काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले विवादास्पद व्यक्तिलाई गृहमन्त्री नियुक्त गरिएको भन्दै यसप्रति प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पाण्डेले अनुसन्धानको दायरामा भएका व्यक्ति गृहमन्त्री भएको भन्दै यसले सरकारप्रति गम्भीर नैतिक प्रश्न उठेको बताए । उनले सहकारी पीडितहरू आन्दोलनमा उत्रिएको भन्दै आरोपित व्यक्ति नै गृहमन्त्री हुँदा अनुसन्धानमा प्रभावित हुने जिकिर गरे ।
गृहमन्त्री रवि लामिछानेले लगानी गर्न नमिल्ने संस्थामा सहकारीको लगानी गरिएको, नमिल्ने शिर्षकमा कर्जा दिएको र सदस्य नभएको व्यक्तिले सहकारीबाट ऋण लिएको सघन आरोपमा घेरिएका भन्दै यस्तो प्रकृतिका अन्य दोषीलाई कसरी कारबाही गर्नुहुन्छ भनि उनले प्रश्न समेत गरे ।