site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
सात टुक्रा पाउरोटी र एक तुम्लेट पानीको भरमा लगातार सात दिन लडाईं

काठमाडौं । रुसी सेनामा भर्ती भएका एक नेपालीले सात टुक्रा पाउरोटीको भरमा लगातार सात दिन युक्रेनसँग लड्नु पर्ने अवस्था रहेको बताएका छन् । फेसबुकमा डायमण्ड सी म्याग्देली नामले चिनिने उनले युक्रेनी सेनाको स्पेसल बटालियनस्तरको बंकर पूर्ण नियन्त्रणमा लिन सफल भएको दाबी समेत गरेका छन् ।
 
“सात टुक्रा पाउरोटी र एक तुम्लेट पानीको सहारामा लगातार सात दिनको कठिन लडाइँपछि यसअघि आठौँ पटकसम्म आक्रमण गर्दा पनि नियन्त्रणमा लिन नसकिएको युक्रेनी सेनाको स्पेसल वटालियनस्तरको फर्मेसनमा रहेको बंकर यसपटक पूर्ण नियन्त्रणमा लिन सफल भइयो,” पूर्व माओवादी लडाकु म्याग्देलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

जापोरिझिया क्षेत्र रक्षाका लागि अत्यन्तै रणनीतिक महत्वको मानिने उक्त बंकर युक्रेनले अत्याधुनिक तवरले निर्माण गरेको म्याग्देलीले जनाएका छन् । उनले युद्धको अनुभव फेसबुकमा सेयर गरेका छन्, “युद्धमा सहभागी सैनिकको कैयन कठिनाइ विर्साउने ओखती जित नै रहेछ । यस्ता अनुभूति तमाम छन् तर लेख्ने समयको अभाव छ ।”

रुसी सेनामा प्रत्येक पटक लडाइँमा गएर फर्किएपछि सिनियर कमान्डर सवै युनिटमा पुगेर युद्धको अनुभूति, सवल/दुर्वल पक्ष, दुःख/सुख, व्यक्तिगत समस्यावारे प्रत्यक्ष साक्षात्कार गर्ने प्रचलन रहेको म्याग्देलीले जनाएका छन् ।

“अस्ति लडाइँबाट फर्किएपछि भर्खरै हाम्रो सैन्य इकाई १३६ औँ व्रिगेडका व्रिगेडियर मारिया सर्गेइसँग साक्षात्कार गर्ने अवसर मिल्यो । युद्धका अनुभव र रुसी सेनामा कार्यरत सवै नेपालीको साझा समस्याबारे मुल विषय उठान गरियो । प्रतिक्रिया सकारात्मक छ, बाँकी...,” फेसबुकमा उनले लेखेका छन् ।
 
रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १९ नेपालीको मृत्यु भइसकेको छ । थप १५ जना नेपाली मारिएको आशंकामा केही दिनअघि मात्र रुसले नेपालमा रहेका सम्बन्धित परिवारसँग डीएनए रिपोर्ट मागेको थियो । 

रुसी सेनामा कति नेपाली छन् यकिन तथ्यांक रुसले नेपाललाई दिएको छैन । नेपालले बारम्बार रुसलाई नेपालीको भर्ती रोक्न र भर्ती भएकालाई फिर्ता पठाउन तथा मृत्यु भएकाको शव पठाउन अनुरोध गरे पनि रुसले बेवास्ता गर्दै आएको छ । 

रुसी सेनामा भर्ती भएका साढे दुई सयभन्दा बढीका आफन्तले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा उनीहरूलाई फिर्ता ल्याउन भन्दै निवेदन दिएका छन् । कन्सुलर सेवा नगई रुसी सेनामा भर्ती भएकालाई फिर्ता गरिदिन आवाज उठाउँदै आएका आफन्तहरूको संख्या ६ सयभन्दा बढी रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro