हिजो मन्त्रीज्यूलाई साह्रै तनाव भएको थियो । कारण कसैले बुझ्न सकेनन् । सबै अड्कलबाजी लगाउनमा व्यस्त देखिन्थे । कसैले घरको तनाव भन्थे, कसैले बाहिरको ।
कसैले सही मन्त्रालय नपाएकामा तनावको अड्कल लगाउँदै थिए त कोही मन्त्रालय कम भएकाले तनाव भएको चर्चा गर्दै थिए । कोही मन्त्रीको तनाव नबुझ्दा आफैँ तनावमा थिए त कोही यतिविधि मान्छेलाई तनावमा पार्ने मन्त्री देखेरै तनावमा थिए ।
त्यो तनावैतनावको माहोलमा मन्त्राणीको तनाव बेग्लै ! आँखामुनि देखापरेको चाउरीका धर्काहरू उनको तनावको कारण थियो । ब्युटी पार्लर धाउँदाधाउँदा थाकिसकेकी मन्त्राणी दिनको कैयौँ घण्टा ऐनाअगाडि नै बिताउँथिन् ।
मन्त्राणी बनिसकेपछि अझ राम्रो देखिनुपर्ने चाहना पूरा हुनुको साटो अर्को दिशातिर लागिरहेको देख्दा उनको तनाव झनै बढ्न पुग्थ्यो । त्यो तनावको घाउमा नुन छर्किन अरू मन्त्राणीहरू आइपुग्थे, बेलाबेलामा । भन्थे, ‘अनुहारको चाउरी त जसरी भए पनि छोप्नैपर्छ ।’
यस्ता कुरा सुनेपछि मन्त्राणीलाई असह्य हुन्थ्यो । स्वाभाविक हो, त्यसपछि तनाव बढ्नु ।
मन्त्रीलाई आइपरेको तनावको कारण खोजबिन भइरहेको अवस्थामा मन्त्राणीको तनावले अकस्मात् प्राथमिकता पाएको थियो । मन्त्री आफ्नो तनाव बिर्सेर बुढीको तनाव उन्मूलनमा लागेका थिए । त्यसका लागि आवश्यक पाँच सदस्यीय ‘चाउरी उन्मूलन टोली’ नै गठन गर्नुपरेको थियो उनलाई !
टोलीको कार्यविभाजन भइसकेको थियो । कार्यविभाजनपछि मन्त्राणीको तनावमा केही मत्थर देखियो । तर, कार्यभार सम्हालेका पाँच विशेषज्ञको तनावले अचानक सगरमाथा शिखर छुन पुगेको थियो ।
कार्यभार यसप्रकार तोकिएको थियो–
टोली सदस्य १ : अनुहारमा चाउरी किन पर्छ, त्यसको कारण पत्ता लगाउने र स्थायी समाधान खोज्ने ।
सदस्य २ : स्थायी समाधान नआउन्जेल कुन पाउडर घस्दा चाउरी छोपिन्छ, त्यो पत्ता लगाउने र त्यसको खरिद गर्ने ।
सदस्य ३ : मन्त्राणीको अनुहार सुन्दर बनाउन हेतु जेसुकै खरिद गर्नुपरे पनि त्यसका लागि आवश्यक रकम सरकारी कोषबाटै निकासा गर्ने व्यवस्था मिलाउने ।
सदस्य ४ : मन्त्राणीको मेकअप गर्न निजी ब्युटीसियनको व्यवस्था गर्ने र विदेशमा तालिम दिलाउने ।
सदस्य ५ : सम्पूर्ण कार्यको रेखदेख गर्ने अनि प्रेस, मेडिया सम्हाल्ने ।
टोलीलाई आवश्यक निर्देशन दिएर मन्त्री आफ्ना आसेपासेकहाँ आइपुग्दा निकै प्रसन्न देखिन्थे । कार्यकर्तालगायत सँगै रहेकी पत्नीलाई चाउरी उन्मूलन टोलीले छिटै काम सुरु गर्ने वचन दिएपश्चात् मन्त्राणीको अनुहारमा पनि खुसी छाएको थियो ।
तनाव निवारणमा खटिएको मन्त्रीभक्त कहिले मन्त्राणीलाई हेर्थ्यो त कहिले आफ्नी बुढीलाई सम्झन्थ्यो । मन्त्राणीको अनुहारविपरीत उसकी बुढीको आँखामुनि मात्र नभएर निधार, गाला अनि घाँटी सबै चाउरी परिसकेका थिए । चार बच्चाकी आमा बनिसकेकी उनी लकडाउनमा फेरि भारी जिउ हुँदा निकै तनावमा परेकी थिइन् ।
बच्चा पाइसकेपछि मुजा परेको भुँडी र अनुहारको चाउरीले व्यंग्य गरेझैँ लाग्थ्यो उनलाई । अनि, आफ्नो मनको बह मन्त्रीभक्त बुढालाई सुनाउँदा उसको तनावको पारो चढ्थ्यो ।
आफैँ तनावमा परेको ऊ तनाव उन्मूलनमा खटिनुपर्दा पनि रमाएको थिएन । आफ्नो तनावलाई बिर्सेर मन्त्राणीको तनाव हटाउँदा घरमा चुलो बल्ने र खल्ती भरिने पक्का थियो । त्यसैले रमाइलो भए पनि नभए पनि आफ्नो भक्ति दर्शाइरहेको थियो, मन्त्री दम्पतीलाई ।
उसकै रेखदेखमा बनेको चाउरी उन्मूलन टोलीले काम थालिसकेको थियो । आवश्यक रकम सरकारी कोषबाट निकासा भइसकेको थियो । रकमको भागबन्डा लागिसकेको थियो । सबै निश्चिन्त थिए मन्त्राणीको आँखामुनिको चाउरी हट्ने विषयमा ।
उता, मन्त्रीजी टोलीलाई सम्बोधन गरेर आसेपासेकहाँ आइपुग्दा उनको तनावले आफ्नो ठाउँ पक्डिसकेको थियो । श्रीमतीको तनावलाई विश्राम लगाउने क्रममा उनकै तनाव दोब्बर भएको चर्चा थियो, आसेपासेबीच । कोही मन्त्री जोईटिङ्ग्रे भएकाले तनाव बढेको खासखुस गर्दै थिए ।
टोली गठन गरेर पत्नीको तनावमा विराम लगाउने जमर्को गरेका मन्त्री आफ्नो तनावलाई कसरी व्यवस्थित गर्ने भन्ने उल्झनमा थिए । लामो माथापच्चीपछि मन्त्रीजीले आसेपासे सभामा आफ्नो तनावको कारणको खुलासा गरे ।
कारण १ : गठबन्धनको सरकार बन्दा वाचाअनुसारको मन्त्रालय नपाएको ।
कारण २ : कम्तीमा पनि दुइटा मन्त्रालयको कार्यभारको सम्झौता भएको तर एउटाबाहेक नपाएको ।
कारण ३ : मन्त्री बन्नलाई रकमको बिटो दिनु नपर्ने कुरा थियो, तर पछि नदिई कुर्सी नपाइएको ।
कारण ४ : चुनावअघि वाचा गरेका कुरा पूरा गर भन्दै जनताबाट दबाब आउन थालेको ।
कारण ५ : मन्त्री बनेलगत्तै झोलेहरूदेखि ससुरालीकासम्मले जागिर लगाइदेऊ भन्दै बुलन्द नारा घन्काएको ।
कारण ६ : सञ्चारका सबै माध्यमबाट आफ्नै मात्र खोइरो खन्ने काम भएको ।
कारण ७ : ‘मेरो बाउ त मन्त्री’ भन्दै छोरोले दशतिर उटपट्याङ काम गर्दै हिँडेको । उसैका कारण पुलिस अधिकारीहरूलाई हरेक दिन टीका लगाएर दक्षिणा दिनुपरेको !
कारण ८ : विपक्षी दलका नेतासँग दिनभरि रिसाएको अभिनय गर्दै रात परेपछि सँगै रक्सी पिउँदा पत्रकारले देख्लान् कि भनेर सधँै डराउनुपरेको ।
कारण ९ : बाहिरियाको बारेमा घरकीले थाहा पाउली कि भनेर डराइरहनुपरेको ।
कारण १० : उन्मूलन टोलीले पत्नीको तनावमुक्त गर्न लागे पनि आफ्नो तनावबाट छुटकारा दिलाउन कुनै पनि किसिमको टोली गठन हुन नसकेको ।
मन्त्रीका आसेपासेहरूले तनावको कारण थाहा पाएपछि स्वयम् तनावमा अल्झिएको महसुस गर्न थाले । कोही तनाव अझै बढ्न सक्ने भयले सभा त्यागेर घरतिर लम्किए ।
केहीले ‘तनाव मुक्ति मोर्चा’ गठन गर्नुपर्ने आवाज उठाए । लामो बहस र वादविवादपछि ‘मन्त्री तनाव मुक्ति मोर्चा’ गठन भयो, जसको एउटा मात्र उद्देश्य थियो, मन्त्रीलाई जसरी भए पनि तनावरहित बनाउने ।
यस मोर्चाले मन्त्रीलाई तनाव मुक्ति दिलाउन प्रश्नोत्तर कार्यक्रमको आयोजना गर्यो । सवालजवाफ यस्तो थियो–
मोर्चा : मन्त्री महोदय, आफ्नो मन्त्रालयदेखि नै तनावग्रस्त हुनुहुन्छ, कुन मन्त्रालय पाएको भए तनाव हुन्थेन त ?
मन्त्री : खोजेको त प्रधानमन्त्री नै हो, त्यो नमिल्ने भए अर्थ र गृह दिने सम्झौता भएको थियो । तर, दिएनन् । अन्तर्घात गरियो ममाथि ! जाबो ‘फोहोरमैला’ मन्त्रालय भिडाए ।
मोर्चा : मन्त्रालय पाउन चढाउनुपर्ने दक्षिणा दिनु भएन रे नि !
मन्त्री : त्यो कुरा पहिले भएकै थिएन, तर पछि माग्न थालियो । यस्तो फोहोरमैलामन्त्री भएर बस्दा कति पीडा हुन्छ, तपाईंलाई के थाहा !
मोर्चा : मतदाताबाट पनि तनाव छ रे त हजुरलाई ?
मन्त्री : मैले पनि मन्त्रालयानुसारको काम नै गर्ने हो । सबैलाई एकेकवटा कुचो लगेर दिएको छु, अब घरआँगन कुचो लगाउन त सिक्नुपर्यो नि आफैँले । अर्को कुरो, फोहोरमैला मन्त्रालयको मन्त्री भएकाले सबैलाई फोहोर टिप्न आऊ भनेको हुँ, आउनै कोही मान्दैनन् । के गर्नु मैले !
मोर्चा : अनि, पत्रकारले किन लखेटेका त तपाईंलाई ?
मन्त्री : सडकदेखि सदनसम्म फोहोर जम्मा भयो रे, सफा गर भन्छन् । कसरी गर्ने भनेर जुक्ति लगाउँदा झन् तनाव !
मोर्चा : तपाईंको छोराको बारेमा पनि गाइँगुइँ सुनिन्छ, कतै तनावको कारण छोरा त होइन ?
मन्त्री : आफू फोहोरमैलामन्त्री, बाउले सफा गरिहाल्छ भन्दै छोरो मोरो जता गयो त्यतै फोहोर पार्छ, हैरान भइसकेँ म त ।
मोर्चा : विपक्षी दलका बारेमा केही भन्नु छ कि ?
मन्त्री : विपक्षीले बनाउने फोहोर र हाम्रो दलले बनाउने फोहोर उस्तैउस्तै हो । लुकीलुकी फोहोर बनायो अनि त्यसैलाई सफा गरेको जस्तो गर्यो, यही त हो फोहोरमैलामन्त्रीको काम । भो, अरू टिप्पणी नगरूँ ।
मोर्चा : बाहिर पनि राख्नुभएको छ रे, मन्त्राणीले थाहा पाउनुभए बित्यास पर्दैन ?
मन्त्री : यस्तो गलतफहमीमा लागेर मेरो तनाव बढाउने काम नगर्नुस् न तपाईंहरू नै ।
मोर्चा : त्यसो भए तनाव कसरी हटाउने तपाईंको ?
मन्त्री : जे गर्नु छ, तपाईंहरू नै गर्नुस् ।
मन्त्रीसँगको संवादले निष्कर्ष ननिस्किएपछि मोर्चा १० बुँदे माग राखी देशव्यापी हड्तालको आयोजनामा लागेको छ । मोर्चा विश्वस्त छ, यो हड्तालले मन्त्रीको तनाव निवारण हुनेछ !