site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आर्थिक संकटको कारण संरचनात्मक समस्या, गगन भन्छन्– नेपालमा केही हुँदैन, बस्न सकिँदैन भन्ने भाष्य फेरौँ 
SkywellSkywell

पोखरा । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपालमा जस्तो धेरै पूर्वप्रधानमन्त्री विश्वमा कहीँ पनि नरहेको बताएका छन् । ५/६ जना पूर्वप्रधानमन्त्री अहिले पनि सक्रिय राजनीतिमा रहेको भन्दै उनले युवा नेता पार्टीमा बलियो बन्न नसकेको उनको भनाइ छ । अझै पनि केही वर्ष पार्टीका युवा नेतृत्वमा पुग्ने र बलियो अवस्थामा नपुग्ने उनको भनाइ छ । 

“जतिजति नेताहरू उमेरले बुढो हुँदैछन्, त्यति नै पार्टीभित्र बलियो हुँदैछन्,” शनिबार बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको योङ लिडर्स विथ इन्टरप्रेनर्स कार्यक्रममा महामन्त्री थापा भन्छन्, “अबको १५/२० वर्षपछि म पनि पार्टीभित्र त्यही अवस्थामा पुग्छु किनभने म त्यतिबेलासम्म पार्टीभित्रका संस्थामा बलियो हुन्छु । कति साथीलाई टिकट दिन्छु, कतिलाई मन्त्री बनाउँछु । नेविसंघ र तरुणदलमा मेरो प्रत्यक्ष उपस्थिति हुन्छ ।” यो परिपाटीले पार्टीभन्दा पनि व्यक्ति बलियो हुने अवस्था रहेको उनी बताउँछन् । यो परिपाटी रहेसम्म देश बलियो नहुने उनको भनाइ छ । 

स्थापना कालमा कांग्रेस, नेकपा एमाले अहिलेको रास्वपाजस्तै सबै नेता ४० वर्ष मुनिका रहेको उनले स्मरण  गरे । “युवायुवाभन्दा पहिले हामीलाई छोयो, हामी पनि युवा नै थियौँ,” उनले अगाडि थपे, “राजनीतिक दलभित्र व्यक्तिको प्रवेशका सन्दर्भमा अनेकौँ प्रावधान राखेका छौँ । तर छोड्नेबारे राखेका छैनौँ ।” 

Dabur Nepal
NIC Asia

उनले व्यक्ति उमेरभन्दा पनि विचारले युवा हुने तर नेपालका राजनीतिक दलमा युवा विचार बोक्ने नेतृत्व छ कि छैन भन्ने प्रश्न रहेको उनको भनाइ छ ।  “युवाको कुरा गर्दा पहिले हामीलाई छोयो । हामी पनि युवा नै थियौँ,” महामन्त्री थापाले भने, “राजनीतिक दलभित्र व्यक्तिको प्रवेशका सन्दर्भमा अनेकौँ प्रावधान राखेका छौँ । तर छोड्नेबारे राखेका छैनौँ । यतिधेरै पूर्वप्रधानमन्त्री राजनीतिमा रहेको डेमोक्रेसी कहीँ छैन ।” 

कांग्रेस महामन्त्री थापाले राजनीतिक दलको सुधार नभए अरु सुधार नहुने भएकाले आफू संघर्ष गर्दै आएको बताए । 

“पार्टी सबैको सार्वजनिक संस्था हो । पार्टीले नेतृत्व कसरी छान्ने, केन्द्रीय सदस्य कति बनाउनेजस्ता सुधार गरौँ भनेर मैले मेरो पार्टीभित्र प्रस्ताव लगेको छु,” महामन्त्री थापाले भने, “नेपाली कांग्रेसले यसलाई स्वीकार गर्‍यो भने पार्टीमा सुधार हुन्छ ।” 

आफूले पार्टीमा दुई पटकभन्दा बढी सभापति नहुने प्रस्ताव लगेको भन्दै कांग्रेस महामन्त्री थापाले भने, “दलमा पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने नीति बनाएको भए केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, शेरबहादुर देउवा कोही पनि अहिले प्रधानमन्त्री बन्न दौडिने थिएनन् ।”

कांग्रेस महामन्त्री थापाले भने, “राजनीति खराब भएको कारण मात्रै ठीक छ भनेर भन्दिनँ । यो देशको राजनीतिक दलको नेतृत्व पहिले ठिक थियो, अहिले ठिक छैन भन्ने मुख्य कुरा के हो ?”

उनले सशस्त्र द्वन्द्व सकिएको, संविधान बनिसकेको र शान्ति स्थापना भइसकेको अवस्थामा अहिले समस्या के हो भनेर पहिचान गरेर अगाडि बढ्नु आवश्यकता भएको उनको भनाइ छ । 

देशमा सबै कुरा सकियो, यहाँ बस्न सकिँदैन भन्ने भास्य हटाउनुपर्ने उनको जोड छ । देशमा नै केही गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुपर्ने बताउँदै महामन्त्री थापा भन्छन्, “हामी नेपाल बस्नेहरू हाम्रो छनोट गलत थिएन भन्ने सावित गर्न चाहन्छौँ । त्यसको बाटो खोज्नु पर्छ ।”

रोजगारी सिर्जनाका सन्दर्भमा थापाले कृषि क्षेत्रले मात्रै आवश्यक रोजगारी सिर्जना गर्न नसक्ने टिप्पणी गरे । “कृषि उत्पादन बढाउनु पर्छ । अरबौँको आयात रोक्न पनि त्यो आवश्यक छ । तर यसले रोजगारी सिर्जना गर्न सक्दैन,” उनले भने । 

उनले नेपालमा औद्योगिक विकास हुन नसकेको बताए । नेपालमा उत्पादन क्षेत्रले वार्षिक एक लाख नयाँ रोजगारी कसरी सिर्जना हुन्छ भन्नेमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले सेवा क्षेत्रमा पनि रोजगारी सिर्जना गर्न सकिने बताए ।

निमार्णका क्षेत्रमा लगानी गरेको खण्डमा अझै दश/पन्ध्र वर्ष राम्रो रोजगारी सिर्जना गर्न सकिने उनको धारणा छ । करिब ६/७ लाख हाइ पेइङ जब नेपालमै रहेको तर त्यसमा विदेशीले काम गरिरहेको उनले जानकारी दिए । 

“यो डाटा मैले ठ्याक्कै भन्न सक्दिनँ । तर ६/७ लाख हाइपेइङ जब यहीँ छ । यद्यपि, यसमा नेपाली छैनन्,” उनले भने, “नेपालमा खुल्ने नयाँ फ्याक्ट्रीमा समेत विदेशी कामदार राखिने स्थिति बनेको छ ।” 

निमार्ण र उत्पादनका क्षेत्रमा नेपालका दश मजदुर बराबर एक विदेशी मजदुरले काम गर्ने गरेको भन्दै विदेशी कामदार राख्ने गरिएको थापाको भनाइ छ । “केही समय अगाडिसम्म क्यानडा जानेको लाइन थियो । अब त्यहाँ जागिर पाउँदैन त्यसैले मान्छे जान छोड्यो,” उनी भन्छन् । 

उनले रोजगारी सिर्जनाका सन्दर्भमा संसद्, सरकार, पार्टी र सार्वजनिक मञ्चमा छलफल र बहस नहुने तर विदेश जाने लहर छ भनेर मात्रै भन्ने गरिएको उनको टिप्पणी छ । 

“विदेशबाट यतिवटा शव आयो भन्छौँ । बाहिर जानेलाई सम्मान दिने गरेका छौँ । बाहिर किन जाने ? नेपालमा समयमै निमार्ण क्षेत्रमा काम सकिँदैन । यसको कारण कामदार नेपालमा नपाएर पनि हो,” उनले भने, “नेपाली कामदार कसरी नेपालमै राख्ने सोच्नुपर्छ ।”

टेक्सटाइल, काठ, निमार्ण, सेवा, आईटी, उत्पादन क्षेत्रमा बाह्य कामदार रहेको भन्दै त्यहाँ नेपाली नागरिकलाई नै कसरी राख्ने भन्नेबारे सोच्नु पर्नेमा उनको जोड छ । 

विदेशबाट आउने रेमिट पनि नघटेको र बैंकमा पनि पैसा रहेको अवस्थामा किन आर्थिक संकट भयो भन्दै उनी भन्छन्, “आर्थिक स्ट्रक्चरल समस्या रहेको छ । कसरी आर्थिक स्ट्रक्चर बदल्ने त्यसमा ध्यान दिनुपर्छ ।” वार्षिक दुईदेखि तीन लाख रोजगारी सिर्जना गर्न सकिने तर यसका लागि सरकार गम्भीर हुनुपर्नेमा उनको जोड छ । 

नेपालमा अर्थमन्त्रालयलालाई अनावश्यक रूपमा सुपर मन्त्रायलजस्तो बनाइएको महामन्त्री थापा बताउँछन् । वास्तवमा सबै कुराको जानकारी प्रधामन्त्रीलाई हुनुपर्नेमा उनको जोड छ । प्रधानमन्त्रीको काम भाषण गर्दै हिँड्ने र गठबन्धन बनाउने हो जस्तो भाष्य तयार गरिएको र यो नै गलत भएको उनको टिप्पणी छ ।  

उनले वर्तमान आर्थिक समस्या समाधान गर्न सार्वजनिक खर्च बढाउनुपर्ने धारणा राखे । सार्वजनिक खर्च बढाउँदा बजार चलायमान हुने उनको आंकलन छ । 

“सरकारसँग रहेको अनुत्पादक सम्पत्ति बेचेर सरकारले ल्याओस् । पैसा निमार्ण क्षेत्रमा लगाएर बजारमा पर्याप्त रोजगारी सिर्जना गर्न आवश्यक छ,” थापाले भने, “७० अर्बको चामलको बजार छ । त्यो उत्पादन गरिरहेका छैनौँ । त्यो एग्रिकल्चरको स्पेस लिन आवश्यक छ ।” आयात घटाउन नेपालले केही कुराको आयात रोक्नबारे पनि सोच्नु पर्नेमा उनको जोड छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu