site stats
बाह्रखरी :: Baahrakhari
देश
वन कार्यालयका तत्कालीन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले विभिन्न जातका ४०६ वटा रुख कटानमा ११ लाख ९६ हजार ६९५ रुपैयाँ अनियमितता गरेको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सव–डिभिजन वन कार्यालय बर्दिबासका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद, फरेष्टर सन्तोषकुमार साह, वनरक्षकहरू राज किशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलीप महतो छन् । 

नापी कार्यालय बर्दिवासका तत्कालीन अमिन राम दरश राउन, मालपोत कार्यालय बर्दिबासका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का, बर्दिबास नगरपालिका–१ का तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठ, बर्दिबास नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष चुडामणि पोखरेल, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, तत्कालीन सदस्यहरू उर्मिला थापामगर र पूर्णबहादुर सुस्लिङ्गविरुद्ध अख्तियारले मुद्दा दायरको छ । 

यस्तै, अख्तियारले मुद्दा दायर गरेका अन्यमा बर्दिबास नगरपालिका–१ का जग्गाधनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एमबहादुर थापामगर र नन्दमाया क्षेत्री र सुनकोसी गाउँपालिका–४ का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपाली छन् । 

बर्दिवास नगरपालिका–१ बस्ने स्थानीय केही व्यक्तिहरूको समूहले दर्तावाला जग्गाका रुखहरू भनी रम्तेलडाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठूला रुख विरुवा जथाभावी कटान गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्