सम्झौता गरेकाहरु लामो समयदेखि रुसद्वारा अतिक्रमित युक्रेनको भूमिमा रहेका छन् ।  तर उनीहरुलाई नेपाल फर्काउने वातावरण रुसी सेनाले नबनाएको पीडितहरुले आफूलाई बताउने गरेको उनले सुनाइन् । 

“करार सम्झौता रद्द गर्नेलाई नेपाल फर्काउनुको सट्टा उल्टो सैनिक अपुग भएको पोष्टहरुमा खटाउने गरेको पीडितहरुले रुँदै बताउने गर्नुहुन्छ,” भण्डारीले बताइन् । 

यही चैत ५ गते परराष्ट्रमन्त्री श्रेष्ठले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा रुसले आफ्नो सेनामा भर्ती भई घर फर्कन चाहने नेपालीहरुको करार सम्झौता रद्ध गर्न सैद्धान्तिक सहमति दिएको दाबी गरेका थिए । 

“रुसी विदेश मन्त्रालयले रुसी सेनामा भर्ना भई घर फर्कन चाहने नेपालीको करार रद्ध गर्ने आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ,” श्रेष्ठले प्रतिनिधिसभा बैठकमा भनेका थिए । 

रुसी सेनासँगको करार सम्झौता रद्द गर्ने ९ जनामध्ये दुई जनासँग मात्र मोबाइल फोन रहेको छ ।  कहिलेकाँही मात्र उनीहरुले इन्टरनेटको सुविधा पाउने गर्छन् । त्यही बेलामा उनीहरुले नेपालमा रहेका परिवार र भण्डारीसँग कुराकानी गर्ने गरेका छन् । 

“करार सम्झैता रद्द गरेका कारण उहाँहरुले सेवा सुविधा पाउनु भएको छैन । बस्ने त रुसले कब्जा गरेको सहरमा रहेको घरमा बस्नु भएको छ तर खानेकुरा आफ्नै पैसाले किन्नु परेको छ,” भण्डारीले सुनाइन् । 

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले जाँगर नचलाएको आरोप भण्डारीको छ । 

रुसको युद्ध भूमिबाट दिनहुँ नेपालीले आफूहरुलाई फिर्ता गर्न सहयोग गरिदिन भन्दै रुँदै फोन गर्ने गरेको तर सरकारलाई सबै जानकारी दिँदा पनि नसुनेझैँ गरेको उनले बताइन् । 

“रुसी सेनामा भर्ती भएका र हाम्रो सम्पर्कमा आएका सबै नेपालीको बारेमा विवरण संकलन गरेर परराष्ट्र मन्त्रालयलाई बुझाएका छौं । उनीहरुलाई फिर्ता ल्याउने विषयमा कुनै प्रगति भएको छैन,” भण्डारीले भनिन् । 

परराष्ट्र मन्त्रालयले पटक पटक रुसी सेनामा भर्ती भएका नेपाललाई फर्काउन आग्रह गरेको छ ।  परराष्ट्रमन्त्री स्तरमा टेलिफोन कुराकानी गर्नेदेखि काठमाडौंमा रहेका रुसी राजदूतलाई बोलाएर सम्म सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाउन आग्रह गरिएको छ । तर रुसले बेवास्ता गर्दै आएको छ । 

“हामीले पटक–पटक अनुरोध गर्दै आएका छौं । रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्ने सम्बन्धमा देखिने गरी प्रगति भएको छैन,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बाह्रखरीसँग भने । 

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्ने विषयमा रुसले हेपाहा प्रवृति देखाएको छ । यसको उदाहरण हो यही चैत ७ गते नेपालका लागि रुसी राजदूत अलेक्सेई ए. नोभिकोभले अर्थमन्त्री वर्षमान पुनलाई दिएको ‘ओठे जवाफ’ । 

अर्थमन्त्री पुनलाई भेट्न मन्त्रालयमा पुगेका रुसी राजदूतले नेपाली फर्काउने विषयमा भनेका थिए, “नेपालले पठाएर, र हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौं ।”

भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले रुसी सेनामा भर्ती भएको दाबी राजदूत नोभिकोभले गरेका थिए ।  राजदूत नोभिकोभले सञ्चार माध्यममा आएका समाचारलाई मात्र आधार बनाएर धारणा नबनाउन अर्थमन्त्रीलाई आग्रह गरेका थिए । 

उल्टो उनले अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने सुझाव दिएका थिए । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १९ जना नेपालीको मृत्यु भइसकेको छ । 

यो संख्या रुसले औपचारिक रुपमा नेपाल सरकारलाई जानकारी दिएकाको मात्र हो । थप १५ जना नेपाली मारिएको आशंकामा केही दिनअघि मात्र रुसले नेपालमा रहेका सम्बन्धित परिवारसँग डीएनए रिपोर्ट मागेको थियो । 

रुसी सेनामा कति नेपाली भर्ती भएका छन् यकिन तथ्याङ्कले रुसले नेपालले दिएको छैन । नेपालले बारम्बार रुसलाई नेपालीको भर्ती रोक्न, भर्ती भएकालाई फिर्ता पठाउन र मृत्यु भएकाको शव पठाउन अनुरोध गरे पनि रुसले यसमा चासो दिएको छैन ।  

रुसी सेनामा भर्ती भएका साढे दुई सयभन्दा बढीका आफन्तले परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा उनीहरुलाई फिर्ता ल्याउन भन्दै निवेदन दिएका छन् । कन्सुलर सेवा नगई रुसी सेनामा भर्ती भएकालाई फिर्ता गरिदिन आवाज उठाउँदै आएका आफन्तहरुको संख्या ६ सयभन्दा बढी रहेको छ । 

पाउरोटी र पानीको भरमा युद्ध मैदानमा 

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा खटिएका नेपालीले पठाएका करिब दुई दर्जन स–साना भिडियो क्लिप कृतु भण्डारीबाट बाह्रखरीले प्राप्त गरेको छ ।  भिडियोहरुमा उनीहरुले युद्धस्थलमा ‘आफूहरु कसरी बाँचिरहका छौँ’ भन्ने देखाएका छन् । 

उनीहरुले सरकारसँग छिटोभन्दा छिटो आफूहरुको उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् ।  भिडियोमा उनीहरुले आफूहरु बस्ने बङ्कर, युद्धले भत्किएका घरहरु, गोलाबारीका दृश्य तथा आवाज देखाएका छन् । भिडियो खिच्ने क्रममा उनीहरु बोलिरहँदा गोली चलेका आवाज सुनिन्छन् । 

“युद्धस्थलबाट उहाँहरु दिनदिनै मलाई छिटो फर्कादिनु पर्यो दिदी भन्दै रुँदै फोन गर्नुहुन्छ, म नाजवाफ हुन्छु,” कृतु भण्डारीले भनिन् । 

भिडियोमा उनीहरुले बिरालो र कुकुरले पनि नखाने पाउरोटी खाएर बस्नु परेको पीडा सुनाएका छन् । कहाँ, कतिबेला, कताबाट बम तथा गोली आउँछ थाहै नहुने भएकोले आफूहरु कहिलेसम्म बाँचिन्छ भन्ने ठेगान नभएको उनीहरुले बताएका छन् । 

“हामीलाई यहाँ खानको लागि गाईको, गोरुको मासु आउँछ । हामी नेपालको मान्छेले गाईलाई पुजा गर्छौं भने यहाँ रातदिन यिनीहरुको खाना नै यही हुन्छ,” भिडियोमा एक जना नेपालीले भनेका छन्, “पिसाब फेर्न जाँदा एक सेकेन्ड मिस्टेक भयो भने पनि ज्यान जान्छ ।” 

रुसी सेनामा भर्ती भएका एक जना नेपालीले सात टुक्रा पाउरोटीको भरमा लगातार सात दिन युक्रेनसँग लड्नुपर्ने अवस्था युद्ध मैदानमा रहेको बताएका छन् ।

फेसबुकमा डायमण्ड सी म्याग्देली नामले चिनिने उनले युक्रेनी सेनाको स्पेशल बटालियन स्तरको बङ्कर पूर्ण नियन्त्रणमा लिन सफल भएको दाबी गर्दै लेखेका छन्, “७ टुक्रा पाउरोटी र एक टुम्लेट पानीको सहारामा लगातार ७ दिनको कठिन लडाइँपछि यसअघि आठौं पटक सम्म आक्रमण गर्दा पनि नियन्त्रणमा लिन नसकिएको युक्रेनी सेनाको स्पेशल वटालियन स्तरको फर्मेशनमा रहेको वङ्कर यसपटक पुर्ण नियन्त्रणमा लिन सफल भईयो ।” 

जापोरिझिया क्षेत्र रक्षाको लागि अत्यन्तै रणनीतिक महत्वको मानिने उक्त बङ्कर युक्रेनले अत्याधुनिक तवरले निर्माण गरेको म्याग्देलीले उल्लेख गरेका छन् । 

उनले युद्धको अनुभव फेसबुकमा सेयर गरेका छन्, “युद्धमा सहभागी सैनिकको कैयन कठिनाई विर्साउने ओखती जित नै रहेछ । यस्ता अनुभुती तमाम छन् तर लेख्ने समयको अभाव छ । फुर्सदमा अवश्य ...”

रुसी सेनामा प्रत्येक पटक लडाइँमा गएर फर्किएपछि सिनियर कमान्डर सवै युनिटमा पुगेर युद्धको अनुभुती, सबल÷दुर्वल पक्ष, दुख÷सुख, व्यक्तिगत समस्यावारे प्रत्यक्ष साक्षात्कार गर्ने प्रचलन रहेको म्याग्देलीले जनाएका छन् ।

“अस्ति लडाइँबाट फर्किएपछि भर्खरै हाम्रो सैन्य इकाई १३६ औं ब्रिगेडका व्रिगेडियर मारिया सर्गेइसँग साक्षात्कार गर्ने अवसर मिल्यो । युद्धका अनुभव र रुसी सेनामा कार्यरत सवै नेपालीको साझा समस्यावारे मुल विषयहरु उठान गरियो । प्रतिक्रिया सकारात्मक छ, बाँकी...,” फेसबुकमा उनले लेखेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu