काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले संसद्मा प्रस्तुत आउँदो आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकताका विषयमा नयाँ सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्ने भएको छ ।
सरकारमा सहभागी अरू दलहरूसँग छलफल गरेर मात्र आउँदो आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे संसद्मा छलफल अघि बढाउने शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकबाट निर्णय गरिएको हो ।
नेपाली कांग्रेस नेतृत्वको यसअघिको गठबन्धन सरकारका तर्फबाट यही फागुन १४ गते बसेको प्रतिनिधिसभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता पेस गरिएको थियो । त्यसमाथि संसद्मा छलफल गर्नुअघि सत्तासाझेदार दलहरूसँग सल्लाह गरेर अघि बढ्ने निर्णय गरिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
यस्तै, माओवादी केन्द्रका सांसदलाई ‘ह्वीप’ जारी गरिएको छ । न्युज एजेन्सी नेपाल