site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमै बदनाम छन् सादा पोसाकमा घुमुवा प्रहरी
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको रातोपुलस्थित एक होटल लुटपाट तथा ठगीमा संलग्न भएको आरोपमा एक प्रहरी हवल्दार नै पक्राउ परे । 

बानेश्वर प्रहरी वृत्तका डीएसपीको प्रत्यक्ष निगरानीमा खटिएका वृत्तका सादा पोसाक ‘घुमुवा’ हवल्दार चक्रबहादुर शाहीसहित दुई व्यक्ति चैत ६ गते पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिनलाई बुधबार पक्राउ गरेको हो । शाहीको समूहले साढे सातलाख रुपैयाँ लुटपाट गरेको खुलेको हो । उनीहरूमाथि काठमाडौं प्रहरीले अनुसन्धान जारी राखेको छ । 

यसरी अपराध नियन्त्रण गर्ने बर्दी लगाएर आफैँ अपराधमा संलग्न शाही पहिलो व्यक्ति भने होइनन् ।  यस्ता प्रकृतिका अन्य थुप्रै उदाहरण छन् । जसले प्रहरी संगठनको साख गिराएको छ । 

प्रहरीप्रतिको आममानिसको धारणासमेत नकारात्मक बनेको छ ।  गतवर्ष जेठ ८ मा काठमाडौं लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकैको एक खाजा–घरमा बसेका पोखरा लेखनाथका एक युवाको साथबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो ।

७÷८ जनाको समूहले लुटपाट गरी भागेका थिए । प्रहरीको अनुसन्धानले लुटपाटमा प्रहरी वृत्त कमलपोखरीमा कार्यरत २ जना प्रहरी संलग्न तथ्य पत्ता लगाएको थियो । गएको वर्षकै साउनमा चिनियाँ नागरिक अपहरणको अरोपमा पक्राउ परेका ६ जनामध्ये दुईजना प्रहरीको संलग्नता खुलेको थियो । 

पक्राउ परेका प्रहरीहरूमा एकजना उच्च अदालत पाटनका न्यायाधीशका पीएसओ समेत रहेका कर्ण गुरुङ र अर्का प्रहरी वृत्त बालाजुका सादा पोेसाकका घुमुवा प्रहरी शिव सुनुवार थिए । उनीहरूले लाजिम्पाटमा फ्ल्याट भाडामा लिँदै बसेका चिनियाँ नागरिकलाई अपहरण गरेर गोंगबुको एक गेस्ट हाउसमा पुर्‍याउँदै फिरौती रकम मागेका थिए । उनको साथमा रहेको ८ लाख रुपैयाँ लुटेका थिए ।

शान्ति सुरक्षाका लागि खटिएका प्रहरी संघीय राजधानीमै अपराधका घटनामा संलग्न भएका यी त केही उदाहरण मात्रै हुन् । राजधानी बाहिरसमेत घुमुवा प्रहरीले तस्करसँगको मिलेमतोदेखि आफैँ आपराधिक गतिविधिमासमेत संलग्न भएका घटनाहरू छन् ।

२०७६ मा काठमाडौंको दरबारमार्गमा कार्यरत प्रहरी हतियारसहित हिरा लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । दरबारमार्ग वृत्तमा कार्यरत असई सुरेन्द्रबहादुर बसेल, प्रहरी जवानहरू वीरबहादुर बस्नेत र हेमाकान्त पुनमगर मकवानपुरको थाहा नगरपालिकाबाट पक्राउ परेका थिए ।

उनीहरूले मकवानपुरको कैलाश गाउँपालिका–५ चौकीटार गोगने बस्ने ७० वर्षीया धनलक्ष्मी गुरुङको हिरा लुटेका थिए । उनीहरू जेलजीवन भोगिरहेका छन् । उनीहरू काठमाडौंमा ड्यूटी सकेर हतियारसहित मकवानपुर पुगेको खुलेको थियो ।

सादा पोसाकमा प्रहरी परिचालन कानुन विपरीत

सादा पोसाकमा खटिने प्रहरी कार्यालयबाहेकका अन्यत्र सादा पोसाकमा खटाउनु परेमा छुट्टै कार्यविधि बनाएर मात्रै खटाउनुपर्ने सर्वोच्च अदालतले आदेश नै दिएको थियो ।

घुमुवा प्रहरी अपराधमा संलग्न भएको ठहरसँगैै सर्वाेच्च अदालतले कुनै घुमुवा प्रहरी परिचालन गर्नुपर्ने देखिएमा कानुन र निर्देशिका बनाएर परिचालन गर्न सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको थियो । सर्वोच्चले काभ्रेमा कार्यरत तत्कालीन प्रहरी जवान रविन चौगुठीले अपराधीसँग मिलेर बुद्धचित्तको मालाका दाना चोरी गरेको ठहर गर्दै सर्वोच्चले त्यस्तो निर्देशनात्मक आदेश जारी हो ।

सर्वाेच्च अदालतको २०८० भदौ ३ फैसला भनिएको छ, ‘‘प्रहरी कानुन र अन्य कुनै कानुनमा घुमुवा वा सुराकी प्रहरीको परिभाषा गरिएको पाइँदैन । अपराध अनुसन्धान र त्यसको वस्तुगत अवस्था बुझ्न घुमुवा वा सुराकीको रुपमा परिचालन गर्नुपर्ने प्रहरीहरू कानुनले परिकल्पना गरेको परिधिभित्र रही परिभाषित रुपमा त्यस्तो कार्यमा संलग्न भएको देखिनुपर्छ ।’’

सादा पोसाकमा खटिने प्रहरीका लागि छुट्टै कार्यविधि बनिनसकेको र खालि छलफलमा रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए ।

‘‘छुट्टै कार्यविधि नै त बनेको छैन । हामी छलफलमा छौँ,’’ डीआईजी ढकालले भने । यद्धपि अधिकांश प्रहरी कार्यालयल प्रमुखले आफैँले कार्यविधि बनाएर सादा पोसाकका प्रहरी परिचान गर्ने गरिएको छ । 

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले भने सादा पोसाकका प्रहरीको भूमिका अत्यन्त जरुरी भए पनि प्रहरी अधिकारीकै कारण बदनाम हुन पुगेको बताए । उनी भन्छन्, ‘‘अपराध अनुसन्धानदेखि सूचना संकलनमा सादा पोसाकका प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ । तर, सञ्चालन गर्ने तरिका उनीहरूलाई कमाण्ड गर्ने प्रहरी अधिकारीमा भर पर्छ ।’’

कमाण्डर राम्रो हुँदा सादापोसाकका प्रहरीले उत्कृष्ठ काम गरेको र कमाण्डरकै कमजोरी हुँदा उनीहरू बदनाम हुने गरेको मल्लको भनाइ छ ।  प्रहरी प्रधान कार्यालयले बनाउने छुट्टै कार्यविधिले देशभरका सादा पोसाकका प्रहरी परिचालन प्रभावकारी नहुने पनि उनको तर्क छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro