site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उहाँ भन्नुहुन्थ्यो– जीवन भ्रम हो !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

आख्यानकार परशु प्रधानको पार्थिव देह आँगनमा थियो । चिरनिद्रामा रहनुभएका उहाँप्रति श्रद्धापुष्प अर्पण गर्दै थिए, साहित्यकार र अरू आगन्तुक ।

पवन आलोक, विधान आचार्य, चेतनाथ कँडेल, किशोर पहाडी, शेखर खरेलसहितका हामी एक छेउमा थियौँ । पवन आलोकले भन्नुभयो, ‘परशु दाइ मेरा लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो । साहित्यमा मेरा गुरु हुनुहुन्थ्यो । अभिभावक हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले आज म साहित्यमा छु ।’

पवन आलोकझैँ अरू पनि थिए, जो आख्यानशिल्पी परशु प्रधानबाट अभिप्रेरित थिए । उहाँकै प्रेरणा र हौसलाले साहित्यमा निरन्तर लागिरहनेहरू अझै छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मेरा मित्र साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले पनि बेलाबेलामा भन्दै आएका छन्, ‘परशु दाइकै प्रेरणाले धेरैले कथा लेख्न थालेका हुन् ।

०००

Royal Enfield Island Ad

निकैपछि मात्र उहाँसँग भेट्ने मौका पाएँ । कथा लेखेर छापिएकै समयमा उहाँजस्ता प्रेरक व्यक्ति भेट्न पाएको भए कथायात्रामा लाग्न सायद मलाई पनि हुटहुटी जाग्थ्यो होला । उहाँले झैँ उत्प्रेरणा दिएर डोर्‍याउने एकजना कोही भइदिए औँला समाएरै भए पनि ताते गर्न सकिन्थ्यो, कथा लेखनमा । उहाँसँग त्यस बेला भेट भएन, न त अरू नै कोही भेटिए ।

मैले लेखेको एउटा सानो आकारको कथा ०४९ साल जेठमा गोरखापत्रको शनिबारीय परिशिष्टाङ्कमा छापियो । छापियो मात्र, अरू खासै केही भएन ! यतातिर कसैको नजर गएन । कसैको दृष्टि नपरेपछि र कसैले नहौस्याएपछि मैले पनि कथा लेख्नतिर ध्यान दिइनँ ।

ठिक त्यसै बेला मैले उत्प्रेरणाका अथाह स्रोत, नेपाली कथासाहित्यका एक मूर्धन्य व्यक्तित्व परशु प्रधानसँग भेट्न पाएको भए, उहाँका टिप्पणी सुन्न पाएको भए सायद केही हुन्थ्यो कि ! नहुन पनि सक्थ्यो ।

उहाँको नजरमा त्यो कथा परेको भए र सानिध्यमा पुग्न सकेको भए मैले पनि मूर्धन्य कथाशिल्पीबाट उत्प्रेरणा पाउने थिएँ होला । माया पाउने थिएँ होला । आफ्नो लेखनलाई माझ्न सक्ने थिएँ होला । यो मेरो तर्कना हो । अनुमान हो ।

कथा लेखे पनि नलेखे पनि अथवा अरू विधामा कलम चलाए पनि उहाँको प्रेरकदृष्टि ममा परिरहन्थ्यो होला ! तर, त्यो सौभाग्य मलाई जुरेन ।

२०४९ जेठमा कथा छापियो, २०६९ मा उहाँसँग मेरो पहिलो भेट भयो । कथा छापिएको करिब २० वर्षपछि । त्यसअघि उहाँसँग कतै भेट भएको सम्झना छैन । पत्रकारिता कर्ममा हिँडिरहे पनि उहाँसँग भेट्न दुई दशकको समय लाग्यो मलाई । यसबीच मैले आफैँले लेखेको कथा ‘हर्के’लाई बिर्सिसकेको थिएँ ।

०००

एक दिन आख्यानशिल्पी परशु प्रधान एउटा कार्यक्रममा भेटिनुभयो । सायद कथाकार गोविन्द गिरी प्रेरणाको कथासंग्रह ‘गन्तव्य गणबहाल’को विमोचन थियो त्यस दिन ।

मनै छुने कथा लेख्ने शब्दशिल्पीलाई अभिवादन गरेँ । आफ्नो परिचय दिएँ । हिमालय टाइम्स दैनिकसँगै तिनताक एउटा एफएम रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन गर्थेँ । रेडियो कुराकानीका निम्ति उहाँसँग अनुमति मागेँ । उहाँले सहज भावमा भन्नुभयो– हुन्छ ।

मोबाइलमा भ्वाइस रेकर्डिङ हुन्थ्यो । मोबाइलमै रेकर्ड गर्ने गरी उहाँसँग कुराकानी थालेँ । रेडियोमा बोलाउँदा समय लाग्ने भएकाले कतिपयसँग प्रायः मोबाइलमै वार्ता रेकर्ड गर्थेँ ।

त्यहीँको एउटा सुनसान कुनामा हामी बस्यौँ । सुरुमा भोजपुरकै प्रसंग चल्यो । भोजपुर उहाँको जन्मथलो । साहित्यिक कर्मको प्रारम्भविन्दु । जीवनका अनेक आरोह–अवरोह व्यहोरेको थातथलो । स्वाभाविक थियो, भोजपुरबारे चर्चा हुनु ।

उहाँले सम्झिनुभयो त्यहाँ बारम्बार हुने साहित्यिक गोष्ठीलाई । १६ वर्षको उमेरमै कविता लेख्न थाल्नुभएका प्रधानले नाम लिनुभयो, मेघराज मञ्जुल, गणेश रसिक, हिरण्य भोजपुरे, शैलेन्द्र साकार, कृष्ण जोशी, प्रदीप नेपालहरूको । सबै एक से एक दिग्गज व्यक्तित्व आ–आफ्नो क्षेत्रका । चेतना र चिन्तनका दृष्टिकोणले ६५/७० वर्षअघि पनि भोजपुरबजार कति अगाडि थियो भन्ने देखाउँथ्यो उहाँको अभिव्यक्तिले ।

त्यस बेला भोजपुर आउजाउ गर्न कठिन थियो होला । धरान, विराटनगर झर्नै साता दिन लाग्थ्यो होला ! तर, स्थानीय युवामा साहित्यिक, सांस्कृतिक जागरण थियो । त्यसैले त कोही साहित्यमा, कोही गीत–संगीतमा चम्किला नक्षत्र भई झुल्किए ।

लेखनको प्रारम्भ कविताबाट गर्नुभएका उहाँले त्यसताका दैनिक २०/२५ मुक्तक लेख्ने गरेको प्रसंग सुनाउनुभएको थियो । एउटा कविताका केही हरफ उहाँले सुनाउनुभयो–
तिमीले छोएर मात्र पुग्दैन मलाई
माया आँखामा आएर बिझाउन पनि सक्छ 
अनि, त्यो लहरझैँ फेरि
किनारामा फर्किन पनि सक्छ ।

सुरुआतमा उहाँले पनि प्रेमभावका कविताहरू नै लेख्नुभयो । युवावयको उक्लँदो उमेरमा प्रेमभावका कविता सिर्जना गरिनु अस्वाभाविक होइन । आज पनि टिनेजमा प्रेम कविता कोर्नेहरू प्रशस्त भेटिन्छन् ।

त्यसपछि उहाँले आख्यानसाहित्यलाई आफ्नो रोडम्याप बनाउनुभयो । एउटा उमेरमा कविता लेखनले गति लिए पनि भोलिका दिनमा आख्यानले नै उचाइ दिनेछ भन्ने सायद उहाँको छैटौँ इन्द्रियले इंगित गर्‍यो । र, भयो पनि त्यस्तै ।

परशु प्रधानले कथा लेख्न थाल्नुभयो । त्यही कथाले उहाँलाई आख्यानशिल्पीका रूपमा स्थापित गर्‍यो । एउटा कुरा निश्चित छ, चिरकाल उहाँका आख्यानले नेपाली भाषासाहित्यका पाठकलाई आफूतिर आकर्षित गरिरहनेछ ।

यहाँ बाह्रखरी कथासँगको एउटा प्रसंग जोड्नु सान्दर्भिक होला । बाह्रखरी कथाको पहिलो संस्करणको थालनीमा थियौँ हामी । कथाकारिता र प्रतियोगिताका विषयमा केही सर्जकसँग भिडियो वार्ता गर्दै थियौँ ।

यसैक्रममा हामी आख्यानकार प्रधानको घरमा पुग्यौँ । दुईचार मिनेट कुरा भयो । उहाँले कथा प्रतियोगितामा भाग लिएर पुरस्कृत भएकै कारण आफू भोजपुरबाट काठमाडौं आएको, राजधानी आएर सरकारी जागिर खाएको बताउनुभयो । उहाँले कवि साहित्यकार केदारमान व्यथितको हौसला र प्रेरणाले आफू आजको अवस्थासम्म आइपुगेको सगर्व सुनाउनुभयो । अग्रजको उत्प्रेरणाले सर्जकलाई अगाडि बढ्न कतिको सहज हुन्छ भन्ने यसैबाट थाहा हुन्छ ।

यतिखेर म सोचिरहेको छु– मैले समयमा नै उहाँलाई किन भेटिनँ, उहाँको सानिध्यमा किन गइनँ !

०००

रेडियोका निम्ति वार्ता गर्ने क्रममा केही विषय उठान गरियो । मैले जीवन के हो भनेर जान्न चाहेँ, किनभने उहाँका कथामा आममानिसको जीवन कोरिएको छ । कतिपय कथा पढ्दा त मेरो पिताजीले भोगेका सन्दर्भ सम्झेको थिएँ । अर्थात्, आममानिसको जीवनकथा उहाँका कथामा भेटिन्छ ।

त्यस बेला उहाँले स्पष्ट भन्नुभएको थियो, ‘जीवन भ्रम हो । हामी भ्रममा बाँचिरहेका छौँ । केही राम्रो गरिएको छ भने पछिसम्म केही रहला पनि । हैन भने सारा जिन्दगी भ्रम मात्रै त हो ! मलाई लाग्छ, कसैले पनि यो भ्रम तोड्न सक्दैन ।

जीवनप्रतिको उहाँको दार्शनिक दृष्टिकोण सुनेर मौन भएको थिएँ । जीवन, जगत्, समाज र संवेदनाले भरिएका उहाँका कथाले आममानिसलाई कसरी आफूतिर तान्छ भन्ने सोचिरहेको थिएँ म ।

त्यसपछि सोधेँ, ‘साहित्यमा पनि भ्रम छ ?’ उहाँले भन्नुभएको थियो, ‘साहित्यमा पनि भ्रम छ । साहित्यमा विम्ब, मिथकहरू धेरै छन् । कथाहरू त अहिले बुझ्न गाह्रो हुँदै गइरहेको छ ।’

‘यो क्लिष्टता किन त ?’ सबैलाई सधैँ ऊर्जा दिने आख्यानशिल्पी प्रधानले भन्नुभएको थियो, ‘अहिलेको समयको माग हो यो । समयले त्यही मागिरहेको छ । अर्को कुरा, अहिलेको जिन्दगी नै क्लिष्ट हुँदै गइरहेको छ । जिन्दगी गहिरो हुँदै गइरहेको छ । अब त जुन लेखकलाई जनताले मन पराए, ती माथि उक्लिए । जसलाई मन पराइएन, तिनको कुरै भएन । त्यसैले आजको समयमा सिर्जना र कृति दुवै राम्रो हुनुपर्छ, किनभने आजको युग बौद्धिक पनि छ । जटिल पनि छ ।’

त्यस दिन धेरै लामो वार्ता गरिएन । यस्तै १५/२० मिनेटजति कुराकानी भएको थियो ।

त्यसपछि उहाँसँग एकदुई कार्यक्रममा भेट भए पनि खासै कुराकानी भएन । पछि छोटो कुराकानी भयो, त्यही बाह्रखरी कथाको सिलसिलामा । उप्रान्त कुराकानीको अवसर जुरेन ।

मलाई लाग्छ, आख्यानकार परशु प्रधानसँग कुराकानी गर्न गाह्रो छैन । उहाँका कथाभित्र पस्ने हो भने ठाउँठाउँमा उहाँसँग संवाद गरिरहेको अनुभूति गर्न सकिन्छ ।

‘जीवन भ्रम हो’ भन्नुहुन्थ्यो प्रयोगधर्मी कथाशिल्पी प्रधान । जीवन भ्रम होला, सत्य के हो भने परशु प्रधानका अनगिन्ती कथाहरूमा हामीले जहिल्यै उहाँलाई पाउन सक्छौँ । उहाँले कोर्नुभएका अक्षर र शब्दहरू पढेर उहाँसँगको निकटता महसुस गर्न सक्छौँ । अर्थात्, जीवन भ्रम भए पनि साहित्यमा उहाँ युगयुगान्तर अमर रहनुहुनेछ, सत्य यही हो । हार्दिक श्रद्धासुमन आख्यानशिल्पी परशु प्रधानप्रति ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro