पर्यटन व्यवसायमा संलग्न यायावर हुन्, नियात्राकार राजेन्द्रमान डङ्गोल । पर्यटन र साहित्यलाई सँगसँगै अघि बढाउने क्रममा सिर्जनशीलताको परिचयलाई समेत उज्जर बनाएका छन् उनले ।
यात्राका क्रममा देखेभोगेका यावत् अनुभूतिलाई सुन्दर ढंगले प्रस्तुत गरी कुशल रूपमा लिपिबद्ध गर्न सफल देखिन्छन् लेखक । सृष्टि, मनुष्यता, चेतना र विवेकका आधारमा साक्षीभावले आफ्नै जीवनको कर्म र अपकर्मको समीक्षा गर्दै आफ्नो अनुभूतिलाई समाजको हितार्थ प्रस्तुत गर्नका खातिर ‘बादलडाँडा’ नियात्रा कृतिमार्फत प्रस्तुत भएका छन् कृतिकार ।
प्रस्तुत पुस्तकमा समयलाई दृष्टि संवेदनाको घेराबाट नियाल्न र आफ्नै स्वैरकल्पनामा पुनव्र्याख्या गर्न खप्पिस छन् उनी । यात्राका क्रममा प्रकृतिको जीवन्ततालाई भावनात्मक अक्षर भर्न उनका शिल्पी हातहरू प्रवाहित छन् । प्रस्तुत कृतिमा उनी कतै निश्छल भएर नदीसँगै सलल बगेका छन् भने कतै दुःखपीडामा बाँच्न विवश दूरदराजका जनतासँगै रहेका छन् ।
‘बादलडाँडा’ नियात्रासंग्रहमा विशेषतः ६ खण्डमा गरी यात्राका २१ फरक स्वाद र अनुभवलाई रुचिकर रूपमा प्रस्तुत गरिएको छ । जसमध्ये ‘तनहुँमा तन्मयता’अन्तर्गत विभिन्न उपशीर्षकमा चार नियात्रा समेटिएको छ ।
यात्राका क्रममा भेटिएका औषधीय गुणले भरिपूर्ण वनस्पतिका बारेमा प्रसंगानुसारको वर्णनले लेखकमा औषधीय ज्ञान पनि राम्रो रहेको देखिन्छ । नियात्राको स्रोतका लागि नियमित र व्यवस्थित रूपमा दैनिकी लेखन तथा टिपोटले विवरणलाई चुस्त रूपमा प्रस्तुत गर्न सफल छन् ।
कल्पनामा उडान भरेर यथार्थमा सजीव चित्रण गर्न माहिर डङ्गोल कहीँ चराका बारेमा संवेदनशील देखिन्छन् त कतै पर्यावरणका बारेमा । नाग र सर्पका विषयमा आफ्ना धारणाका साथै आकाशदेवीका आस्थाका विषयमा चिन्तनशील देखिन्छन् । यसैक्रममा साँगेफाँट, मानहुँकोट, दमौली बजार रतनपुरडाँडा, मनपाङकोटका बारेमा सुन्दर वर्णनले यात्रा नगरेका मुसाफिरहरूका लागि सचित्र वर्णन गरेजस्तै महसुस हुन्छ । अझ लेखकसँगसँगै यात्रा गरिरहेको अनुभूत गराउँछ ।
सत्यवती पराशर प्रसंगले पौराणिककालीन इतिहासका बारेमा पाठकलाई यथेष्ट ज्ञान दिलाउन सहयोग पुगेको छ भने छाब्दीबाराही उत्पत्तिको प्रसंगले पनि धार्मिक पर्यटनलाई निकै सघाउ पुग्ने देखिन्छ । कृतिमा आन्तरिक उत्पादन र आत्मनिर्भरतामा हरिबिजोग अवस्थालाई प्रकट गरिएको छ । हामीले साग र मूला उत्पादन गरे पनि गुन्द्रुक आयात गर्नुपरेको तितो सत्यलाई चोटिलो रूपमा उजागर गरिएको छ ।
वेदव्यास, पराशर ऋषिको तपोभूमि, छिम्केश्वरी माई, सिद्धबाबा गुफा, डङ्कने डाँडो, तनहुँसुर, बन्दीपुर आदिका बारेमा प्रकृतिप्रेमको प्रशस्त वर्णन ‘सिरिरी छिम्केश्वरी डाँडैमा’ भन्ने प्रसंगमा गरिएको छ ।
नेपालको पहिलो राष्ट्रिय निकुञ्जमा मान्छे हिँडेको देख्ने तर वन्यजन्तु तस्करी भएको नदेख्ने सीसीटीभी क्यामराको निगरानीजस्ता प्रवृत्तिगत अनियमितता, नालायकीपन अनि जवाफदेहीविहीनता उजागर गरिनुले लेखकको राष्ट्रप्रेम झल्किन्छ ।
यस्तै, निकुञ्जभित्र जीपको कर्कश आवाजले दच्किएर भाग्ने क्रममा प्राणको रक्षा गर्न प्राणकै बाजी थाप्नुपर्ने जनावरको बाध्यतालाई लेखकले कारुणिक रूपमा प्रस्तुत गरेका छन् ।
आधुनिकताको प्रकोपले परम्परागत संरचना नष्ट र भ्रष्ट भएको चितवनको सन्दर्भप्रति कारुणिक चिन्ता गरिएको छ । देवीचौर देउरालीको वर्णनलाई भोलिको नगरकोटअन्तर्गत विश्लेषणात्मक रूपमा प्रस्तुत गरिएको छ ।
राज्यले अनावश्यक रूपमा भ्यु टावरमा लगानी गरेर समय र पुँजीको चरम दुरुपयोग गर्नुभन्दा शिक्षा र स्वास्थ्यमा गरेको भए जनतालाई राहत मिल्ने यथार्थतालाई छर्लंग्याएर विकासप्रतिको वस्तुगत सोच प्रस्तुत गरिएको छ ।
‘सुनको छाना’ खण्डअन्तर्गत हिमाल आरोहणका रोचक प्रसंगलाई आस्वादन गराइएको पाइन्छ । गण्डक क्षेत्रका विभिन्न सुरम्य स्थानलाई कलात्मक स्वरूप दिइएको छ ।
बादलडाँडा मार्दी हिमालको यात्राका क्रममा पर्ने सुरम्यताले भरिपूर्ण स्थानलाई चौँरीखर्कको सुस्केराअन्तर्गत विम्बात्मक रूपमा राखिएको छ । कोकार, चौँरीखर्क हुँदै एक्ले देउरालीसम्मको यात्रावर्णनलाई लालित्यपूर्ण रूपमा प्रस्तुत गरिएको छ । काव्यागत भाषाशैलीको समुचित प्रयोग पनि गरिएको पाइन्छ ।
भाषासाहित्य, कला अनि प्रकृति र पर्यटनबारे लेखकले मिठासयुक्त शिल्प पस्किएका छन् । प्रस्तुत कृतिले पाठकलाई कहीँ कतै झर्को नलाग्ने गरी राम्रैसँग तान्न सक्ने ल्याकत राख्दछ ।