काठमाडौं । बैंक तथा वित्तीय संस्थाको आम्दानीको मुख्य स्रोत ब्याज हो । वित्तीय संस्थाले प्रवाह गरेको ऋणबाट ब्याज जति धेरै संकलन हुन्छ, त्यति नै फाइदा र नाफामा गणना हुन्छ ।
तर, कतिपय ऋणको ब्याज मात्र होइन, साँवा नै उठाउन सक्दैनन् बैंक तथा वित्तीय संस्था । साँवाब्याज संकलन नहुँदा वित्तीय संस्था समस्यामा पर्ने गर्छन् । ऋण र त्यसको ब्याज संकलन नहुँदा बैंकले कमाएको नाफा समेत प्रभावित हुन्छ ।
बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको रकम निक्षेपका रूपमा जम्मा गरेर ऋण प्रवाह गरी त्यसबाट नाफा कमाउने गर्छन् । बैंकका सञ्चालकको पैसा ऋणका रूपमा लगानी गरिँदैन । निक्षेपकर्ताको बचत कर्जाका रूपमा लगानी गर्दा उठाउन नसके सर्वसाधारणको पैसा फस्ने गर्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, गएको आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले ६१ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । ५० खर्ब ८० अर्ब रुपैयाँँ ऋण दिएका छन् । यो नेपालको बैंकिङ इतिहासमा हालसम्मको विवरण हो ।
बैंकिङ व्यवसाय विश्वासमा चल्छ । सर्वसाधारणले बैंकमा सुरक्षित हुन्छ भनेर निक्षेप राख्ने गर्छन् । तर, त्यसरी पैसा फसे समग्र अर्थतन्त्रमा नै असर पर्न जान्छ । अहिले बैंकबाट प्रवाह भएको कुल कर्जाको ३.७ प्रतिशत रकम खराब कर्जामा गणना भएको छ । यो तथ्यांक गएको पुस मसान्तसम्मको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी यो ‘ग्रस एनपीएल’ भएको बताउँछन् । कोरोनापछि बैंकको कराब कर्जा बढ्दै गएको उनको भनाइ छ ।
तर, दक्षिण एसियामा नेपालको नेट खराब कर्जा (एनपीएल) कम नै रहेको उनी बताउँछन् । बैंकर सजग भएर यसको ‘रिकभरी’तर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।
“आजको दिनमा सबै बैंकको एभरेजमा ग्रस एनपीएल ३.७ प्रतिशत छ । यो कोभिडअगाडि १ प्रतिशतको हाराहारीमा थियो,” केसीले बाह्रखरीसित भने, “साउथ एसियाका देशहरूमा हेर्ने हो भने हाम्रो एनपीएल कम नै छ । नेट एनपीएल भने १ प्रतिशतको हाराहारीमा छ ।”
व्यापार–व्यवसाय सुस्त हुँदा बैंकहरूको एनपीएल बढ्दै गएको उनको ठहर छ । निर्माण र लघु तथा साना व्यवसायतर्फको ऋण उठाउन नसक्दा एनपीएल बढ्दै गएको उनी स्पष्ट पार्छन् ।
ऋण उठाउन नसके ठूलो असर गर्ने निष्कर्षमा बैंकर पुगेका छन् । यसको व्यवस्थापन र उठाउन छुट्टै निकाय बनाउन बैंकरले छलफल पनि थालेका छन् ।
एनपीएल बढ्दै गए बैंकले नाफाबाट ‘प्रोभिजनल फन्ड’मा राख्नुपर्ने हुन्छ । खराब कर्जा बढ्दै गए बैंकले बढी पैसा प्रोभिजन गर्नुपर्छ । त्यसैले खराब कर्जा कसरी उठाउने भनेर बैंकर चिन्तित छन् ।
राष्ट्र बैंकसँगको बैठकमा खराब कर्जा उठाउने छुट्टै निकाय गठन गर्ने विषयमा पटक–पटक छलफल भएको केसी बताउँछन् । “भोलिका दिनमा एनपीएल बढ्दै जाने देखियो भने छुट्टै किसिमको एनपीए मेनेजमेन्ट गर्ने कम्पनी ल्याएर पनि गर्न सकिन्छ । त्यसका लागि हामी कुरा गरिरहेका छौँ,” उनले भने, “राष्ट्र बैंकसँग हामीले पहिलेदेखि नै यो विषयमा छलफल गरिरहेका छौँ । यसका लागि खर्चदेखि धेरै कुरा जोडिने भएकाले राष्ट्रले पनि सूक्ष्म रूपमा हेरिरहेको छ ।”
जथाभावी प्रवाह हुन नदिन राष्ट्र बैंकले कर्जाको वर्गीकरण गरेको छ । सक्रिय र खराब कर्जा भनेर दुई भागमा वर्गीकरण गरिएको छ । सक्रिय कर्जामा पनि असल र सूक्ष्म निगरानी भनेर वर्गीकरण गरिएको छ । भाका ननाघेका र एक महिनासम्म भाका नाघेका, मुद्दती रसिदको धितोमा गएका, सरकारको सुरक्षणपत्र तथा राष्ट्र बैंक ऋणपत्रको धितोमा गएका कर्जा एवं सापट, पर्याप्त सुरक्षण लिई प्रतिग्राहक बढीमा १० लाख रुपैयाँसम्म प्रवाह भएको सुनचाँदी कर्जालाई राष्ट्र बैंकले असल कर्जाका रूपमा मान्यता दिएको छ ।
एकदेखि तीन महिनासम्म भाका नाघेका, एक महिनाभित्र नवीकरण नगरिएका वा अस्थायी रूपमा बढीमा ९० दिनसम्म भुक्तानी अवधि बढाइएका अल्पकालीन वा चालु पुँजी कर्जा, अरू कुनै पनि बैंक वा वित्तीय संस्थामा निष्क्रिय कर्जामा वर्गीकरण भएका ऋणीलाई प्रवाह गरिएको कर्जालाई सूक्ष्म निगरानीमा राखिन्छ ।
यस्तै, साँवा र ब्याज नियमित रूपमा भुक्तानी भएता पनि नेटवर्थ ऋणात्मक भएका वा लगातार तीन वर्षदेखि खुद नोक्सानीमा रहेका फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जालाई पनि सूक्ष्म निगरानीमा राखिन्छ ।
निष्क्रिय कर्जामा पनि कमसल, शंकास्पद र खराब भनेर वर्गीकरण गरिएको छ । एक वर्षभन्दा बढी अवधिले भाका नाघेका कर्जा एवं सापटीलाई खराबका रूपमा वर्गीकरण गरिएको छ । तीनदेखि ६ महिनासम्म भाका नाघेकालाई कमसल, ६ महिनादेखि एक वर्षसम्म भाका नाघेकालाई शंकास्पद कर्जामा वर्गीकरण गरिएको छ ।
ऋणी बेपत्ता भएमा वा ९० दिनसम्म सम्पर्कमा नआएमा र कर्जा दुरुपयोग गरिएकालाई खराब कर्जा भनिन्छ ।