site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा कोरोनाका १३ सक्रिय संक्रमित, ‘आत्तिनु पर्दैन’
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा फेरि कोरोना संक्रमण पुष्टि भएको छ । तर, नेपालमा पछिल्ला तीन महिनायता फाट्टफुट्ट कोरोना संक्रमित देखिइरहेकाले नौलो नठान्न र नआत्तिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हाल देशभर कोरोनाका १३ सक्रिय संक्रमित रहेका जानकारी दिए । उनीहरू सबै काठमाडौंमै रहेका उनको भनाइ छ ।

“भारतमा जबदेखि जेएन.१ देखियो, नेपालमा पनि फाट्टफुट्ट संक्रमित देखिइरहेका छन्,” उनले बाह्रखरीसित भने, “यो नियमित केस हो, आउटब्रेक होइन । त्यसैले आत्तिइहाल्नुपर्ने अवस्था छैन ।”

भारतमा डिसेम्बर अन्तिम सातादेखि ओमिक्रोन भेरियन्टको उपप्रजाति जेएन.१ फैलिएको थियो । उनका अनुसार, भारतसँगको सीमा क्षेत्रमा डिसेम्बर अन्तिम सातायता दैनिक चारदेखि १५ जनासम्ममा कोरोना संक्रमण पुष्टि भइरहेको थियो ।

पछिल्लो साता भने काठमाडौंमा १३ सक्रिय संक्रमित भेटिएका हुन् । अरू स्थानमा संक्रमित नरहेका उनले बताए । वृद्धवृद्धा र दीर्घरोगी सधैँ जोखिममा रहने भन्दै उनले सजग रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सुझाव दिए ।

कोरोना संक्रमण पुष्टि भई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका सबै ‘डिस्चार्ज’ भइसकेका र हाल कोही संक्रमित उपचाररत नरहेका अस्पतालका निर्देशक डा. युवनिधि बसौलले जानकारी दिए ।

फ्लु र कोरोना सँगसँगै 
कोरोनाका जस्तै लक्षण भएको इन्फ्लुएन्जा (फ्लु) र कोरोना पछिल्लो समय सँगसँगै देखिएको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

यी दुई संक्रमण सँगसँगै रहेकाले घाँटी दुख्ने, लामो समय रुघाखोकी निको नहुने, ज्वरो, स्वाद, गन्ध हराउने, शरीर दुख्नेजस्ता लक्षण भएका बिरामी अस्पताल पुग्ने गरेका छन् । तर, नेपालमा अहिले देखिएको कोरोना संक्रमण ओमिक्रोनकै उपप्रजाति अर्थात् कमजोर सबभेरियन्ट भएकाले यसले स्वस्थ व्यक्तिलाई सिकिस्त बनाउने सम्भावना निकै कम हुने डा. पुनको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले सातै प्रदेशस्थित जनस्वास्थ्य प्रयोगशाला र देशभरका १५ हब अस्पतालबाट इन्फ्लुएन्जाको विवरण संकलन गरिरहेको छ । एनपीएचएलमा गएको जनवरी १ देखि मार्च १७ सम्म परीक्षण गरिएका दुई हजार ३०९ नमुनामध्ये इन्फ्लुएन्जा पोजिटिभ देखिएको दर २०.२ प्रतिशत थियो । कोरोना पोजिटिभ दर ११.४ प्रतिशत थियो ।

यो अवधिमा इन्फ्लुएन्जा ‘ए’अन्तर्गतको एच वान एन वान पीडीएम ०९ बढी सक्रिय भएको ‘सर्भिलेन्स रिपोर्ट’मा उल्लेख छ ।

एच वान एन वान पीडीएम ०९ र कोरोना सँगसँगै (को इन्फेक्सन) दर भने बढिरहेको तथ्यांकले देखाएको छ । फेब्रुअरी र मार्चमा करिब ७०० नमुना परीक्षण गरिएकामा ३६ मा कोरोना पुष्टि भएको एनपीएचएलअन्तर्गत नेसनल इन्फ्लुएन्जा सेन्टरका युनिट इन्चार्ज लोकबन्धु चौधरीले जानकारी दिए । उनका अनुसार, कोरोना संक्रमणको यो दर ‘आउटब्रेक’ नभई नियमित र स्वाभाविक हो ।

सामान्यतः नेपालमा जुलाई र मार्चमा इन्फ्लुएन्जा एच वान एन वान पीडीएम ०९, इन्फ्लुएन्जा ‘एएच ३’ र इन्फ्लुएन्जा ‘बी’का कारण धेरै व्यक्तिमा संक्रमण हुने गरेको चौधरीको भनाइ छ ।

ज्वरो आउने, रुघाखोकी, सिँगान बग्ने, घाँटी दुख्ने इन्फ्लुएन्जाका आमलक्षण हुन् । इन्फ्लुएन्जाका लक्षण पाँच दिनदेखि दुई सातासम्म देखिन सक्छ । कतिपय बालबालिका, वृद्धवृद्धा र रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई यसले सिकिस्त समेत बनाउने चौधरी बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro