site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डसँग सिटौलाको भेट, भने– गिरिजाप्रसाद र मलाई दिएको धोका यत्तिमै टुंगिँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ‘धोकेबाज’ भनेका छन् ।

सिटौला कांग्रेस महामन्त्री गगन थापा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई साथमा लिएर आइतबार बिहान ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए । उनले प्रचण्डले यसअघि ‘राष्ट्रियसभा अध्यक्ष बन्दिनुस्’ भनेको र अन्त्यमा धोका दिएको भेटमा बताए ।

सिटौलाले प्रचण्डलाई आफूले देशको प्रधानमन्त्रीलाई नभएर माओवादी केन्द्रको अध्यक्षको हैसियतमा भनेको पनि बताएका थिए । “म तपाईंलाई चुनाव लड्दासम्मको गठबन्धनको नेकपा (माओवादी केन्द्र)को अध्यक्षको हैसियतमा भेट्न आएको हुँ । तपाईंले गिरिजाप्रसादलाई त्यस बेला दिएको धोकासँगै मलाई अहिले पार्टीगतसँगै व्यक्तिगत रूपमा दिएको धोका सम्झाउन आएको हुँ,” सिटौलाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले बाह्रखरीसित भने, “तपाईं त्यस बेला गिरिजाबाबुलाई दिएको धोकाका कारण पश्चात्ताप गरेको नाटक गरिरहनुभएको थियो । तर, त्यो पश्चात्ताप होइन, नाटक रहेछ ।”

सिटौलाले आफू राष्ट्रियसभाका निम्ति आकांक्षी नै नभएका बेला अध्यक्ष बन्न आग्रह गरेर निर्वाचनमा होमिन भनिएको भन्दै पार्टीसँगै व्यक्तिगत रूपमा विश्वासघात गरिएको बताएका थिए ।

त्यसक्रममा प्रचण्डलाई सिटौलाले फागुन १७ मा भएको भेटमा २० गते भेट्ने भनेर छुटेको उल्लेख गरे । त्यसपछि भेट नै नभएकाले पनि भेट्न आएको उनले बताएका थिए । “त्यस बेलाको भेटमा तपाईंले गठबन्धनमा समस्या भएको विषय समेत राख्नुभएको थिएन, छलफल समेत नगरी एकाएक बाहिरिनुभयो,” सिटौलाले भेटमा भने ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले ‘बाहिर त चर्चा सुरु भइसकेको थियो’ भनेको ती नेताले जानकारी दिए । सिटौलाले ‘तपाईंको विश्वास गर्ने कि बाहिरका चर्चाको ?’ भन्दै प्रश्न गरको थिए ।

प्रधानमन्त्री प्रचण्डले गिरिजाप्रसादलाई पनि धोका भएको भेटमा स्वीकार गरेका थिए । राजनीतिक घटनाक्रमको उपजका रूपमा सिटौलामाथिको धोकालाई उनले अर्थ्याउने प्रयास गरेका थिए ।

सिटौलाले भने प्रचण्डको पहिचान नै धोका र विश्वासघात बनेको बताएका थिए । यसको राजनीतिक मूल्यले प्रचण्डले चुुकाउनुपर्ने उनले चेतावनी दिए ।

“तपाईंले गरेको विश्वासघात र धोकाको शृंखला यतिमै टुंगियो भन्ने नठान्नु होला,” सिटौलाको भनाइ उद्धृत गर्दै ती नेताले भने, “तपाईंसँग आज म राष्ट्रियसभा अध्यक्षको आकांक्षी होइन, नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेताको हैसियतमा भेट्दै छु ।”

प्रचण्डसँग विश्वासको सम्बन्ध र राजनीतिक सहकार्य कसैले राख्न नसक्ने अवस्था बनेको सन्देश सिटौलाले उनलाई दिएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro